‘नेपालको समृद्धिको शुरुवात भइसक्यो’ : नेता नेपाल

madhav kumar nepal
लाेकपाटी न्यूज

भक्तपुर, २१ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सुखी नेपाली र समृद्धि नेपालको अभियान सफल हुने बताएका छन् ।

सूर्यविनायक नगरपालिका–५ स्थित सूर्यनगर टोल विकास समाजले आयोजना गरेको दीपावली, नेपाल संवत् ११३९ तथा छठको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै उनले नेपालको समृद्धिको शुरुआत भइसकेको बताएका हुन् ।

नेता नेपालले शङ्करापुर नगरपालिका, कोटेश्वर, कागेश्वरी मनोहरालगायत काठमाडौं उपत्यकाका सबै सडक आगामी दुई वर्षभत्रमा कालोपत्र हुने र उकालोमा ढलान हुने बताए ।

विगतमा निर्माण व्यवसायीको ढिलाइले निर्माण कार्यले गति लिन नसके पनि अब त्यो ढिलाइ नदोहरिने उनको भनाइ थियो । देशमा सबै जातजाति, भाषाभाषी, धर्म, सम्प्रदाय सबैलाई न्याय गर्दै सामाजिक न्यायसहितको लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेको बताउँदै उनले नेकपाको दुई तिहाइको सरकार निर्माण भएकाले देशको विकास र समृद्धि नरोकिने चर्चा गरे ।