घरघरमा खानेपानी, स्थानीयमा खुशियाली

tab dhara
लाेकपाटी न्यूज

पाल्पा, २२ कात्तिक । बिहान उज्यालो हुन नपाउँदै डोकोमा गाग्री बोकी घण्टौँ समय लगाएर खानेपानी खोजेर जीविका चलाएका सिलुवा माथिल्लोथरका स्थानीयवासी अहिले घरघरमा खानेपानी सुविधा पुगेपछि दङ्ग छन् ।

वर्षौंदेखि खानेपानीको निकै कष्ट भोग्न बाध्य यहाँका स्थानीयवासीलाई बिहान उठेपछि अरु कामकाजभन्दा खानेपानीको जोहो गर्ने कुरामा निकै पिरलो पर्ने गथ्र्यो ।

पूर्वखोला गाउँपालिका–१ सिलुवाको माथिल्लोथरका स्थानीयवासीले लिफ्टिङ प्रणालीबाट सहज रुपमा खानेपानीको उपभोग गर्न पाएका हुन् । घरघरमा जडान गरिएका धारामा पानी आएको देख्दा यहाँका स्थानीयवासी आफैँ दङ्ग परेका छन् ।
खानेपानीका लागि निकै समस्या झेल्दै आएका स्थानीयवासीको अथक प्रयास र मेहेनतपछि घर घरमा पानी आउन थालेको हो । खानेपानी तथा सरसफाइ कार्यालय पाल्पाको आर्थिक तथा प्राविधिक सहयोगमा जाम्दी कोटथर लिफ्टिङ खानेपानी आयोजनामार्फत गाउँका सबै घरघरमा खानेपानीको सुविधा पुगेको छ ।

बिहान झिसमिसे उज्यालोमै गाग्री बोकेर पानी खोज्न निकै दौडधुप गर्नुपथ्यो अहिले त्यो समस्या सधाका लागि हटेको स्थानीयवासी प्रेमकुमारी हिस्की बताउँछन् । “बिहान उठ्यो कि सबैभन्दा पहिला पानीकै जोहो गर्नुपर्ने बाध्यता, अहिले त घरमै धारा जडान छ, जतिबेला पनि पानी आइरहन्छ, पानी बोक्नमै घण्टौँ समय खर्चनुपथ्यो, अहिले त्यो समय अन्यत्र कामकाजमा लगाउन पाइएको छ”, उनले भनिन् ।

जाम्दी कोटथर लिफ्टिङ खानेपानी आयोजनामार्फत यहाँका ६० घरधुरीमा खानेपानीको सुविधा पुगेको छ । यस आयोजनाबाट करीब ३०० लाभान्वित भएका छन् । गाउँदेखि झण्डै चार हजार मिटर तलबाट लिफ्टिङ गरी घरघरमा आयोजनामार्फत पानी वितरण गरिएको हो । आयोजनाअन्तर्गत २० घनमिटरको दुई वटा ट्याङ्की निर्माण गरी जसबाट ४९ वटा धारा घरघरमा जडान भइसकेको छ ।

नेपाल सरकारको रु ४२ लाख, स्थानीयवासीको जनश्रमदान रु ११ लाख गरी ५३ लाख बराबरको लागतमा आयोजना सम्पन्न भएको जाम्दी कोटथर लिफ्टिङ खानेपानी आयोजनाका संयोजक मानबहादुर बयम्बु बताउँछन् । २०७०/०७१ बाट आयोजना निर्माणको कार्य थालनी भई घरघरमा जडान गरिएका धारामा पानी आउन थालेपछि यहाँका स्थानीयवासीमा खुशियाली छाएको छ ।