महिला मुक्ति आन्दोलनमा जनयुद्ध र प्रचण्डको योगदान

dinesh limbu-3
जसरी सितालाई सती जान विवश पारेर पनि (रामायण) मा राममाथि नै छन् । सिताले आफ्नो चित्कार रामलाई सुनाउँदै भनिन् ‘आजउप्रान्त नारीप्रति न्याय न उसको पिताले गर्नेछ न माईती, न त उनका श्रीमानले नै । कसैले गर्ने छैनन् । नारी स्वंले गर्नुपर्नेछ ।’ हे नारी हो, कति बस्छौं, सत्य नजान्ने स्वामी मनले निर्माण गरिदिएको नबुझाइने इतिहास, धर्म, संस्कृति दर्शन र स्वामीराज्यको दासी बनेर ? न प्राचीन इतिहास तिम्रो थियो न त आधुनिक ?
  • 890
    Shares
लाेकपाटी न्यूज

लेखक : दिनेश लिम्बु

दयाहाङ राईको जालिनी नामक नाटक थिएटरमा राजकुमारीले जुन पुरूषको चित्र बनाउँछिन्, उसको नाम इतिहासमा लेखिने ज्योतिषीको भविष्यवाणी सुनेपछि दम्भी राजाले राजकुमारीलाई नजबन्दमा राखिदिन्छ । दम्भी राजा चाहन्छ कि छोरी राजकुमारीले आफ्नो चित्र बनाउन र इतिहासमा अम्बर हुन पाइयोस् । यो कथाले प्राचीनदेखि आधुनिक नारीमाथि पुरूषको अनुराग चित्रण गरेको छ । भव्य महलदेखि दरबारको खोपीसम्ममा सजिनु पनि एक प्रकारको विलासी प्रथा हो, जसले उनीहरूलाई हमेसा प्रतिष्ठित अधिनस्थ बनाइदिन्छ । नारीहरूले आधा संसारको दावी गरेपनि यथार्थमा त्यो पुरूष प्रधान वैचारिक परिभाषा नै हो । यहाँ नारीको हरेक तन मन पुरूषको वैभवशालीे रागात्मक आकर्षणले नियन्त्रण गरिदिन्छ ।

नारीप्रधान हरेक अतितको खाली ठाउँमा पुरूष प्रधानताले आफ्नो वर्तमान भरिदिएको हुन्छ । जब नारी संसारमा आउँछिन्, उनीहरूलाई परम्परावादी सिस्टममा ल्याउन अग्रजहरू संसारको कथित भाषा सिकाउँछन् र संस्कृतिको जेहादी रूल्स पनि रटाउँछन् । कठ्ठरपन्थीहरूले (सुफी कुरान) मा आत्मघाती संस्कृतिको जेहादी रुल्स सिकाएजस्तै उनीहरूलाई चिन्ता हुन्छ, कतै परम्परागत संस्कृतिको नियम बाहिर जाने त होइन ? वंश धानिदिएर वा आजीवन बन्धुवा यौन दासी बनिदिएर पनि उन्मुक्ति नपाउने आफ्नो नाम थर नभएकी अनामिका कतै परपुरूषको सिकार हुने त होइन ? त्यसैले अग्रजहरू तल्लिन भएर पुरूषकृत शास्त्र निर्देशित नियम र संस्कृति मान्नु तिम्रो पवित्र धर्म हो, तिमीले यो पवित्र संस्कृति मन वचन र कर्मले वहन गरेर पवित्र धर्म सतत् यथावत राखेपछि पवित्र अर्थात् सुफी मन प्राप्त गर्नेछौ ।

यसकै खातिर शास्त्रीय संस्कृति फलो गर्न जेहादी रूल्स रटाउँछन्, मानांै संसार भनेको पुरूषको देन हो जहाँ सास फेर्न पनि अक्सिजन होइन पुरूषत्व चाहिन्छ । चाहे त्यो नारीलाई मन परेको होस् वा मन नपरेको तर पुरूष स्वत्वप्रति अचम्मको मोह सृजना गरिएको छ, जसले नारी अस्मितामाथि धावा बोलेर पनि सामाजिक मान्यता पाइरहेको हुन्छ । जसरी सितालाई सती जान विवश पारेर पनि (रामायण) मा राममाथि नै छन् । सिताले आफ्नो चित्कार रामलाई सुनाउँदै भनिन् ‘आजउप्रान्त नारीप्रति न्याय न उसको पिताले गर्नेछ न माईती, न त उनका श्रीमानले नै । कसैले गर्ने छैनन् । नारी स्वंले गर्नुपर्नेछ ।’ हे नारी हो, कति बस्छौं, सत्य नजान्ने स्वामी मनले निर्माण गरिदिएको नबुझाइने इतिहास, धर्म, संस्कृति दर्शन र स्वामीराज्यको दासी बनेर ? न प्राचीन इतिहास तिम्रो थियो न त आधुनिक ?

क. आफ्नो इतिहास आफै लेख्नुपर्छ :

आजसम्म जानकारीमा आएका मानव इतिहास निर्मम र बर्बर शासकहरूको इच्छा वा स्वार्थद्वारा लेखिएका छन् । चाहे प्राचीन होस् अथवा अथवा आधुनिक त्यहाँ कतैपनि पुरूषको निगाह भेटिँदैन । इतिहासमा पुरूषहरूले आफूलाई फाइदा हुने र आफ्नै सुविधाका कुरालाई उन्नति र प्रगतिको महानता ठहराएका छन् । सायद यही भएर होला, नव उपनिवेश वादी लेखकहरू भन्छन् ‘इतिहास जित्नेहरूको घोडा हो ।’ महिलाहरूलाई गिज्याउन र शक्तिहीन बनाउन पुरूषहरूले लेखेको इतिहास, धर्म, संस्कृति, न्याय र साहित्य जस्तो डिस्कोर्सलाई नङ्ग्याएर अथवा च्यातेर नारीहरूले आफ्नो इतिहास, धर्म, संस्कृति र साहित्य आफंै लेख्नुपर्छ ।

संसारको जेठो ऋग्वेदमा नारीलाई देवगणबाट शक्ति लिएर सबैलाई वशमा राख्न सक्ने भनेर दोस्रो भूमिकामा अथ्र्याएको छ । जबकी ऋग्वेदका अधिकांश ऋचाहरू स्वयं प्राचीन (ऋषिका) नारीहरूले रचेका कुरा कतिपय विद्वाउनहरू बताउँछन् । सप्तशती (चण्डी) मा दुर्गाले आफूलाई पराजित गर्न सक्ने वीर पुरूष नभएकाले विवाह नगरेको उल्लेख छ । सावित्रीले यमराजसँग विद्रोह गरी आफ्नो पति सत्यवानको प्राण फिर्ता ल्याइन् । प्राचीनकालदेखि नै मानव सभ्यता निर्माणमा नारीहरूको मुख्य भुमिका भएकाले नै पौराणिक नारीहरू दुर्गा, लक्ष्मी र सरस्वतीलाई आजप्रयत्न देवीको रूपमा पुजा गरिन्छ तर, उत्तर वैदिक कालबाट बिस्तारै नारीको भूमिका आर्दर्शीकरण र नकारात्मक बनाएपछि लेखिएका शास्त्र र ग्रन्थहरूमा पुरूष प्रधान पुर्वाग्रही दृष्टिकोण विकासित हुँदै गएको अध्ययनले देखाउँछ ।

तपाईले पवित्र बाइबल पढ्नु भयो भने येशु पनि पुरूष नै हुन् र उत्पतिमा आदमपछि हब्बा आउँछिन् । प्रायःजसो धर्मशास्त्र र ग्रन्थहरूमा पुरुषलाई पुरुषलाई प्रधान सृष्टिकर्ताको रूपमा लेखिएका छन् भने नारी दोस्रो दर्जामा । मानिस कसरी र कोबाट जन्मिन्छ लोकलाई थाहा छैन र ? अझै चीनका वैज्ञानिकहरूले त दुईवटा पोथी मुसाबाट आनुवंशिक पद्वति प्रोग गरेर मुसाको स्वस्थ्य बच्चा जन्माउन सफल भएका छन् । धेरै विज्ञहरू यो पद्वति भविष्यमा मानिसहरूमा पनि सफल हुने बताउँछन् । बरू दुई भालेको शुक्रकीटबाट बच्चा जन्माउने पद्वति आजसम्म कुनै पनि भाले जीवमा सफल भएको छैन । यस वैज्ञानिक तथ्यहरूले पनि सृष्टि र विकासमा मातृत्वकै भूमिका मुख्य प्रमाणित हुन्छ ।

शास्त्र र ग्रन्थहरूमा नारीहरूलाई प्राकृतिक शक्ति, सृष्टि, सिद्वि र सौन्दर्यको प्रतीकको रूपमा जसरी व्याख्या गरिएको छ, त्यो प्राचीन पुरूषहरूको दयालु उपहारका प्रतीक होइन । नारीभित्र रहेको शारीरिक भौतिक क्षमता र बौद्विक उत्कण्ठाको प्रतिरूप हुन् । यी गुणहरू, शक्ति, क्षमता र सुन्दरता सबै आम नारीहरूमा जैविक विविधताको रूपमा हुन्छन् । न्यायपूर्ण समाज निर्माणको लागि नारीहरूलाई हर क्षेत्रमा समान अवसर र सहभागिता सुनिच्श्रित गर्ने हो भने विकास र समृद्विको आधा क्षितिज छोटो हुने थियो । यद्यपी यो विवेक समाजवादी संविधानले पनि गुमाएको छ । धर्मशास्त्रमा जस्तै नारीका गुणहरूलाई शितल निवास की अलौकिक देवीका रूपमा मात्र व्याख्या गरेको छ ।

इहलौकिक नारीहरूमा कहिल्यै संसार बदल्ने त्यस्तो गुण हुनै सक्तैन भन्ने हौवा चलाउनका लागि स्वैरकाल्पनिक देवीको रूपमा नारीलाई चित्रण गर्ने प्रथा प्राचीन युगदेखि आजप्रयत्न पनि जारीनै छ । मात्रै दरबार वा शितल निवासको अर्दलीको रूपमा प्रस्तुत गरेर कार्यकारिणी नारीबाट अधिभूत नारीको रूपमा व्याख्या गरियो ।

यसरी प्राचीन सभ्यतादेखि आजका उतर आधुनिक सभ्यतासम्म आइपुग्दा पुरूषवादी विचार, राज्य संरचना, प्रशासनिक प्रणाली, आर्थिक ढाँचा र धर्म संस्कृतिको लामो अभ्यासले नारीहरूको मस्तिष्कमा अलौकिक अर्थात् अमुर्त धारणाको विकास गरिदिएको छ । अन्ध रूढीवादी र पुरूष भक्ति चेतना भरिदिएको छ । धर्मकर्म भनेपछि हुरूक्कै हुने, पतिव्रत, दास प्रथा, सती प्रथा, छाउपडी प्रथा नतर्की, बालविवाह, बहुविवाह जस्ता शारीरिक र मानसिक कहर रूचाउने मानसिकता पैदा गरिदिएको छ ।

ख. नारी मुक्ति आन्दोलन र नारीवाद :

प्राचीन युगदेखि आधुनिक युगसम्म निरन्तर महिलामाथिको शोषण र दलनका विरूद्व आवाज बुलन्द पार्ने सशक्त वैचारिक हतियार भनेको सन् १८४८ को (विश्व कम्युनिष्ट घोषणा पत्र) नै थियो । विचार संश्लेषण कार्ल माक्र्समा गरिए पनि विचार निर्माणको भूमिकामा जोहान्ना बेर्थाजुली जेनी भोन वेस्टाफालेन, जेनी माक्र्सको त्याग र योगदान अथाह थियो । साम्यवादी नारीवाद र महिला मुक्ति आन्दोलनमा महत्वपूर्ण नाम जोडिएर आउने वैचारिक नाम हो, जेनी माक्र्स । उनी तीक्ष्ण बुद्वि क्रान्तिकारी आन्दोलनप्रति समर्पित उच्चकोटीका नारी हुन् ।

जेनी भन्थिन्, ‘यस्तो दुःख र अभावमा बाँच्नु भन्दा त आफ्ना प्यारो सन्तानसँगै कहिल्यै नउठ्ने गरी चिहानमा निदाउन पाएपनि हुन्थ्यो ।’ यसरी दुःख र अभावको चिहानबाट पटकपटक अनिन्दो फर्केकी नारी हुन् जेनी माक्र्स । भोक र रोगले खोसिएका आफ्नो स्नेह सन्तानको पार्थिव शरीर छोप्न कात्रो किन्ने पैसाको अभावबीच आफ्नो सारीले छोपेर अन्त्यष्टि गर्न सक्ने अदम्य मातृत्व पनि थिएन । विडम्बना १ कम्युनिस्ट मेनिफेस्टो लेख्ने र माक्र्सवादको संश्लेषण गर्ने ती महान् पुरूषहरूले जेनी माक्र्सको बौद्विक श्रम, रगत र आँसुको मूल्यप्रति दुई अक्षर पनि कोर्न सकेनन् । क्लारा जेटिकन सानैदेखि समाजवादी महिला मुक्ति आन्दोलनमा सक्रिय नेतृ थिइन् । उनले १ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने प्रस्ताव सन् १९१० मा कोपेनहेगनमा राखेकी थिइन् ।

समाजवादी विचारबाट प्रेरित भएर बेलायतमा सन् १९०९ मा मेरियम डन्लपले महिला मताधिकारका लागि अनशन बसिन् भने अमेरिकामा मताधिकारका लागि १९ औं संविधान संशोधनको लागि आन्दोलनको नेतृत्व एलिस पाउलले गरिन् । सन् १९१७ को सोभियत क्रान्ति र सन् १९४९ को चिनियाँ जनवादी क्रान्तिमा क्रुप्सकाया च्याङचिङ र रोजा लक्जमबर्गको शसक्त भूमिकाले मुख्यतः ल्याटिन अमेरिका, यूरोप र एशियाली देशहरूमा समाजवादी महिला मुक्ति आन्दोलनले ८ रेक्टरको भूकम्प ल्याइदियो जसले पितृसत्ता र पुरातन विचारको संरचना नै उथलपुथल बनाइदियो भने राज्य पुनःनिर्माणको प्रक्रियामा आधा संसारको स्वामित्व नारीहरूको पोल्टामा पर्न गयो ।

यो क्रान्तिकारी परिवर्तन पश्चिमा शासक इतरका खेमाहरूलाई काल सावित भएपछि यसलाई कसरी तेजोबध गर्न सकिन्छ भनी सोच विचारी सन् १९६० को दशकदेखि पश्चात्य अवधारणाको रूपमा नारीवाद अगाडि ल्याए । यो २० औं शताब्दीसम्म आइपुग्दा विश्वव्यापी रूपमा पश्चिमा पाश्चात्य नारीवादको रूपमा स्थापित भइसकेको छ । नारीवादमा उतर आधुनिक विचारधाराको काफी प्रभाव छ । यो पितृसतात्मक धारणाका खिलाफ होइन, सहवरणको सिद्वान्त हो । नारीवादले सम्पतिमा वैयक्तिक अधिकार तथा ऐच्छिक तलाकको मुद्दालाई नारी अस्मिता र नारी स्वतन्त्रताको रूपमा व्याख्या गरेको छ ।

विभिन्न पेसा तथा व्यवसायमा लागेका उच्च सम्पन्न घराना महिलाहरूको बोल्ड आत्मकथालाई फोकस गरेको छ । यौन स्वछन्दता, नग्न कामुकता, परपुरूष गमन, सम्बन्ध विच्छेद, उपभोक्तावादी र विलासी वैभवशाली जीवन ढलिमली गर्न सक्ने नारीनै सक्षम र गुणी हो । गरिब, दलित र अल्पसंख्यक नारीहरूले त्यस्तो नारीबाट हौसला लिनुपर्छ भनेर हौवा खडा गरिदिएको छ भने अर्कोतिर धार्मिक र संस्कृतिक उत्पीडनमा पारिएका महिलाहरूलाई वैकल्पिक धर्म र संस्कृतिमा विलय गराएर ओल्लो घरको नरेनी पल्लो घरमा सरेनी भने जस्तै घुमाइफिराइ पुरातन नै बनाइदिएको छ । भूमण्डलीकरणका विद्धुतीय धारावाहिक माध्यमले नारीहरूको चेतना पुरै पखालेर पाश्चात्य र पुरातनवादी संस्कृतिका कुरूचिहरू भरिदिएको छ ।

साहित्य र कलामा विचारशुन्यतालाई प्रधानता दिनु अनैतिक विशुद्व जैविक वस्तु बनाइदिनु, काव्य, चित्रकला गीत र संगीतमा सेक्स, हिंसा, निराशा जस्तो आत्मविनासी सृजना र विकासमा जोड दिनु, अन्ततः पाश्चात्य नारीवादले बामपंथी नारीमुक्ति आन्दोलनलाई बिर्सजन र विभाजनगरी सम्पूर्ण मानव जातीलाई नै विनासको मार्गतिर लाँदैछ ।

ग. जनयुद्व र संस्कृतिक रूपान्तरण :

आजसम्म नेपालमा जे जति महिला मुक्ति आन्दोलन र सशक्तीकरण भएका छन् यसको दार्शनिक र राजनीतिक पुर्वाधार साम्यवादी वैज्ञानिक विचार नै हुन् । (१० बैशाख, २००६ ) मा नेपाल कम्युनिष्ट पार्टी स्थापना हुनुमा मोतीदेवी श्रेष्ठ र कामक्ष देवीको महत्वपूर्ण योगदान थियो । (राल्फा मेनिफेस्टा) मा पारिजातले महिला विचार सशक्तीकरणमा प्रगतिशील शान लगाइन् । जसले निरंकुश पञ्चायती व्यावस्थाको मुल छेदन गरिदियो ।

सहाना प्रधानले वि. सं. २०४६ को जनआन्दोलनमा संयुक्त बाममोर्चाको नेतृत्व गर्दै संसदीय प्रजातन्त्र स्थापित गर्दै मुलधारको राजनीतिमा बाम महिला नेतृत्व स्थापित गरिन् । मंगला देवी र शैलेजा आचार्य पनि सशक्त महिला नेतृ हुन् । संघीय गणतन्त्रको मुख्य आधार सात राजनीतिक दल र तत्कालीन विद्रोही शक्ति (नेकपा माओवादी) बीच भएको १२ बुँदे समझदारी पत्रको मुख्य हस्ताक्षर कर्ता (नेकपा माओवादी) द्वारा सञ्चालित दस वर्षे जनयुद्वमा नारीहरूको त्याग, समर्पण र सहभागिता अग्रपंतिमा थियो ।

अध्यक्ष प्रचण्ड पत्नी सीता दाहाल केन्द्रीय सल्लाहकार भएर पार्टीमा निरन्तर नीति तथा विचार निर्माणमा अहम भूमिका नभाएकी छन् । पम्फा भुसाल, हिसिला यमी, जयपुरी घर्ती मगरले जनयुद्वको विचार तथा नीति निर्माणमा नेतृत्वदायी भूमिका निभाए । डिम्मक पड्काउन र हान्न बाहेक अरू के पो जानेका छन् र भन्नेहरूको अनुमान विपरीत ओनसरी घर्ती मगरले सालिनतापूर्वक सभामुखको भूमिका पूरा गरेर दुनियाँलाई चकित पारिन् । रेणु दाहाल, गंगा दाहाल यसरी सम्पूर्ण परिवार नै जनयुद्वमा होमिनु दुर्लभ निष्ठा र समर्पणको राजनीति हो । जनयुद्ध र जनक्रान्तिमा दुई हजार भन्दा बढी महिलाहरूले उच्च साहदात प्राप्त गरेका छन् । हजारौं बेपत्ता पारिएका छन् । कयौं बलात्कृत भएका छन् भने कयौं अशक्त र घाइते छन् ।

दुश्मनका बलियो जेल ब्रेक गरेर उच्च नारी साहस र सौर्यता प्रस्तुत गरिन उमा भुजेलले नेपाली नारीहरूले यस्ता कयौं अदम्य रेकर्डहरु कायम गरेका छन् । २४० वर्षे पुरातन राजतन्त्रको अन्त्य गरी संघीय गणतन्त्र, धर्म निरपेक्ष, समावेशी र समानुपातिक राज्यको पुनःसंरचना गर्न महिलाहरूको प्रधान भूमिका भएको राजनीतिक तथ्यलाई कसैले पनि नकार्न सक्तैनन् । तर, पुरूषहरूद्वारा लेखिने इतिहासको प्रकारान्तरमा यी त्याग र विरताका महिला गाथाहरू अप्रासंगिक हुनसक्छ ।

यसकारण महिलाहरूले आफ्नो विरताका गाथाहरू आफ्नै कलमबाट विभिन्न साहित्य, कला, आख्यान, र लेखनबाट इतिहासमा संस्थागत गर्दै जानुपर्छ । राज्यको हरेक निकायहरूमा समान कार्यकारी सहभागिताको सुनिश्चित गरी आर्थिक, राजनीतिक शैक्षिक, सामाजिक, धार्मिक र सांस्कृतिक रूपान्तरण गर्नु वैज्ञानिक समाजवाद निर्माणको पहिलो सर्त हुन् । सांस्कृतिक क्रान्तिमार्फत विभेदकारी पुरातन धार्मिक, संस्कृति र संस्कारको संरचनात्मक सुधार गरी वैज्ञानिक जनवादी र मौलिक संस्कृति र संस्कारको निर्माण गरी शोषण र विभेदरहित समाजवादी मानव सभ्यता निर्माण गर्नु नै समाजवादी महिला मुक्ति आन्दोलनको लक्ष्य हुनुपर्दछ ।