‘विकासको गतिलाई असाधारण तिब्रता दिन्छौं’ : प्रधानमन्त्री ओली

kp_shrma_oli_pm
लाेकपाटी न्यूज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धितर्फको गन्तव्यमा पुग्न अब आर्थिक विकासको गतिलाई असाधारण तीव्रता दिइने बताएका छन् ।

तिहार र नेपाल सम्वतको अवसरमा भिडियोमार्फत स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकाना सन्देश दिँदै प्रधानमन्त्री ओलीले समृद्धिको यात्रातर्फ अघि बढन अर्थतन्त्रमा पर्याप्त सुधार भएकोसमेत बताएका छन् ।

‘हामीले दृढसंकल्प गरेका छौं, पछौटेपन, अविकास र गरीबीको दुश्चक्रलाई तोडी अबको चार वर्षभित्रमा नेपाललाई अल्पबिकसित अवस्थाबाट स्तरोन्नति गर्ने छौं, सन् २०३० सम्ममा दीगो विकासका सबै लक्ष्य हासिल गरिछाड्ने छौं । मैले प्रधानमन्त्रीमा निर्वाचित भएको केही समयमै यहाँहरुसमक्ष आफ्नो हृदयदेखिको भावना अभिव्यक्त गरेको थिएँ, अबको हाम्रो सर्वोपरि राष्ट्रिय अभिभारा, संकल्प र कामको केन्द्रबिन्दु आर्थिक समृद्धि नै हुनेछ, आर्थिक विकासको गतिलाई अब असाधारण तीव्रता दिइनेछ,’ प्रधानमन्त्री ओलीले सन्देशको सन्देशमा भनिएको छ ।

प्रधानमन्त्री ओलीले समग्र अर्थतन्त्रमा पनि सुधारको संकेत देखिएको बताएका छन् । ‘चालु आर्थिक वर्षको पहिलो तीन महिनामा गत वर्षको सोही अवधिको तुलनामा करिव ४२ प्रतिशतले राजश्व संकलनमा बृद्धि भएको छ । सरकारी कामकाजमा मितव्ययिता अपनाउँदै फजुल खर्चमा ब्यापक कटौती गरी सरकारकाले विश्व बजारमा अमेरिकी डलरको मुल्य बृद्धि भइरहँदा पनि मुद्रास्फ्रिति बढन दिएको छैन,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘पूँजीगत खर्चमा बृद्धि भइरहेको छ, गत वर्षको तुलनामा निर्यातमा झण्डै १७ प्रतिशतले बृद्धि भएको छ । समृद्धितर्फको हाम्रो गन्तव्यमा यो सकारात्मक लक्षण हो । यसरी समग्र अर्थतन्त्रमा सुधारका केही सुखद लक्षण देखिएका छन् ।’