‘काममा ढिलासुस्ती गर्नेमाथि आयोगले निगरानी बढाएको छ’ : प्रमुख आयुक्त घिमिरे

Nabeenkumar Ghimire
लाेकपाटी न्यूज

भीमदत्तनगर, १९ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचार न्यूनीकरणको विषय अख्तियारसँगै सरकार, नागरिक समाजलगायत राज्य संयन्त्रको साझा एजेण्डा बन्नुपर्ने धारणा राखेका छन् ।

कञ्चनपुरको भीमदत्तनगरस्थित आयोगको सुदूरपश्चिम प्रदेशस्तरीय कार्यालयको नवनिर्मित भवनको सोमबार उदघाट्न गर्दै प्रमुख आयुक्त घिमिरेले भ्रष्टाचार न्यूनीकरण सबैको साझा एजेण्डा बने मात्रै उल्लेखनीय काम गर्न सकिने बताए । मुलुकमा सङ्घीय, प्रदेश र स्थानीय गरी सबै सरकार स्थापित भइसकेको अवस्थामा मूलुकमा सुशासन स्थापना अबको मूल विषय हुनुपर्नेमा जोड दिए । उनले भने, ‘सुशासन स्थापनाका लागि चुनौती पनि छन्, आयोग त्यसका निम्ती प्रतिवद्ध भएर अगाडि बढेको छ ।’

विकास निर्माणको काममा बेथिति रहेको बताउँदै प्रमुख आयुक्त घिमिरेले विकास निर्माणको काममा ढिलासुस्ती गर्नेमाथि आयोगले निगरानी बढाएको जानकारी दिए ।

घिमिरेले भन्नुभयो, ‘हामीले मन्त्रालयबाट पनि ठेक्काको विवरण मागेका छौं, ८÷१० वटा निर्माण कम्पनीमाथि अनुसन्धान अघि बढेको छ ।’ स्थानीय तहमा भ्रष्टाचार बढेको उजुरी आयोगमा धेरै आइरहेको बताउँदै उनले आयोगले सातवटै प्रदेशमा आयोगका सरोकारका विषय र स्थानीय तहको गतिविधि सुक्ष्म रुपमा हेरिरहेको सन्देश दिइएको जानकारी दिए ।

उनले भने, ‘‘स्थानीयतहको वडाध्यक्षस्तरसम्म अभिमुखीकरण कार्यक्रम लैजान आयोग र सरकार लागिरहेको छ, अर्थ मन्त्रालय त्यसका लागि आवश्यक स्रोत जुटाउन सकारात्मक देखिएको छ ।’