पिपिएलको समापनमा प्रचण्डको सम्बोधन (सुन्नुहोस् भीडियो)

prachanda-2
लाेकपाटी न्यूज

पोखरा, २० कात्तिक । पोखरा प्रिमियर लिग (पीपीएल) को उपाधि घरेलु टोली पोखरा पल्टनले जितेको छ । पोखराले चितवनलाई तीन विकेटले पराजित गर्दै उपाधि घरमै राखेको हो ।

मंगलबार पोखरा रंगशालामा भएको फाइनलमा पारस खड्का कप्तानीमा रहेको चितवनले राइनोजले शरद भेषवाकरको पोखरा पल्टनलाई १६१ रनको लक्ष्य दिएको थियो । चितवनले दिएको मध्यम लक्ष्य पोखराले १९ ओभर २ बलमा ७ विकेट गुमाएर भेट्टायो ।

उपाधि हात पारेको पोखराले नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो रकमको पुरस्कार २७ लाख प्राप्त गरेको छ । त्यस्तै उपविजेतामा चित्त बुझाएको चितवनले १० लाख प्राप्त गरेको छ ।

ब्याटिङतर्फ पोखराका लागि रबि इन्दर सिंहले सानदार पारी खेले । उनले ५८ बलमा १३ चौका र ३ छक्का प्रहार गर्दै ९० बनाए । त्यस्तै कप्तान शरद भेषवाकरले २२ रनको योगदान दिए । मोहमद नाभिदले २५ रन बनाउँदा आसिफ शेखले १२ रन जोडे ।

बलिङतर्फ चितवनका लागि भुवन कार्कीले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६० रनको योगफल तयार पारेको थियो ।

चितवनका लागि कप्तान पारस खड्काले अर्धशतक हिर्काए । उनले ३७ बलमा ९ चौकासहित ५१ रनको योगदान गरे । अनिल शाह ३७ रन बनाउँदै पेभेलियन फर्केका थिए ।

बलिङतर्फपोखराका लागि कृष्ण कार्कीले २ विकेट लिए भने मोहमद नाभिद र ललित नारायण राजवंशीले समान एक-एक विकेट लिए ।

प्रतियोगिताको समापन समारोहलाई पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष प्रचण्डले सम्बोधन गरेका छन् । सम्बोधनमा प्रचण्डले क्रिकेटको विकासका लागि आफूले सक्दो सहयोग गर्ने बताए ।

सुनौं प्रचण्डको समापन मन्तव्य।