‘नेकपाभित्र ओली र प्रचण्डले जे भन्यो, त्यही हुन्छ’ : झलनाथ खनाल

jhalanath khanal
लाेकपाटी न्यूज

काठमाडौं, २२ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले जनताको चाहनालाई सम्बोधन गर्नको लागि पनि आफ्नो गति र वेग बढाउनुपर्ने सुझाव दिएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी भैलो कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नेता खनालले यस्तो बताएका हुन् । मुलुक अब विकास र समृद्धि हुने कुरामा शंका नगर्न खनालले आग्रह गरे ।

देउसी खेल्न पुगेको टोलीसँग कुरा गर्दै उनले भने, “विकास र समृद्धि विल्कुलै सम्भव छ । देश अहिले ऐतिहासिक चरणमा प्रवेश गरेको छ । देशमा क्रान्तिको युगलाई, संघर्षको युगलाई, हड्तालहरुको युगलाई पार गरेर यहाँसम्म आएका छौं । नयाँ संविधान बनायौं । संविधानबमोजिम निर्वाचन गर्यौं । अहिले तीन तहको सरकार निर्माण गरेका छौं । तीनै तहका सरकारका मुख्य काम भनेको नै यो मुलुकको विकास गर्ने हो । आर्थिक रुपान्तरण गर्ने र देशलाई समृद्धितर्फ अगाडि बढाउने नै हो ।”

अहिले देश र सम्पूर्ण जनताले चाँडोभन्दा चाँडो विकास र समृद्ध चाहेको सुनाउँदै उनले भने, सिंगो राष्ट्र अहिले सरकारले समृद्धिको लागि चाँडो काम गरोस् भन्ने चाहन्छ । हामी लामो समयदेखि गरिबीमा छौं । र, त्यो गरिबीबाट हामी मुक्त हुन चाहन्छौं । विभिन्न किसिमका बेरोजगारीहरु छन् । ती समस्याहरु हल गर्नुपर्छ । परनिर्भरताबाट हामी मुक्त हुन चाहन्छौं । विभिन्न किसिमका रोग, व्यधाहरु छन् । तीबाट यो समाज मुक्त हुन चाहन्छ । चाँडो विकास होस् । नयाँ नयाँ परिवर्तनहरु ल्याओस भन्ने जनचाहना छ । जनचाहनाअनुसार काम गर्न र समृद्धि हाँसिल गर्नको लागि यो सरकारले अझै वेगका साथ काम गर्नुपर्छ । अहिलेको गतिले पुग्दैन । त्यो भन्दा तिव्र गतिले अघि बढ्नुपर्छ । अझै तिव्रता र प्रभावकारिताका साथ काम गर्न सकियो भनेमात्रै युगले यो सरकारलाई बोकाएको उत्तरदायित्व पूरा गर्न सकिन्छ ।”

अहिले नेकपाभित्र अत्यन्तै नीतिनिष्ठ, सिद्धान्तनिष्ठ, विचारनिष्ठ, लक्ष्यनिष्ठ एकताको आवश्यकता पनि उनले औंल्याए । उनले भने, “नेकपाभित्र मात्रै होइन, प्रतिपक्षी दल र सम्पूर्ण राजनीतिक शक्तिहरुबीचमा बृहत्त एकताको आवश्यकता छ । सिंगो राष्ट्रमा एकताको आवश्यकत्ता छ । एकतावद्ध भएर गयौं भनेमात्रै यो देश विकास हुन्छ । समृद्ध हुन्छ । पहिलो आवश्यकता पनि एकता हो । दोस्रो आवश्यकता पनि एकता हो । र, तेस्रो आवश्यकता पनि एकता हो ।”

कम्युनिष्ट पार्टीको जीउ भनेको नै नीति र विधि भएको बताउँदै उनले यसलाई जसले तलमाथि गर्छ, उसको ज्यान खतरामा पर्ने उनले बताए । खनालले नीति र विधिअनुसार पार्टी चल्नुपर्नेमा जोड दिए ।उनले अघि थपे, “एकता गर्ने कुराहरुमा ढिलाई भइरहेको छ । ६ महिनाअघि हामीले एकताको घोषणा गरेको हो । तर, ६ महिना पार हुँदापनि अझै एकताको प्रक्रिया टुँग्गिएको छैन । यो ढिला भएको छ । चाँडोभन्दा चाँडो एकतावद्ध गरेर अघि बढ्नुपर्छ ।”

नेकपाभित्र अध्यक्षद्धय ओली र प्रचण्डले जे भन्यो त्यही हुन्छ । तर, तपाईहरुको भूमिका त छैन अरे नि ? भन्ने प्रश्नमा उनले भने, “हो, साँचो कुरा के हो भने कम्युनिष्ट पार्टी भनेको सामूहिक नेतृत्वको आधारमा मात्रै पार्टी चल्नसक्छ । सिंगो समाज नै सामूहिक नेतृत्व भयो भने अगाडि बढ्न सक्छ । सामूहिक नेतृत्वको अभ्यास गर्न सकेनौं भने समाज अगाडि बढ्न सक्दैन् । एउटा व्यक्तिमात्रै सर्वज्ञ हुनै सक्दैन । यो ज्ञानको युग हो । यस्तो अवस्थामा कुनै एक व्यक्तिले ज्ञानको ठेक्का लिनै सक्दैन । ज्ञान धेरैतिर छरिएको हुन्छ । हो, त्यो छरिएको ज्ञानलाई हामीले उपयोग गर्न सक्नुपर्छ ।”