सन्दीप लामिछाने भन्छन् : ‘प्रशंसकको गालीमा माया हुन्छ’

Sandeep Lamichhane
लाेकपाटी न्यूज

काठमाडौं, १ पुस । ‘गल्ती सबैबाट हुन्छ र हामी गल्तीबाटै सिक्छौँ । सिक्नका लागि कुनै उमेर हुँदैन, हरेक घटनाबाट सिक्छौँ । गल्ती गर्दा म माफी माग्छु । असमझदारी पनि भएको हुनसक्छ, त्यसलाई हामी हटाउन सक्छौँ । प्रसंशकको मायाका कारण पनि म यहाँसम्म आएको हुँ ।’

उक्त भनाइ १८ वर्षीय क्रिकेटर सन्दीप लामिछानेको हो र नेपाली प्रसंशक र उनीबीचको असमझदारीका विषयमा पत्रकारहरूको प्रश्नमा उनले यी कुरा बताएका हुन् । ‘म हरेक खेलमा शतप्रतिशत दिने प्रयास गर्छु । मैले ठीक ठानेको कुरा अरुले ठीक नठान्न सक्छ । मलाई माया दिएकै कारण पनि गाली गरेको हुनसक्छ । प्रसंशकको गालीमा पनि माया हुन्छ । मैले नेपालले गौरव गर्नसक्ने गरी खेल्नुपर्छ ।’

क्रिकेटर लामिछाने ‘सुट द्याट फिट्स’ ले आफूलाई ब्रान्ड एम्ब्यासेडोर बनाउँदा आयोजना गरेको पत्रकार सम्मेलनमा शनिबार राजधानीमा बोलिरहेका थिए । इन्डियन प्रेमियर लिग (आइपिएल) २०१८ को टीट्वान्टी खेलका लागि दिल्ली डेयरडेभिल्ससँग अनुबन्धन भएका पहिलो नेपाली खेलाडी लामिछाने आइतबार खेलकै लागि संयुक्त अरब इमिरेट्स प्रस्थान गर्दैछन् । उनले आफू त्यसपछि नेपाल फर्कने र एभरेस्ट प्रेमियर लिगको दुई खेल खेल्नसक्ने बताए ।

‘त्यसपछि म बिग बास लिग (बिबिएल) खेल्न अस्ट्रेलिया जाँदै छु । डिसेम्बरको ५ मा बङ्गलादेश क्रिकेट लिग खेल्न त्यसतर्फ जान्छु । त्यसपछि म फेरि अस्ट्रेलिया जान्छु । अनि दुबई जान्छु । त्यसपछि नेपाल फर्कन्छु र त्यसपछि आइपिएल खेल्छु ।’ स्याङ्जाको आरुचौरमा सन् २००० को अगस्ट २ मा जन्मेका सन्दीपले आफ्नो आगामी केही दिनको अन्तर्राष्ट्रिय खेलका लागि व्यस्तताका विषयमा बताए । पत्रकार भेटमा उनी ‘सुट द्याट फिट्स’ को सुटमा सजिएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्