अन्तर्राष्ट्रिय रोल्पा सेवा समाजद्वारा पीडित मजदुरको उद्धार

Pyarelal Nepali
लाेकपाटी न्यूज

क्वालालम्पुर, २ मंसिर । मलेसियामा अलपत्र परेका एक नेपाली मजदुरको अन्तर्राष्ट्रिय रोल्पा सेवा समाज मलेसियाले उद्धार गरेको छ ।

स्वास्थ्यमा समस्या आएका कारण विगत तीन महिनादेखि मलेसियामा समस्या झेल्दै आएका रोल्पाको सुनिल स्मृति गाउँपालिका ५ मिझिङका प्यारेलाल नेपालीलाई समाजको पहलमा उद्धार गरिएको हो ।

करिब दुई वर्षअघि रोजगारीका लागि मलेसिया आएका नेपाली कम्पनीले सहमति अनुरुपको न्यूनतम तलब सुविधा उपलब्ध नगराएपछि कम्पनी छाडेर अवैधानिक रुपमा काम गर्दै आएका थिए। पीडित नेपालीको स्वास्थ्य (पेट)मा अचानक समस्या देखिएपछि यहाँको स्थानीय अस्पतालका चिकित्सकले शल्यक्रिया गर्न सुझाउँदा उनी थप समस्यामा परेका थिए । तीन महिनाअघि उनी जेनतेन शल्यक्रिया गर्न सफल भए । यद्यपी मलेसियामै रहेर काम गर्न स्वास्थ्यले साथ नदिने निचोडमा पुगेका नेपालीसँग घर फिर्ताका लागि चाहिने आवश्यक रकम एवं कागजातको समस्या तगारो बनेर उभिदियो । पीडित नेपाली समस्यामा परेको सूचना पाउना साथ अन्तर्राष्ट्रिय रोल्पा सेवा समाज मलेसियाले उद्धारका लागि पहल गरेको समाजका अध्यक्ष राजकुमार बुढामगरले जानकारी दिए ।

पीडित नेपालीको उपचार खर्च जुटाउन वा घर फर्किन सक्ने अवस्था नभएपछि अन्तर्राष्ट्रिय रोल्पा सेवा समाज मलेसियाले उपचार खर्च एवं घर फर्किनको लागि आवश्यक पर्ने कागजातसहित सबै व्यवस्था गरी नेपाल फर्किनको लागि आइतबार. विदाइ गरिएको समाजका महासचिव रामप्रसाद पुनले जानकारी दिए ।