डोरमणि पौडेल ‘सिआइएको एजेन्ट’ हुन् : केशव स्थापित (भीडियो)

Keshav Sthapit (4)
लाेकपाटी न्यूज

काठमाडौं, २० कात्तिक । प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार तथा विकास मन्त्रीबाट बर्खास्तमा परेका केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलको सिआइएसँग साँठगाँठ रहेको आरोप लगाएका छन् ।

रिपोर्टर्स क्लबमा उनले भने, ‘ललितपुरको भैसेंपाटीमा उनको सयन कक्ष छ । उहाँको त्यो कार्यालय द एशिया फाउण्डेशनको फण्डिङमा फर्निसिङ गरिएको छ । त्यही भैंसेपाटीको घरमा उहाँले रसगुल्ला र रसपान गर्नुहुन्छ भन्छन् । तर, त्यो रसगुल्ला र रसपान के हो ? मलाई थाहा छैन् । त्यो अफिसको सबै स्टाफ र फर्निचरको फण्डिङ द एशिया फाउण्डेशनले गरेको छ।’

स्थापितले प्रदेश नम्बर ३ को अवधारणापत्र बनाउनको लागि पनि मुख्यमन्त्री पौडेलले ‘द एशिया फाउण्डेशन’ को आर्थिक सहयोग लिएको आरोप लगाए । उनले भने,‘यत्रो पैसा लिनुभन्दा पहिले केन्द्र सरकारको अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयबाट स्विकृति लिनुपर्दैन ? यो विषय मन्त्रालयमा छलफल भएको छैन् । मुख्यमन्त्रीले अहिले प्रदेश नम्बर ३ को योजना आयोगको शाखा कार्यालय त्यही भैंसेपाटीको घरलाई बनाएका छन् ।’ यो विषयलाई आफूहरुले अब संसद खुल्नेबित्तिकै जोडदारसँग राख्ने पनि उनले जानकारी दिए ।

स्थापितले मुख्यमन्त्रीले आफूलाई विभिन्न पार्टी डुलेर आएको कारणले कारबाही गरेको भनेको प्रसँग कोट्याए । उनले थपे, ‘स्वयम् अहिलेको प्रधानमन्त्रीले मलाई मेरो खुट्टा भाँच्चिएको दिनमा डाकेर केशब तिम्रो र मेरो आन्द्रा गाँसिएको छ । तिम्रो मनको सपनाको एक प्रतिशत पनि दियौं भने यो मुलुक बन्छ भनेर म गएको हुँ । यो पूरानो इस्यु हो । यसको कुनै सान्दर्भिकता छैन ।’

मुख्यमन्त्री पौडेलविरुद्ध खनिएका उनले भने, ‘सफलता र असफलताको कुरा उठाउने ? उहाँ हेटौंडाको १० वर्ष मेयर भएको मान्छे होइन, त्यहाँ सहिद पार्कबाहेक अरु के छ ? कि त त्यहाँ ठींग्ग उभिने रुख छ । अशोकको बृक्ष । त्यो पनि साईनबोर्ड टाँस्नलाई राखेको जस्तो छ ।’

आफूले मुख्यमन्त्री पौडेललाई इमानका साथ बोकेको पनि उनले स्पष्ट पारे । उनले भने, ‘हाम्रोमा पार्टीभित्र गुट छ । मैले पनि मुख्यमन्त्रीमा दाबी गरेको हो । सभामुखमा पनि दाबी गरेको हो । अहिलेको डोरमणिको दाबी थिएन् । बरु अष्टलक्ष्मीको दाबी थियो । उहाँकहाँ गएर मलाई पूर्वाधार मन्त्री बनाउनु भनेर पौडेल हिँडेको हो । उहाँको हैसियत नै त्यही हो । त्यसपछि पार्टीभित्र चलखेल भएपछि भोटिङमा २४ र ३४ भयो । हामी सबै उपत्याकाले बोकेको र भोट हालेको कारण हेटौंडाको एउटा कुनामा बसेको मान्छे मुख्यमन्त्री भयो । तर, आज दम्भ देखाउने ? अहिले भर्खरै एउटा पत्रिकामा व्यंग्य आएको थियो । श्रीपेचको चोरी भनेर । यदि त्यो श्रीपेच चोरी भयो भने मेरो मुख्यमन्त्रीलाई लाईदिए भयो । अरे बाबा सर्वेसर्वा हुन्छ त ? संसद छैन । संविधानले व्यवस्था गरेको कुरालाई नाघेर हिँड्न पाइन्छ ?’

उनले मुख्यमन्त्री पौडेलले सिआइको पैसा लिएर जिल्ला–जिल्ला र क्षेत्र–क्षेत्रमा गएर कार्यक्रम सञ्चालन गरेको पनि गम्भिर आरोप लगाए । उनले भने, ‘सिआईएको पैसामा कार्यक्रम सञ्चालन मात्रै होइन, यहाँको सबै सूचना लिएर अनि सिआइलाई समर्पण गर्ने मान्छे नेकपाको सदस्य हुन सक्छ र ?’

उनले भने, ‘हिजो काग तिहार हो । अरुबेला लखेट्ने कागको तिहार छ । आज चाहीँ जहिल्यै पनि लात हान्ने कुकुरको दिन आइरहेको छ । हिजो अस्ती छेउ पर्न दिँदैन थियौं । तर, आज उनीहरुको त दिन आएका छन् । मुख्यमन्त्री त मान्छे नै हुन् । म त दयावान मान्छे हुँ । करुणाले भरिएको मन छ । सबै कुरा अहिल्यै नै छापिएपछि उनको निन्द्रा हराम होला । तिहारजस्तै लाग्दैन क्या । जीवजन्तुले त केही पाइरहेको बेला, उहाँ अजीव मान्छे हो । अहिले तिहार मनाउन दिनुपर्छ । फेरि टेन्शन हुन्छ ।’

उनले आफूले जीवनमा कहिल्यै पनि कसैको दुव्र्यवहार नसहेको र नगरेको पनि स्पष्ट पारे । उनले भने, ‘मुख्यमन्त्रीले मसँग बोल्दा टेबुल ठट्टाएपछि मैले पनि ठट्टाएको हुँ । मैले अनियमितता गरें भनेर आरोप लगाउनुभएको छ । ती आरोपहरु प्रमाणित हुनुपर्छ । उहाँले राजधानी सार्ने कुरामा पनि गलत अभिव्यक्ति दिनुभएको छ । प्रदेशको अधिकारविरुद्ध बोल्नुभएको छ । प्रदेश सभाको विषयलाई निजी विषय बनाउन मिल्छ ?’