नेकपा नेताको गुनासो : ‘प्रधानमन्त्रीको स्पिरिट मन्त्रीहरुमा देखिएन’

Agni Sapkota
लाेकपाटी न्यूज

काठमाडौं, २ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री अग्नि सापकोटाले वर्तमान सरकारले निन्तरतामा क्रमभंगता गर्न नसकेको गुनासो पोखेका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘यो सरकार निरन्तरताको लागि मात्रै होइन । प्रधानमन्त्री केपी शर्मा ओली सफल प्रधानमन्त्री हो । तर, उहाँको टिममा रहेका मन्त्रिहरुबीच टिम–स्पिरिट देखिएन ।’

उनले सरकारले जनताका चाहना र आकांक्षा पूरा गर्नेगरि काम गर्न नसकेको स्वीकार गरे । उनले भने ,‘अब जनताका चाहनाअनुसार काम गर्नुपर्छ । काममा ब्रेक–थु हुनुपर्छ ।’

सापकोटाले पार्टीका केही शीर्ष नेताहरु विदेश भ्रमणमा रहेको र प्रधानमन्त्री ओली पनि अस्वस्थ भएकोले सचिवालय र स्थायी समिति बैठकहरु बस्न नसकेको सुनाए । उनले थपे, ‘अब बस्ने सचिवालय बैठकमा सरकारको बारेमा पनि समिक्षा हुन्छ । पार्टी एकताको काम प्रगतितर्फ उन्मुख छ । लगभग ८० प्रतिशत काम सकिएको छ ।’

वर्तमान सरकार इतिहासकै शक्तिशाली सरकार भएकाले निरन्तरतामा क्रमभंगता हुनुपर्दथ्यो भन्ने आफूहरुको चाहना रहेको पनि सापकोटाले सुनाए । ‘तरपनि यो सरकार विगतकैजस्तो निरन्तरताको लागि भयो’ उनले भने, ‘जनताले त सुशासन, भ्रष्टाचारलाई कारबाही गर्ने कुरामा क्रमभंगता खोजेका थिए । तर, जनताले चाहेजस्तो सरकारले ब्रेक–थ्रु गर्न सकेन ।’