धर्म प्रचार गर्ने १६३ क्रिश्चियन देश निकाला

baibal
लाेकपाटी न्यूज

कार्तिक ३०,काठमाडौं । घुम्ने बहानामा नेपाल आएर धर्म प्रचार र अवैध व्यापार व्यवसायमा संलग्न १६३ विदेशी नागरिक देश निकालामा परेका छन् । विगत चार महिनाको अवधिमा मात्र यति धेरै संख्यामा विदेशी नागरिक निकालामा परेका हुन् ।

पर्यटक भिसामा नेपाल आएर धर्म प्रचारदेखि अवैध व्यापारसम्ममा संलग्नलाई देश निकाला गरिएको अध्यागमन विभागले जनाएको छ । अध्यागमन विभागले त्यस्तो धन्दा सञ्चालन गर्नेहरूको सर्च अभियान थालेपछि यो संख्या बढ्दो छ ।

अभियानअन्तर्गत विभागले हालै मात्र १४ जना विदेशीलाई पक्राउ गरी नियन्त्रणमा लिएको छ । विभागका अनुसार पछिल्लो चार महिनामा मात्रै धर्म प्रचार गर्ने र अवैध व्यवसाय गर्ने १६३ जना नेपालबाट फिर्ता भएका छन् ।

उनीहरूमध्ये अधिकांशले लुकिछिपी विभिन्न अवैध व्यापारसमेत गर्ने गरेका थिए । पर्यटक भिसामा आएकाले कुनै प्रकारको व्यापार व्यवसाय गर्न पाउँदैनन् । व्यापार व्यवसाय गर्न बिजनेस भिसा लिनुपर्ने प्रावधान छ ।

पर्यटक भिसामा आएर धर्म प्रचार गर्ने र अवैध व्यापार गर्नेमाथि कडा निगरानी गरिएको छ

विभागले आर्थिक वर्ष २०७४÷७५ मा गलत काम गर्ने ६२२ जना विदेशीलाई निकाला गरेको थियो । हालै पक्राउ गरिएका १४ जनालाई पनि फिर्ता पठाउने प्रक्रिया सुरु भएको छ ।
विभागका अनुसार पक्राउ पर्ने तथा देश निकाला हुनेमा इन्डोनेसिया, फिलिपिन्स, जापान, अस्ट्रेलिया, चीनलगायतका नागरिक छन् । विभागका महानिर्देशक ईश्वरराज पौडेलले पर्यटक भिसामा आएर धर्म प्रचार गर्ने र अवैध व्यापार गर्नेमाथि कडा निगरानी गरिएको बताए ।

‘देशभरमा विशेष सर्च अभियान थाल्दै त्यस्ता विदेशीलाई पक्राउ गरी निष्कासन गर्ने क्रमलाई तीव्र पारेका छौं,’ महानिर्देशक पौडलले राजधानीसँग भने । पौडेलले विभिन्न बहानामा नेपाल आएर अवैध धन्दा सञ्चालन गर्ने विदेशी ठूलो संख्यामा हुन सक्ने अनुमान गरिएको जानकारी दिए ।

पर्यटक भिसामा नेपाल आएका विदेशीले धर्म प्रचार गर्न र अवैध व्यापार गर्न थालेपछि अध्यागमन विभागले पहिलोपटक ‘विदेशी नागरिक अनुगमन निर्देशिका २०७५’ बनाएर अनुगमनमा कडाइ गरेको हो ।

अध्यागमन विभागका सूचना अधिकारी विष्णुहरि उपाध्यायका अनुसार निर्देशिकाको कार्यान्वयनसँगै गलत धन्दामा सहभागी हुने विदेशी पक्राउ पर्नेक्रम बढेको छ । उनका अनुसार पर्यटक भिसामा नेपाल आएर गलत धन्दा गर्नेहरू भिसाको अवधि सकिँदासम्म पनि लुकिछिपी महिनौंसम्म अवैध रूपमा बसिरहेका छन् ।

विभागका अनुसार पर्यटक भिसामा आएका विदेशीहरू १५० दिनभन्दा बढी बस्न पाउँदैनन् । तर, कतिपय विदेशी लुकिछिपी निर्धारित समयभन्दा दोब्बर दिनसम्म पनि बस्दै आएको विभागको दाबी छ । राजधानीबाट ।