कविता : महाकविका नाउँमा

Manoj Bhandari
लाेकपाटी न्यूज

-मनोज भण्डारी

लक्ष्मीका दिन जन्मियौ, कवि बन्यौ, लक्ष्मी पराया बनिन् ।
आमा किन्तु सरस्वती बनिरहिन्, आएर छाया बनिन् ।
सारा विश्व नियाल्न खोज्छ, तर गै अड्क्यो तिमीमै मन ।
नौनीझैँ कविता दिएर कसले जादू सिकायो ? भन

आजैमात्र शहाँजहाँ कलम ली बेसी झरेका थिए ।
चौतारी म पुगेँ, मुनामदनले माया गरेका थिए ।
बाँची नित्य अभावमा र दुखमा बिर्सेर आफ्नो व्यथा ।
को लेख्ला अब आँसुका कलमले चम्पाहरूको कथा ।

कैले दाडिमका बसेर रुखमा गुञ्ज्छे उता कुञ्जिनी ।
कोही मस्त सुलोचना-नयन नै प्यूँछन् उता तन्तनी ।
यात्री पागलको अबोध मुखडा हेरेर भ्याउन्नँ म ।
ए प्यारा कवि ! दाल भात डुकु नै खाई अघाउन्नँ म ।

गौरीशंकरका अगम्य चुचुरा !! हामी यता वामन ।
यो सानो चिचिला छ सुन्दर हुने, चाहन्छ यो फक्रन ।
ए साहित्य बगानका मखमली ! फैलेर जाऊ पर ।
ए प्यारा रवि ! अन्धकार छ, यता आऊ उज्यालो छर ।

ए आलोकित सूर्य ! पग्लिन पुग्यौं हामी त्यही रापमा ।
फैली बाफ बन्यौँ, र बादल बनी आयौँ तिमी-पासमा ।
छन् तिम्रा पदचाप यी शहरमा आलै, पछ्याई रहूँ ।
भै क्वैली ! रसिला मिठा म कविता गाऊँ सुनाई रहूँ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्