काठमाडौं महानगरका मेयर र उपमेयर चीन प्रस्थान

Bidhyasundar Shakya
लाेकपाटी न्यूज

काठमाडौं, २६ कात्तिक । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी चीन प्रस्थान गरेका छन् ।

चीनको हुआन शहरमा हुने ‘चाइना इन्टरनेशनल फ्रण्डशीप सिटिज कन्फरेन्स २०१८’मा सहभागी हुन सोमबार मेयर तथा उपमेयर चीन प्रस्थान गरेका हुन् । सम्मेलन नोभेम्बर १४ देखि १४ सम्म हुनेछ ।

‘विकासका अवसर र आपसी साझा जीत-सेयरिङ् डिभलपमेन्ट अपरच्युनिटिज एण्ड डिपिङ् विन विन कोअपरेसन’ विषयमा केन्द्रीत सम्मेलनमा चीनका सहरहरुसँग भगिनी सम्बन्ध भएका अन्तर्राष्ट्रिय नगर र संघ संस्थाबाट प्रतिनिधित्व हुँदैछ । चाइनिज पिपुल्स एशोशिएसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिज (सिपिएएफएफसि), चाइना इन्टरनेशनल फ्रेन्डसिप एशोसिएन (सिआइएफसिए) र हुआन म्युनिसिपल्स पिपुल्स गभर्मेन्टले सम्मेलनको आयोजना गरेका हुन् भने युनाइटेड सिटिज एण्ड लोकल गभर्मेन्ट (युसिएलजि) का सदस्यहरुसमेत सम्मेलनमा भाग लिँदैछन् ।

आधुनिक र वातावरणमैत्री सहर निर्माण गर्न तथा साझा समृद्धिका लागि उन्नत अनुभव आदान प्रदान गर्न सम्मेलनको आयोजना गरिएको हो । यस सम्मेलनमा ल्हासा नगरले काठमाडौं महानगरलाई ‘आउटस्ट्याण्डिङ फरेन फ्रेण्डसिफ सिटि आफ टिवेट अटोनोमस अवार्ड’का लागि मनोनयन गरेको छ ।

महानगरलाई सम्मेलनमा भाग लिन ल्हासा नगरले निमन्त्रणा गरेको हो । अन्तर्राष्ट्रिय सम्मेलनमा महानगरका प्रमुख उपप्रमुखले संयुक्त भाग लिएको यो पहिलो अवसर हो ।

कार्यक्रम तालिका अनुसार मेयर शाक्य नेतृत्वको प्रतिनिधि मण्डल आज छेन्दु पुग्नेछ । भोलि ल्हासा नगरका उपप्रमुखसँग छेन्दुमा भेट गरी दुवै नगरका प्रतिनिधि मण्डल हुआन प्रस्थान गर्नेछन् ।

बुधबार, विहीबार र शुक्रबार सम्मेलनमा सहभागी भएर मेयरसहितको टोली शनिबार स्वदेश फर्कनेछ । यस अवधिमा महानगरका नियमित काम हेर्न वडा १ का अध्यक्ष भरतलाल श्रेष्ठलाई कार्यवाहक मेयरको जिम्मेवारी दिइएको छ । उनाँलाई उमेरको जेष्ठताका आधारमा कार्यवाहक दिइएको हो ।