‘अब ओली सरकार अन्तर्राष्ट्रिय घेराबन्दीमा पर्छ’ : झा (भिडियोसहित)

Keshav Jha
लाेकपाटी न्यूज

काठमाडौं, १ मंसिर । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महामन्त्री केशव झाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घेराबन्दीमा पर्ने चेतावनी दिएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महामन्त्री झाले भने, ‘सरकारलाई हामीले दिएको समर्थन अब फिर्ता लिन्छौं । काउन्टडाउन सुरु भइसक्यो । हामीले छठ सकिएलगत्तै १० दिनको समय दिएका थियौं । आज चार दिन बितिसक्यो । अब ६ दिन बाँकी छ । हामी अहिले बाध्यकारी अवस्थामा छौं । अब समर्थन फिर्ता लिएर अघि बढ्छौं ।’

नेता झाले आफूहरुले प्रधानमन्त्री ओलीलाई भेटेरै दशैंअघि समर्थन फिर्ता लिने अल्टिमेटम दिएको स्मरण गराए । उनले भने, ‘हामीले त उहाँलाई भेटेरै समर्थन फिर्ता लिनेबारे अल्टिमेटम दिएका थियौं । तर, उहाँले दशैंको टिका अगाडि नै संविधान संशोधन प्रक्रिया अघि बढाउँछु भन्नुभयो । हामीले चाडपर्व भएकोले छठ सकिएलगत्तै १० दिनको समय दिएका थियौं । तर, आज चार दिन बितिसक्यो संशोधन प्रक्रिया अघि बढाउने कुनै सुरसार देखाएको छैन ।’

सरकार गठन हुँदै गर्दा वर्तमान प्रधानमन्त्री ओलीसँग सिँगो मधेशका जनता आक्रोशित रहेको बेला आफूहरुले रिस्क मोलेर समर्थन दिएर हातेमालो गरेको झाले सुनाए । उनले भने, ‘ओलीजीको बारेमा सिंगो मधेशमा नकारात्मक अवस्था थियो । हामीले निकै ठूलो रिस्क लिएर उहाँसँग हातेमालो गर्यौं । किनकी राजनीतिमा कोही पनि स्थायी शत्रु र मित्रु हुँदैन् । हामीले विगत ३ वर्षदेखि वार्ता तथा सम्वादमार्फत संविधान संशोधनबारे समाधान खोज्दै आएका थियौं । तर, अहिलेसम्म संविधान संशोधन भएन ।’

सरकार बनेको आज ९ महिना बितिसक्दा पनि सरकारले संविधान संशोधनको लागि आजसम्म प्रयत्न नगरेको उनको आक्रोश छ ।

भिडियो हेर्नुहोस् :