‘देउवाका कारण कांग्रेस दुर्घटनामा पर्दैछ’ : सुजाता कोइराला

Sujata Koirala
लाेकपाटी न्यूज

काठमाडौं, कात्तिक २१ । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सभापति शेरबहादुर देउवाले पार्टीलाई मिलाएर अघि बढाउन नसकेको आरोप लगाएकी छन् ।

कोइराला निवास मण्डिखाटारमा सञ्चारकर्मीको देउसी भैलो कार्यक्रममा नेतृ कोइरालाले सभापति देउवाका गतिविधिका कारण पार्टी दुर्घटनामा पर्न सक्ने चेतावनी दिइन् ।

उनले पार्टीको उपसभापतिमा विजयकुमार गच्छदारलाई मनोनयन गर्नुअघि सभापति देउवाले यस विषयमा छलफलसमेत नगरेको आरोप लगाइन् । ‘सभापतिज्यूले उपसभापति मनोनित गर्नुभयो । तर, हामीसँग सल्लाह लिनुभएन,’ उनले भनिन्, ‘सल्लाह लिएको भए राम्रो हुनेथियो ।’

नेतृ कोइरालाले सभापति देउवाले एकलौटी ढंगले पार्टी सञ्चालन गर्न खोजेको आरोप लगाउँदै राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई टेकेर अघि बढ्दामात्र कांग्रेसको गुमेको छवि फेरि माथि उठ्ने बताइन् ।

उनले पार्टीलाई विधि, प्रक्रिया र अनुशासनमा चलाउन पनि नेतृत्वलाई सुझाव दिइन् ।