मेयर विद्यासुन्दरको दाबी : ‘५ वर्षमा गर्ने काम मैले डेढ वर्षमा गरिसकें’

Bidhyasundar Shakya
लाेकपाटी न्यूज

काठमाडौं, १९ कात्तिक । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफू मेयरमा निर्वाचित भएर काम सुरु गरेको यो डेढ वर्षको अवधिमा धेरै काम सम्पन्न गरिसकेको स्पष्ट पारेका छन् । उनले भने,‘म मेयर भएको अहिले १७ महिना पूरा भएर १८ महिना लाग्यो । यो अवधिमा हामीले धेरै कुराहरु सिकेका छौं । हिजोभन्दा आज धेरै कामहरु भएका छन् । यथार्थ धरातलमा रहेर समीक्षा गर्नुपर्छ ।’

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मेयर शाक्यले सडकको पूर्ननिर्माण भइसकेको पनि जनाए । उनले भने, ‘यो आर्थिक वर्षलाई हामीले पूर्वाधार वर्ष घोषणा गरेर अघि बढेका छौं । महानगरले जिम्मा पाएको सहायक सडकहरु बनाउने काम लगभग पूरा भएको छ । सडक बनाउने कामको लागि अब ५ वर्ष पर्खिनुपर्दैन ।’ उनले आफू आएपछि ६० प्रतिशत काम सम्पन्न भइसकेको दाबी गरे ।

उनले पूर्ननिर्माणसम्बन्धी कामहरुमा सम्पदा पूर्ननिर्माणको २÷४ वटा कामहरु बाँकी रहेको सुनाए । उनले भने, ‘धरहराको काम सुरु भइसकेको छ । दरबार हाईस्कुल पूर्ननिर्माण सुरु भइसक्यो । रानीपोखरी र काष्ठमण्डप मन्दिरको पनि काम सुरु हुन्छ । काठमाडौं महानगरको भवन निर्माणको पनि काम छिट्टै सुरु हुन्छ । विवादको कारण काम सुरु हुन नसकेको हो ।’

मेलम्ची खानेपानी परियोजनाको काम र सडक विस्तारको कामले गर्दा काम गर्न केही अप्ठ्यारो भएको उनले गुनासो सुनाए । उनले भने, ‘जोरपाटीमा फोहोर थुप्रियो भने पनि काठमाडौंको मेयरलाई गाली गरिन्छ, सितापाइलाको सडक हिलाम्य भयो भने पनि काठमाडौंको मेयरलाई गाली गरिन्छ, सानेपाका सडक धुलाम्य भयो भनेपनि काठमाडौंको मेयरलाई गाली गरिन्छ, त्यहाँ नगरपालिकाहरु छन् नि । सडक विस्तारको कामले काठमाडौं धुलोमैलो भएको छ । हामीले काठमाडौंलाई धुलोमुक्त बनाउँछौं भनेका थियौं। मेलम्चीले आफ्नो काम तत्काल सम्पन्न नगर्दा त्यसको प्रत्यक्ष असर काठमाडौं महानगरलाई परिरहेको छ ।’

उनले काठमाडौंका सम्पदा पूर्ननिर्माणमा महानगरले कुनै कसर बाँकी नराखेको पनि सुनाए । उनले भने, ‘काष्ठमण्डप, धरहरा र रानीपोखरीको निर्माण काम छिटो सुरु हुन्छ । यी सम्पदाहरु छिटो बनिदियोस भनेर आवाज उठिरहेको छ ।’ प्रदेश र संघीय सरकारले गर्नुपर्ने कामपनि काठमाडौं महानगरले गरिरहेको बताउँदै उनले यसको लागि सरकारले आफूहरुलाई धन्यवाद दिनुपर्ने धारणा राखे । उनले भने, ‘फोहोर मैलाको सवालमा अर्को वर्षासम्म काठमाडौं हिलो नहुनेगरि हामीले काम गरिरहेका छौं । सुरुका केही दिन र केही समय धेरै अन्यौल भयो ।’

काठमाडौंका विभिन्न सडकहरुमा फोहोर थुप्रिँदा यसबारेमा काठमाडौंको मेयर र महानगरपालिकालाई भन्नु स्वभाविक भएको उल्लेख गर्दै उनले भने, ‘जो सँग आश छ, जसलाई विश्वास गरिन्छ, उसैले भन्ने हो । तर, काठमाडौं महानगरपालिकाले आफ्नो मात्रै होइन, प्रदेश र संघीय सरकारको पनि काम गरिरहेको छ । उहाँहरुले गर्नुपर्ने दायित्व पूरा गरिरहेका छौं । अहिले सिसडोलमा काठमाडौं महानगरपालिकाको मात्रै होइन, काठमाडौं जिल्लाको १८ वटा नगरपालिकाहरुको फोहोर जान्छ । काठमाडौं महानगरले फोहोरको व्यवस्थापन गर्न छोडिदिने हो भने सिंगो काठमाडौं उपत्यका दुर्गन्धित हुने उनको भनाइ छ ।

उनले थपे, ‘उपत्यकामात्रै होइन, काभ्रे, नुवाकोट र धादिङ पनि दुर्गन्धित हुन्छ । हामी त्यसको भएको हेर्न चाहँदैनौं । हामी गाली खाएरपनि आफ्नो दायित्व पूरा गर्न चाहन्छौं । लामो समयपछि हामीले उपत्यका नगरपालिका फोरम गठन गरेका छौं । अब उपत्यकाको फोहोर व्यवस्थापन, सडक व्यवस्थापन र उपत्यकाका साझा नदिहरुको व्यवस्थापनलाई एकीकृत रुपमा अगाडि बढाउनुपर्छ भनेर हामीले फोरम बनाइसकेका छौं ।’

उनले मोनो रेल चलाउनेबारे सम्भाव्यता अध्ययन पूरा भइसकेको र अहिले प्राविधिक अध्ययनको काम जारी रहेको बताए । उनले भने, ‘नेपालमा मोनो रेल विज्ञ कोही छैनन् । हामीले बुट मोडलमा बनाउने तयारी गरेका छौं ।’