‘१८ महिनामा नयाँ सिंहदरबार बन्छ, ठेक्का पप्पुले नै पाउँछ’ : मानन्धर

rajuman manandhar-1
लाेकपाटी न्यूज

काठमाडौं, १८ कात्तिक । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव राजुमान मानन्धरले अबको १८ महिनाभित्र सिंहदरबारको प्रवलीकरणको काम सम्पन्न हुने बताएका छन् ।

आइतबार रिपोर्टर्स क्लबमा उनले भने, ‘सिंहदरबार अब भत्काउनु पर्दैन । प्रवलीकरण गर्ने हो । हामी टेण्डर गरेर प्रवलीकरणको काम अघि बढाउँछौं । ढिलोमा १८ महिनामा काम सम्पन्न हुन्छ । हामीले १५ महिनामा सक्छौं भनेर अनुमान गरेका छौं । साह्रै ढिलो भयो भने पनि १८ महिनामा सम्पन्न गर्छौं ।’

उनले प्राधिकरणले पुनर्निर्माणको काममा ढिलाई नगरेको स्पष्ट पारे । मानन्धरले थपे, ‘रानीपोखरीको पुनर्निर्माण पनि अब छिट्टै सुरु हुन्छ । पहिले खुरुखुरु काम गर्न दिइएन् । विवादै विवाद सुल्झाउँदा केही समय लागेको हो । अब काम सुरु हुन्छ ।’

काष्ठमण्डपको पनि पुनर्निर्माण पनि चाँडै सुरु हुने उनले जनाए । मानन्धरले भने, ‘स्थानीय जनताको सहकार्यमा हामी छिट्टै घोषणा गर्छौं । अब ढिलाई हुँदैन् ।’ उनका अनुसार प्राधिकरणले अहिलेसम्म ५ हजार स्कुल बनाइसकेको छ ।

प्राधिकरण गठन गर्नमै १० महिना समय लागेको र यो बीचमा सिइओहरु परिवर्तन भइरहेकाले काम नभए पनि प्राधिकरण सुस्त नरहेको उनको दाबी छ । उनले २३० सरकारी भवनमध्ये अहिलेसम्म १६ वटा भवनको पुनर्निर्माण सम्पन्न भइसकेको बताए ।

पुनर्निर्माणका लागि समय र लगानी दुवै आवश्यक हुने बताउँदै मानन्धरले भने, ‘हामीलाई ९ खर्ब आवश्यक थियो । त्यसमध्ये प्राधिकरणले ३ खर्ब ५१ अर्ब प्राप्त गरिसकेको छ । यो वर्षलाई १ खर्ब ५१ अर्ब राखेका छौं ।’ २०४५ सालको भुकम्पपछि २ वर्षमा पुनर्निर्माण सम्पन्न गर्ने भनेर योजना बनाएपनि ७ वर्ष लागेको सुनाउँदै अहिले पनि केही समय लाग्ने उनको भनाई थियो ।

सार्वजनिक खरिद ऐन नियमावलीअनुसार प्राविधिक र आर्थिक प्रस्तावमा छनौट भएको पप्पुको फाइल प्राधिकरणले प्रधानमन्त्री केपी शर्मा ओलीकहाँ पठाएको उनले जनाए । यो विषय क्याबिनेटमा जान पनि सक्ने वा नजान पनि सक्ने दुवै सम्भावना रहेको उनले सुनाए ।

उनले भने, ‘मौजुदा नियमानुसार ठेक्का पप्पुले नै पाउने हो । मिडिया चुप लागेर बसेको भए नियम र ऐनअनुसार पप्पुले नै पाउने हो । तर, मिडियाले यत्रो विषय उठान गरिसकेको छ । अब त हामी पनि ज्यादै दोधारमा छौं । ऐनले त बकैता रुपमा पप्पुलाई दे भन्छ । तर, कहिलेकाही ऐन र नियमअनुसार मात्रै निर्णय हुँदैन । परिस्थिति र आवश्यकताअनुसार निर्णय हुन्छ । हामी अब दोधारमा छौं । हाम्रो मन्त्रालय भनेको नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय हो । हाम्रो मन्त्री भनेकै प्रधानमन्त्रीज्यू हो ।’

कार्यक्रममा नेपाल इन्जिनियर्स एशोसिएसनका कार्यकारी सदस्य ई. होमनाथ पोखरेलले राष्ट्रिय पूर्ननिर्माण प्राधिकरण गठन भएको आज ३ वर्ष पूरा भएर ४ वर्ष लागेको बताउँदै अहिले पनि निर्माणका कामहरु सुस्त गतिमा भएको गुनासो पोखे ।

सरकारलाई विकास निर्माणको काममा आफ्नो संगठनको तर्फबाट सुझाव तथा नीतिहरु दिइरहेको पनि उनले जनाए । उनले भने, ‘४५ हजार इन्जिनियरहरुको छाता संगठन हो । हामीले सरकारलाई हाम्रो नीतिहरु दिइरहेका छौं । तर, सरकारले हाम्रो कुरा सुनेको छैन ।’