‘मोदीले ईपीजीको प्रतिवेदन छिट्टै बुझ्नुहुन्छ’ : सल्लाहकार डा. भट्टराई

Rajan Bhattarai
लाेकपाटी न्यूज

काठमाडौं, २९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले नेपाल-भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको संयुक्त प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै बुझ्ने स्पष्ट पारेका छन् ।

बिहीबार रिपोर्टर्स नेपालले गरेको साक्षात्कारमा बोल्दै डा. भट्टराईले भने, ‘यसबारेमा हामी दुवै तर्फका सदस्यहरुबीच कुराकानी भइरहेको छ । हाम्रो तर्फका संयोजकले भारतीय संयोजकसँग कुराकानी गरिरहनुभएको छ । अब मोदीले छिट्टै प्रतिवेदन बुझ्नुहुन्छ । तर, अहिले मिति तोक्दैनौं।’

डा. भट्टराईले ईपीजीले नेपाल–भारत द्धिपक्षीय सम्बन्धका सन्धि, सम्झौतादेखि लिएर सबै पक्षको बारेमा पूनरावलोकन गरेको दाबी गरे । उनले थपे, ‘ईपीजीको यो दुई वर्षे कार्यकालमा ९ पटकसम्म बैठक बसेर हामीले विभिन्न आयामबारे छलफल गर्यौं । र, हामी दुवै तर्फका बसेर एकल प्रतिवेदन बनायौं । यो प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीलाई पेश गर्ने निर्णय गरेका छौं । पहिले भारतीय प्रधानमन्त्री मोदीलाई बुझाउने भनेका छौं ।

उनले थपे, ‘ईपीजीको सुरु र अन्तिम बैठक नेपालमै बस्यो । यो संयोग नै हो । अब यो रिपोर्ट पहिला मोदीलाई बुझाउने भनेका छौं । दुवै देशका प्रधानमन्त्रीलाई बुझाएर नेपालमा संयुक्त पत्रकार सम्मेलन गर्ने भनेका छौं । हामी अहिले पर्खिएर बसेका छौं । उहाँले बुझ्नुहुन्न जस्तो मलाई लाग्दैन् । मोदीले छिट्टै प्रतिवेदन बुझ्नुहुन्छ ।’

सल्लाहकार डा. भट्टराईले ईपीजीको रिपोर्ट अत्यन्तै राम्रो बनेको र दुवै देशको हितमा रहेको पनि जिकिर गरे । उनले भने, ‘रिपोर्ट कसरी अघि बढाउने भन्नेबारे अहिले दुवै तर्फका संयोजकबीच कुराकानी तथा सम्वाद भइरहेको छ ।’

नेपालबाट अन्य द्धन्द्धग्रस्त देशहरुले पनि सकारात्मक कुरा सिक्न सक्नेछन भनेर कुटनीतिक नियोगका प्रमुखहरुले भन्न गरेको पनि डा. भट्टराईले सुनाए । उनले भने, ‘एक किसिमले भन्ने हो भने यो हाम्रो राष्ट्रिय पुँजी हो । हाम्रो सफलताको सन्देशसहित उनीहरुसँग हाम्रो अनुभव आदान–प्रदान गर्नुपर्छ । अहिले पछिल्लो कालमा हाम्रो दुई वटा मुलुकबाट नेपालमा हाई–लेभल भिजिट भएको छ । अफगानिस्तान र म्यानमारबाट नेपालमा उच्चस्तरीय भ्रमण भएका छन् ।’
एक फरक प्रसंगमा उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण नभएको लामो समय भएको सुनाए । डा. भट्टराईले भने, ‘हाम्रो तर्फबाट (प्रधानमन्त्री र राष्ट्रपति) दुवैको तर्फबाट चिनीयाँ राष्ट्रपति र उपराष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो गइसकेको छ । उहाँहरु आउनुहुन्छ भन्ने हाम्रो विश्वास छ । र, आग्रह पनि छ ।’