केकी अधिकारी भन्छिन् : ‘‘मलाई ‘क’ नै फाप्छ’’

keki-adhikari
लाेकपाटी न्यूज

काठमाडौं । अभिनेत्रीको रुपमा आफूलाई स्थापित गरिसकेकी केकी अधिकारीले यस वर्ष फिल्म ‘कोहलपुर एक्सप्रेस’ निर्माण गरिन् । फिल्ममा उनी स्वयंको प्रमूख भूमिका थियो । साथमा थिए प्रियंका कार्की, ऋचा शर्मा, बुद्धि तामाङ, विनोद न्यौपाने पनि ।

फिल्मले घरेलु बजारमा सुखद व्यापार गरेको थियो । करोडको केक काटेपछि फिल्म विदेशमा पनि राम्रो विक्यो । अब केकी फेरि दोस्रोपटक आफ्नो ब्यानरबाट नयाँ फिल्म निर्माण गर्दैछिन् । ‘क’ फाप्ने बताउने उनी अब ‘कन्याकुमारी’ नाममा फिल्म बनाउँदैछिन् ।

हाल फिल्मको कथा लेखनको काम भइरहेको छ । फिल्ममा पाँच जना नायिका हुने केकीले जानकारी दिइन् । प्रियंका र ऋचालाई दोर्होयाउने इच्छा भएपनि फाइनल भने नभएको उनले बताइन् । ‘कोहलपुर एक्सप्रेस’ बाट निर्देशनमा डेब्यु गरेका विशाल भण्डारीले नै उक्त फिल्म निर्देशन गर्ने फाइनल भएको छ ।

फागुनबाट छायाङ्कन सुरु हुने फिल्म महिला केन्द्रित हुने बताइएको छ । ‘कमेडीसँगै फिल्मले समाजिक विषयवस्तुलाई उठान गर्नेछ’ उनले भनिन् । ‘क’ नामको पहिलो फिल्म औसत चलेको थियो । अब केकीलाई फेरि ‘क’ नाम कति फाप्ला ? प्रतिक्षा गर्नैपर्ने हुन्छ ।

उनी भने ‘क’ नामबाट दोस्रो फिल्म बनाउन लाग्नु संयोग मात्र रहेको बताउँछिन् । उक्त फिल्मलाई केकी स्वयमले निर्देशन गर्ने सिनेवृतमा चर्चा थियो । यस विषयमा उनी भन्छिन्, ‘यो प्रोजेक्ट गर्दिनँ । चाँडै अध्ययनका लागि बाहिर जाँदैछु । त्यसपछि निर्देशनमा होमिने सोच छ ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्