अक्टोबर क्रान्तिकाे १०० वर्ष : यस्ताे छ शतवार्षिकीकाे अपिल

October Revolution
लाेकपाटी न्यूज

काठमाडौं । अक्टोबर क्रान्ति भन्नाले रुसका जनताले पेट्रोगाड (पछिको लेनिनग्राड) सहरमा सशस्त्र क्रान्तिमार्फत त्यहाँको प्रतिक्रियावादी राज्यसत्तालाई च्यूत गरी सत्ता दखल गरेको कम्युनिष्ट क्रान्तिलाई बुझिन्छ । त्यतिबेला चलेको क्यालेण्डरअनुसार ई. १९१७ को अक्टोबर २५ मा सम्पन्न यो कम्युनिष्ट क्रान्तिको मिति यतिबेलाको पात्रोअनुसार नोवेम्बर ७ मा पर्दछ ।

अक्टोबर क्रान्ति रुसका जनताले कम्युनिष्टहरुको बोल्सेविक पार्टीको अगुवाइमा गरेका थिए । यो क्रान्तिले संसारमा सर्वप्रथम सर्वहारा वर्गको पूर्ण राज्यसत्ता स्थापना गरेको थियो । कम्युनिष्टलगायतका क्रान्तिकारीहरुले ई. १८७१ मा विद्रोहमार्फत केही समयको लागि फ्रान्सको पेरिस सहरमा कम्युन पनि नबनाएका होइनन् तर अक्टोबर क्रान्ति स्तरको कम्युनिष्ट क्रान्ति भने संसारमा कतै भएको थिएन ।

रुसको सामन्ती जारशाही उत्पीडनमा आधारित राज्यसत्तालाई चकनाचुर पार्दै शोषित पीडित एवं गरीखाने वर्गले कम्युनिष्ट क्रान्ति सम्पन्न गरेको सय वर्ष पुगेको छ । यस युगान्तकारी कदमको शतवार्षिकीको अवसरमा यतिखेर संसारभरिका कम्युनिष्ट मात्रै होइन, शासन, शोषण र उत्पीडनबाट मुक्ति चाहने सबै न्यायप्रेमी जनताहरुले अक्टोबर क्रान्तिको उपलब्धि, त्यसले मानव जीवन र सभ्यतामा पारेको प्रभाव, त्यसको महत्व र त्यसमा देखापरेका चुनौतिबारे गम्भीर विमर्शसहित विभिन्न कार्यक्रममा व्यस्त छन् ।

अक्टोबर क्रान्तिले ठगी खाने वर्गको वर्चश्व रहेको मानवद्वेषी समाज र उनीहरुको सत्ता चलेको संसारको राजनीति, आर्थिक वातावरण, सामाजिक परिस्थिति, पर्यावरण, सांस्कृतिक धरातल तथा सामरिक परिदृश्यमा नयाँ आयाम छ । यसले ठगिखाने वर्गको स्वर्गमा भूकम्प गएको, कम्युनिष्ट क्रान्तिको आतंक मच्चिएको छ । अक्टोबर क्रान्ति शताब्दी वर्षको स्मरणमा हामी नेपाली पनि कार्यक्रमको चाँजोपाँजो मिलाउने प्रयासमा छौं ।

अक्टोबर क्रान्ति संसारको युगान्तकारी क्रान्ति हो, कम्युनिष्ट क्रान्ति हो । यस युगीन क्रान्तिको विरासतमा उत्तराधिकार भने कम्युनिष्टहरुको मात्र छैन । विगतको सय वर्षमा संसार र सभ्यताको दशा र दिशा निर्देश गर्ने सबैभन्दा महत्वपूर्ण स्थान ओगटेको यस क्रान्तिको दावानलले समाजको सम्पूर्ण वर्ग, संसारका सम्पूर्ण भूगोल, प्रत्येक कुनाको अर्थतन्त्रलाई प्रभावित पारेको छ । त्यति मात्रै होइन, यसले मानव सभ्यताले यस कालखण्डमा विकास गरेको कुनै पनि प्रविधि, सामाजिक सम्बन्ध यसरी प्रभावित पारेको छ कि शब्दमा वर्णन गर्नै नसकिने अवस्था छ । यस क्रान्तिको क्रममा निस्केका तोपका गोलाबारुदका छिर्का संसारभरि पुगेका छन् । र, तिनले प्रत्येकको मनमस्तिष्कलाई छोएका छन् । यसकै प्रभावस्वरुप आजपनि मानवद्वेषी समाज नचाहिकनै, अवचेतनमै भए पनि आफूलाई परिवर्तित गर्न बाध्य भएको छ ।

रुसका जनताले असाध्यै विषम परिस्थितिमा यस युगान्तकारी क्रान्ति सम्पन्न गरेका हुन् । यस युगान्तकारी क्षणमा रुसमा क्रियाशील सम्पूर्ण सोभियतहरु, सोभियतमा आबद्ध एवं आमकिसान र मजदुर, साम्राज्यवादी युद्धबाट आजित रुसी सैनिकहरुको सक्रिय सहभागिता थियो । असाध्यै अविकसित भूदासहरुको मुलुकमा, चेतनाको कमीले पिछडिएका जनताहरुको देशमा, प्रथम विश्वयुद्धमा पराजित तथा छिमेकी मुलुकहरुसँगको युद्धले जर्जर भएको मुलुकमा, तत्कालीन साम्राज्यवादी शक्ति, सेना र पुँजीवादी युद्धपोतको नाकाबन्दीको बीच उनीहरुको कठपुतली सरकारविरुद्ध कम्युनिष्टहरुको नेतृत्वमा रुसका महान् जनताले यो क्रान्ति सम्पन्न गरेका हुन् । अदम्य क्रान्तिकारी साहस, दूरदृष्टि र आफ्नो वर्तमान र भविष्य आफैंले बदल्ने संकल्पसहितको जुझारुपना र शौर्य प्रदर्शन गरी यस युगान्तकारी क्रान्ति सम्पन्न गरियो । यसले मानव जातिको दशा र दिशालाई पूर्ण रुपमा परिवर्तित गरी मानव सभ्यतालाई, सामरिक सन्तुलनलाई, र सम्पूर्ण मानवजातिलाई आजको अवस्थामा पुर्याएको हो । मानवजातिले अक्टोबर क्रान्तिको युगान्तकारी उपलब्धिको निम्ती रुसी कम्युनिष्टहरुको ऋण कहिल्यै तिर्न सक्दैन । सय वर्षको अवधिमा मानवसभ्यतामा देखापरेको फड्को यसको प्रमाणको रुपमा उपस्थित छ ।

अक्टोबर क्रान्तिको बाटो कम्युनिष्ट क्रान्तिकारीहरुको बाटो हो । परम्परागत राज्यसत्ताको दमनकारी चरित्रको अन्त्य कम्युनिष्टहरुको उद्देश्य हो । वर्गविहीन समाजको स्थापनामार्फत राज्यसत्ताको समुल नष्ट कम्युनिष्टहरुको लक्ष्य हो । मान्छेले मान्छेलाई शोषण गर्ने परिपाटीको अन्त्यपछि सबैले आफ्नो क्षमताअनुरुप अर्थतन्त्र र मानव समाजको विकासमा योगदान गर्नु अनि सबैले आफ्नो आवश्यकताअनुरुप सामाजिक उत्पादनको उपभोग गर्नु कम्युनिष्टहरुको अभिष्ट हो । उत्पीडनकारी राज्यसत्तालाई माध्यम बनाउँदै, वर्ग, संस्कृति, जाति, नस्ल, लिङ्ग, रङ्ग र वर्णको आधारमा मानिसमानिसबीचको कृत्रिम भेद खडा गरी द्वन्द्व सृजना गरी संसार विभाजित गर्ने परम्परागत सोचको विरुद्ध अन्तर्राष्ट्रिय वर्गीय बन्धुत्व हुँदै क्रमशः अन्तर्राष्ट्रिय मानवीय बन्धुत्वमार्फत विभाजित सीमाहरु र सोचलाई समूल नष्ट पार्नु कम्युनिष्ट क्रान्तिको गन्तव्य हो ।

साम्राज्यवाद तथा मानवद्वेषी विचारका संवाहकहरुले पश्चिमा संसारमा विकसित ५०० वर्षको पुँजीवादको अनुभवको आधारमा संसारलाई स्थायी रुपमा विभाजन गरी मानिस(मानिसबीच पर्खाल निर्माण गर्ने प्रयास गरेका थिए । तर त्यसलाई चकनाचुर पार्दै रुसी कम्युनिष्टहरुले संसारको लागि रोटी र शान्ति, जनताको लागि रोजगार, साम्राज्यवादीको लागि युद्ध र कम्युनिष्टका लागि क्रान्तिको नारा बुलन्द गरे । त्यसैको फलस्वरुप रुसी जनता युद्ध होइन क्रान्ति, जनताविरुद्ध होइन शोषणविरुद्ध हतियार भन्दै कम्युनिष्ट क्रान्तिलाई युगान्तकारी विजयको रुपमा हेर्न समर्पित भएका थिए ।

आजको संसार यसै युगान्तकारी कम्युनिष्ट क्रान्तिको उपज हो । लैङ्गिक भेदभावबाट मुक्ति, श्रमिक अधिकार, बौद्धिक सम्पत्ति (ज्ञान, सूचना, सेवा), संस्कृतिको श्रीवृद्धि, अर्थतन्त्र र प्रविधिमा देखापरेको अद्भुत विकास तथा अन्याय, अत्याचार र असमानताप्रतिको संगठित विद्रोहको चेत पनि यही क्रान्तिको उपज हो । अक्टोबर क्रान्तिले नै मान्छेलाई उसको प्रतिभा, गरिमा, अस्मिता र मर्यादाका लागि आजसम्म उद्देलित गरिरहेको छ । आज संसारभर नै मार्क्सवाद तथा द्वन्द्वात्मक भौतिकवादी राजनीतिक दर्शनका लागि वाहकहरुको वर्चश्व पनि यही युगान्तकारी क्रान्तिको परिणाम हो । वर्गीय समाज स्थापनापछि र अक्टोबर क्रान्तिपछिको समयलाई यतिबेला संसारले दाँज्दैछ र अक्टोबर क्रान्तिको महत्वलाई जान्दैछ ।

महान् अक्टोबर क्रान्ति जिन्दावाद !

अक्टोबर क्रान्ति शतवार्षिकी समारोह नागरिक समूह !!