एमाले-माओवादी मिले पनि कांग्रेसभन्दा कमजोर छन् : शशांक कोइराला

sashanka koirala
लाेकपाटी न्यूज

चितवन, १९ कात्तिक । नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले आउँदो निर्वाचनमा काङ्ग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन् ।

नेपाल प्रेस युनियन चितवनले सोमबार चितवनमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोह कार्यक्रममा उनले जनताको रक्षा गर्न उभिने पार्टी भएकाले अबको निर्वाचनमा काङ्ग्रेस ठूलो दल बन्ने दाबी गरे ।

उनले काङ्ग्रेसको महासमिति बैठक सर्ने पनि बताए । महामन्त्री कोइरालाले महासमिति बैठकका विषयमा केन्द्रीय कार्यसमितिमा छलफल नभएका कारण मिति सर्ने बताए । महासमिति बैठक एक हप्तादेखि १० दिनसम्म पछि सर्न सक्ने उनले बताए । महाधिवेशनमा कसलाई सभापति बनाउने भन्ने विषयमा साथीहरुसँगको रायअनुसार अघि बढ्ने महामन्त्री कोइरालाले बताए ।

काङ्ग्रेस अहिले पनि शक्तिशाली पार्टी रहेको बताउँदै उनले भने, “नेकपा एमाले र माओवादी मिल्दा पनि काङ्ग्रेस एकबद्ध भएको खण्डमा काङ्ग्रेसलाई जित्न सक्दैनन् ।” कम्युनिष्ट पार्टी लोकतन्त्रमा विश्वास नराख्ने पार्टी भएको भन्दै उनले थपे, “अहिले आएको परिवर्तनका कारण उनीहरुमा परिवर्तन देखिएको हो । तर, उनीहरु लोकतन्त्रवादी होइनन् ।”

फरक प्रसंगमा बोल्दै उनले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको जग्गामा सिटि हल बन्न नदिने बताए । अस्पतालको गुरु योजनाअनुसार प्रतिष्ठान बनाउनुपर्ने भन्दै उनले पहिले नै जग्गा अपुग भएका कारण गैंडाकोटमा आवास गृह बनाइएको स्मरण गरे ।

उनले भने, “यस विषयमा म पुष्पकमल दाहालज्यूसँग छलफल गर्छु । यहाँ बनाउन उपयुक्त हँुदैन ।”