यी हुन् कुकुरले पत्ता लगाएका १२ जटिल अपराध

dog
लाेकपाटी न्यूज

पछिललो समय बिश्वभर कुकुरको माध्यमबाट अपराधीसम्म पुग्ने बिधिलाई अनुसन्धानमा राम्रैसँग प्रयोग भएको पाइएको छ । हरेक मानिसमा हुने गन्धलाई तालिमप्राप्त कुकुरले सजिलै पत्ता लगाउने गरेको कारण अपराध अअनुसन्धानमा कुकुर मानिस भन्दा प्रभावकार बन्दै गएको नेपाल प्रहरीको भनाई छ ।

कुकुरकै माध्यमबाट निकै जटिल प्रकारको अनुसन्धानमा समेत सफलता मिलेको थुप्रै घटनाहरु छन । हेर्नोस कुकुरले सुल्झाएको ठुला अपराधका घटना ।

१. २०४० सालमा दोलखा सदरमुकाम चरिकोटमा एकै परिवारका चारजनाको बिभत्स हत्या भयो। हत्या कसले र किन गरायो भन्ने खुल्न सकेन। प्रहरीले डग स्कुल काठमाडौंबाट अनुसन्धानमा खटायो ‘नानी’ नामको कुकुरलाई।

हत्यामा प्रयोग गरिएको खुकुरी बाँसको झाँङमा फालेको ‘नानी’ले पत्ता लगायो। त्यही खुकुरीको बिँड सुँघेर ‘नानी’ले हत्यारा पत्ता लगाएको थियो। हत्या गर्ने व्यक्ति थिइन्, शोभा श्रेष्ठ। उनले घरायसी विवादमा आफ्नै काका, काकीसहित चार जनाको हत्या गरेकी थिइन्। हत्यापछि नुहाएर कोठामा सुतिरहेका बेला ‘नानी’कै सहयोगमा प्रहरीले उनलाई पक्राउ गरेको थियो।

२. बाराका पत्रकार वीरेन्द्र साह २०६४ कात्तिक १८ गते अज्ञात समूहद्वारा अपहरणमा परे। पत्रकार साह अपहरणमा परेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बलले उनको खोजी गरे। एक महिनासम्म खोजी गर्दा पनि साहको अवस्थामा पत्ता लागेन। एक महिनापछि साहको खोजी गर्न प्रहरीको केन्द्रीय डग तालिम केन्द्रबाट ‘ब्ल्याकी’ नामको कुुकर पठाइएको थियो। ब्ल्याकीले दुई दिनपछि कात्तिक २२ मा बाराको भैवानाकाको जंगलमा पत्रकार साहको शव गाडिएको स्थान पत्ता लगायो।

३. २०७४ जेठ ९ गते ललितपुरको गोदावरी नगरपालिका–११, बस्ने ४० वर्षका दीपक दमाईको हत्या भयो। उनको शव छम्पी र चापागाउँबीचको खोल्सामा फालिएको थियो। अनुसन्धान गर्न जर्मन सेफर्ड जातको ‘लिजा’ कुकुर परिचालन गरियो। घटनास्थलमा प्राप्त भएको निलो रंगको सर्ट लिजालाई सुँघाइयो। लिजाकै इसाराअनुसार प्रहरीले सिन्धुपाल्चोक घर भई चापागाउँ खटिएका म्यादी प्रहरी कुमार पाख्रिनलाई पक्राउ गरेको थियो। पक्राउ परेका पाख्रिन आफैले हत्या गरेको स्वीकार गरे।

४. २०५३ साल फागुन १८ गते बुढानीलकण्ठमा ६० वर्षीया वृद्धाको हत्यारा पनि कुकुरले नै पत्ता लगाएको थियो। देवरका छोरा र ज्वाइँले वृद्धाको घाँटी थिचेर हत्या गरेको कुरा कुकुरकै सहयोगमा प्रहरीले पत्ता लगाई पक्राउ गरेको थियो।

५ . ३५ वर्षका देवराज न्यौपानेको २०६२ वैशाख २६ गते सुनसरीको धरान नगरपालिकास्थित पञ्चकन्या मन्दिरमा रहस्यमय तरिकाले हत्या भएको थियो। उनको गर्धनमा खुकुरी प्रहार गरी हत्या भएको थियो। अनुसन्धानमा खटिएको ‘आकाश’ नामको कुकुरले शर्मिला लिम्बूलाई संकेत गरेपछि डग ह्याण्डलरले उनलाई हत्कडी लगाए। पछि हत्यारा शर्मिला नै भएको पुष्टि भयो।

६. काठमाडौं मातातीर्थका विशाल तामाङ घरमा सुतिरहेका थिए। प्रहरीको ‘रोनी’ नामको कुकुरले सुतिरहेका विशालको देबे्र हातमा टोक्यो। हत्यामा संलग्न भन्दै प्रहरीले तामाङलाई पक्राउ गर्यो। सानुकाजीको हत्या भएको ठाउँमा प्रमाणको रूपमा हँसिया फेला परेको थियो। प्रहरीले हँसियाको बिँड रोनीलाई सुँघाए। बिँडमा विशालको गन्ध पाएपछि कुकुरले उनलाई टोकेको थियो। अनुसन्धानबाट मातातीर्थकै ६० वर्षे सानुकाजी तामाङको हत्यारा विशाल नै भएको पुष्टि भयो। यो २०७० पुस २३ गतेको घटना थियो।

७. २०७१ साल असोज १४ गते राति लमजुङको पिप्ले–४, भोटे ओडारमा अर्जुनप्रसाद रेग्मीसहित तीन जनाको हत्या भयो। पश्चिम क्षेत्रीय प्रहरी कार्यालय, पोखराबाट घटनाको अनुसन्धान गर्न ‘ज्वाला’ नामको कुकुर पठाइयो। घटनास्थलमा प्राप्त भएको हँसिया ज्वालाले सुँघेर हत्यारा अर्जुनका छोरा राममणि भएको पत्ता लगाएको थियो।

८. बर्दियाको साविकको ठाकुरद्वारा गाविस–४ सुस्ताका ६८ वर्षीय जोरा सिंह थापाको ५ फागुन २०७२ मा हत्या भयो। घटनाको अनुसन्धान गर्न बाँकेबाट जर्मन सेफर्ड जातको ‘भुन्टी’ कुुकुर परिचालन गरियो। घटनास्थलमा भेटिएका कपडाको गन्ध भुन्टीले सुँघ्यो। भुन्टीले घटनास्थलबाट १५ सय मिटर अगाडि खोलाको बाटो हुँदै अपराधी भागेको संकेत गर्यो। भुन्टीकै संकेतअनुसार खोजी गर्दा ठाकुरद्वारा–४ का २३ वर्षे अजित बुढा पक्राउ परे। पछि उनी दोषी ठहर भए। बुढाले पनि भुन्टीले संकेत गरे अनुसार नै आफू भागेको स्वीकार गरेका थिए।

९ . नेपाल प्रहरीले कुकुरको सहायताले अन्य धेरै कामहरू गरेको छ। ठमेल र बसपार्क क्षेत्रबाट कुकुरकै सहायताले प्रहरीले ठूलो मात्रामा लागू औषध बरामद गरेको छ। प्रहरीको कुकुरले २०६९ मंसिर २७ गते लागू औषधका मुख्य नाइके भारतीय नागरिक पुतन खानसहित दुई जनालाई पक्रन सफल भएको थियो।

१०. रसुवाको ब्राप्चेको पहिरोमा २०७० माघ १० गते सिभिल इन्जिनियर चेरव घिमिरे पुरिएर बेपत्ता भएका थिए। ‘रेस्क्यु’ र ‘खुस्बु’ नामक दुई कुकुरको सहयोगमा घिमिरेको शव फेला पारेको थियो। भूकम्प गएका बेला मानिस पुरिएको आशंका भएका काठमाडौंका धेरै ठाउँमा कुकुर प्रयोग गरी उद्धारको काम गरिएको थियो।

११. यी बाहेक भिभिआइपी, भिआइपी सुरक्षाका लागि नेपालमा प्रहरीका कुकुर खटिँदै आएका छन्। भिआइपीहरूको आवतजावत हुने ठाउँमा कुकरले विस्फोटक पदार्थ छ कि छैन भनेर पहिचान गर्ने गरेको डग स्कुलले जनाएको छ। २०७० सालमा पूर्व–अमेरिकी राष्ट्रपति जिम्मी कार्टर नेपाल आउँदा, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गरेका बेला ‘लियो’, ‘मारियो’ र ‘एक्सी’ कुकुरलाई विस्फोटक पदार्थको खोजी गर्न लगाइएको थियो।

१२. २०७१ साल मंसिर १८ गते ‘जुलेट’ नामक कुकुरले चितवनको भरतपुर-५ स्थित सिमलको रूखमुनि लुकाएको अवस्थामा एउटा कटुवा पेस्तोल, एसएलआरको गोली एक थान र गन पाउडर फेला पारेको थियो।