पर्यटन विकासको आशा जगाउँदै प्याराग्लाइडिङ विश्वकप

Paraglyding
लाेकपाटी न्यूज

स्वरेक स्याङजा, १९ कात्तिक । गण्डकी प्रदेशस्थित स्याङ्जा जिल्लाको पर्यटकीयस्थल स्वरेकमा प्याराग्लाइडिङको विश्वकप सञ्चालनले यहाँका स्थानीयवासीमा आशा जगाएको छ ।

वरपरका रमणीय हिमाली एवं पहाडी दृश्यको एकसाथ अवलोकन गर्न सकिने थुम्कै थुम्कायुक्त स्वरेकले यहाँ पुग्ने जो कोहीको मन लोभ्याउने गरेको छ । प्याराग्लाइडिङको विश्वकप सञ्चालन हुँदै गर्दा यतिखेर विभिन्न २१ देशका खेलाडी, प्रशिक्षक एवं निर्णयक टोली स्वरेकमा पुगेका छन् ।

नेपालमा नै पहिलो पटक भएको विश्वकप प्रतियोगिता अन्तर्गतको प्याराग्लाइडिङले यहाँका स्थानीयवासीमा ठूलो आशा जगाएको नमूना स्वरेक सहयोगी समाज स्याङ्जाका अध्यक्ष घनश्याम पाण्डेले बताए ।

‘स्वरेक आफैंमा धेरै सम्भावना बोकेको ठाउँ हो,’ उनले भने, ‘नेपालमा पहिलोपटक भएको विश्वकप प्रतियोगिता अन्तर्गतको प्याराग्लाइडिङले यतिखेर यस ठाउँले अन्तर्राष्ट्रिय रुपमा चासो पाएको छ ।’ विश्वकप सञ्चालनसँगै आगामी दिनमा यहाँको विकासमा राज्यको ध्यान पुग्ने उनले विश्वास व्यक्त गरे ।

स्वरेकमा प्याराग्लाइडिङको पढाइ हुने बाबु एडभेन्चर स्कुल सञ्चालनमा आइसकेको छ । समुद्री सतहबाट एक हजार ६०० मिटर उचाइको पर्यटकलाई लोभ्याउने झण्डै १० वटा रमणीय थुम्कायुक्त स्वरेक सिद्धार्थ राजमार्गको बयरघारीबाट सुन्दरबजार, स्वरेक भञ्ज्याङ, पाण्डे गाउँ, गुरुङसेनी डाँडा, गौंडा हुँदै लगभग नौ किलोमिटर दुरी पार गर्दै पुग्न सकिन्छ ।

यहाँबाट माछापुच्छे, धौलागिरि , अन्नपूर्ण लगायतका हिमशृङ्खला एक साथ अवलोकन गर्नका लागि पनि पर्यटक लोभिने गरेको स्वरेक कालिका टोल विकास संस्थाका सचिव शोभाकान्त पाण्डेले जानकारी दिए । उनका अनुसार रातको समयमा यहाँबाट पाल्पा बजार, स्याङ्जाकै सिरुवारी लगायतका स्थानको अवलोकन गर्न सकिन्छ । सुन्तलासहित मकै कोदो, भटमास, पिँडालु जस्ता कृषिजन्य उत्पादन यस क्षेत्रमा राम्रो हुने गरेको छ । बढ्दै गएको पर्यटकीय आकर्षणले यहाँका उत्पादन यही क्षेत्रमा खपत हुने आशा जगाएको छ ।

‘प्याराग्लाइडिङको विश्वकप सञ्चालनसँगै स्वरेक स्याङजाको मात्र नभई अन्तर्राष्ट्रियस्तरकै गन्तव्यमा सूचीकृत बनिसकेको छ,’ टोल विकास संस्थाका सचिव पाण्डेले भने, ‘आगामी दिनमा हुने पर्यटकको आगमनलाई दृष्टिगत गरी सरकारले यस क्षेत्रमा आवश्यक पूर्वाधार विकासका साथै घरबास कार्यक्रमलगायतमा सहयोग गर्नु आवश्यक छ ।’