प्रकाश दाहालको सगरमाथा गाथा

sagarmatha
लाेकपाटी न्यूज

मेरो जन्म चितवनमा भित्री मधेसमा भयो। दूधे बालक हुँदै एकपटक आमासँग कास्कीको पुरानो घर र मामाघर गएको थिएँ रे, त्योबाहेक म बीस वर्षको हुँदासम्म हिमाल त परको कुरा, कहिल्यै पहाड पनि चढेको थिइनँ। २०५८ सालमा जनमुक्ति सेनाको प्रथम भेलामा जाँदा मध्यपश्चिमका पहाड छिचोल्नुप-यो। सगरमाथा आरोहणको तयारीअघि मैले आरोहण गरेका सर्वोच्च शिखर २५ सय, तीन हजार मिटरसम्मका तिनै डाँडाकाँडा थिए।

आप्पा शेर्पा २१ औँपटक सगरमाथा चढेर आएपछि उहाँको सम्मानमा कार्यक्रम राखिएको थियो । बुबासँगै म पनि त्यो कार्यक्रममा गएँ । माओवादी केन्द्रीय सदस्य कृष्ण केसी र जनमुक्ति सेनाका शरदले सगरमाथा आरोहण गर्ने प्रस्ताव ल्याउनुभयो । उहाँहरूले अलिअघि नै त्यो मनस्थिति बनाउनुभएको रहेछ । प्रस्ताव सुनेपछि मैले पनि एकैचोटि ‘हुन्छ’ भनिदिएँ । नसकिएला, अप्ठेरो होला, दुर्घटनामा परिएला, मरिएला भन्ने नलागेको होइन । तर, जिन्दगी भनेकै जोखिम त हो । ‘युद्ध लडेर आएको मान्छे, के सगरमाथासँग डराउनु’ भन्ने लाग्यो ।

वास्तवमा आरोहणको घोषणा गर्दासम्म मलाई सगरमाथाबारे अत्यन्त थोरै जानकारी थियो । सामान्य नेपालीजस्तै म पनि सगरमाथाप्रति गर्व गर्थें । सर्वोच्च शिखर हो र यसको आरोहण सजिलो छैन भन्ने थाहा थियो । आरोहणको त ‘कखग’ पनि थाहा थिएन ।

सुरुमा धेरैले पत्याएनन्

मैले घोषणा गर्दा बुबासँगै हुनुहुन्थ्यो । तर, मैले न उहाँलगायत परिवारका कसैसँग न अरू साथीभाइसँग सल्लाह गरेको थिएँ । कहिल्यै हिमाल नटेकेको म । एकैचोटि सगरमाथा आरोहणको घोषणा भयो । ‘घोषणा त गरिस्, तर चढ्न सक्छस् ?’ बुबाले यत्ति सोध्नुभयो । मैले ‘सक्छु’ भनेँ । ममीलाई त यिनीहरू चढ्छन् भन्ने पत्यारै लागेको थिएन । ‘हावामा गरिएको घोषणा’ भन्ने ठानेर होला, उहाँले केही पनि भन्नुभएन ।

सुरुमा हामीलाई कसैले गम्भीरतापूर्वक लिएनन् । हाम्रै साथीभाइले पनि ‘केटाहरू चढ्नेओर्ने होइनन्, गफै मात्र गरेका हुन्’ भन्ने ठाने । तर, जब हामी ट्रेनिङमा गयौँ, बल्ल मान्छेहरूले ‘चढी पो हाल्छन् कि’ भन्न थाले । ममीले पनि सोध्नुभयो, ‘तँ साँच्चिकै चढ्ने होस् र ?’ मैले ‘हो’ भनेपछि उहाँले पनि ‘नचढ्’ भन्नुभएन । श्रीमतीले पनि आँटिसकेपछि पूरा गर्नुपर्छ भनेर हौस्याइन् ।

मैले पनि घोषणाचाहिँ सोचविचार नै नगरी गरेको थिएँ । तर, घोषणा गरिसकेपछि भने जसरी पनि चढ्छु, अरू साथी गएनन् भने पनि म जान्छु भनेर सङ्कल्प गरेको थिएँ । मैले आफैँलाई पटकपटक सोधेँ, ‘हजारौँले टेकेको सगरमाथाको शिरलाई मैले टेक्न नसक्ने के छ ?’

जब तालिम सुरु भयो

साउनतिर पहिलो ट्रेनिङ नागार्जुनको ‘रक क्लाइम्बिङ’मा भयो । सात दिन लामो त्यही ट्रेनिङमा मैले हार्नेस, झुमर, रक डोरी, फिगर अफ एटजस्ता शब्द पहिलोपटक सुनेँ र आरोहणका सामान पहिलोपटक छोएँ । सगरमाथा आरोही शेर्पा दाइहरू ‘ट्रेनर’ हुनुहुन्थ्यो । सगरमाथाबारे विषयगत जानकारी पनि पहिलोपटक त्यहीँ पाएँ ।

फागुनमा दोस्रो ट्रेनिङ भयो । यसपटकको ट्रेनिङ हिउँमा थियो र ठाउँ थियो, रसुवाको लाङटाङ । त्यहाँ हिउँमा कसरी हिँड्ने, कसरी उक्लिने भन्ने ट्रेनिङ लिइयो । १५ दिनको ट्रेनिङ सकेर हामीले ५८०० सय मिटरको ‘यला पिक’ पनि सफलतापूर्वक आरोहण ग-यौँ ।

पैसाको दुःख

काठमाडौं फर्केपछि भने सबै समय व्यवस्थापकीय तयारीमा बित्न लाग्यो । पैसा छैन, लजिस्टक छैन । हामीले सुन्यौँ, योभन्दा पहिलाको सरकारले पनि केही आरोहीलाई सहयोग गरेको थियो । त्यसैले हामीले पनि प्रधानमन्त्रीलाई आर्थिक सहयोगको आग्रह ग-यौँ । हामी व्यावसायिक आरोही पनि त होइनौँ । सरकारले दुई करोड दिने घोषणा ग¥यो । तर, त्यसको नियोजित विरोध भयो । विशेषगरि मलाई निशाना बनाइयो । बुबालाई हान्न मलाई प्रयोग गरेको देखेपछि दिक्दार लागेर हामीले सरकारको सहयोग फिर्ता गर्ने र मिलेसम्म त्यसलाई दुर्गमका विपन्न जनताका लागि खर्च गर्न अनुरोध गर्ने घोषणा ग-यौँ ।

सरकारको रकम नलिएपछि फेरि आर्थिक समस्या आयो । समय आइसकेको छ, तर पैसा छैन । पैसाकै कारण आरोहण गर्न नसकिने अवस्था आयो । तर, त्यतिखेर प्रवासमा भएका हाम्रा साथीले ‘पैसा हामी जुटाउँछौँ’ भनेर हौस्याउनुभयो । पार्टीका ती सहृदयी साथीप्रति म अत्यन्त आभारी छु । नेपाली उद्योगपति र संघसंस्थाले पनि सहयोग गर्नुभयो । हाम्रा संगठनले पनि सघाए । जनमुक्ति सेनाले आफ्ना दुईजना साथीका लागि अलिकति सघायो । यसरी आर्थिक अप्ठेरोमा पारेर हामीलाई सगरमाथा चढ्न नदिने षड्यन्त्र असफल भयो ।

शिखरतिरको पहिलो यात्रा

मैले सगरमाथालाई प्रत्यक्ष देखेको माउन्टेन फ्लाइटमा हो । एकपटक आरोहणको घोषणा गर्नुअघि, दुईपटक गरिसकेपछि । दोस्रो फ्लाइटमा बुबा हुनुहुन्थ्यो, तत्कालीन पर्यटनमन्त्री लोकेन्द्र विष्ट र नेता प्रभाकर पनि हुनुहुन्थ्यो । अघिल्लोपटक मैले सगरमाथालाई दर्शकका सामान्य आँखाले हेरेको थिएँ, यसपटक आरोहीका आँखाले । ओहो ! ठाडै पो देखिँदो रहेछ, सगरमाथा । बुबाले भन्नुभयो, ‘धेरै अप्ठेरो छजस्तो पो छ, तैँले सक्लास् र !’ मैले भनेँ, ‘यहाँबाट मात्रै त्यस्तो देखिएको होला । त्यहाँ त त्यस्तो नहोला नि ।’ ठाडो सगरमाथा देखेर पनि बुबाले मलाई हौसला दिनुभयो, ‘कि नआँट्नु, अब आँट गरिसकेपछि सफल हुनेगरी चढ्नुपर्छ ।’

आखिर आरोहणका लागि प्रस्थानको दिन आयो । २२ चैत, ०६८ मा हामी बिहान ६ बजेतिर बुबाममीका हातबाट टीका र अबिरमाला लगाएर र ‘देश र पार्टीका लागि पनि चढेर आउन’ आदेशसहित काठमाडौंबाट बिदा भयौँ र सीता एयरलाइन्सबाट लुक्ला गयौँ । म यसअघि कहिल्यै लुक्ला गएको थिइनँ । त्यहाँ पुगेपछि मैले सबैभन्दा पहिले सगरमाथा खोजेँ । तर, लुक्लाबाट सगरमाथा देखिँदो रहेनछ । खाना खाएर हामी लगातार ६÷७ घन्टा हिँडेर फाग्दिङ भन्ने ठाउँमा पुग्यौँ । हामी १२ जना थियौँ, १० टोली सदस्य र दुई शेर्पा साथी ।

तेस्रो दिन नाम्चे पुगियो । सगरमाथा त्यहाँबाट पनि देखिएन । नाम्चेमा एकरात बसेर तेम्बोचे पुग्यौँ । बल्ल त्यहाँबाट सगरमाथा देखियो । जमिनबाट मैले पहिलोचोटी सगरमाथालाई धीत नमरुन्जेल हेरेँ । त्यहाँबाट पनि डरलाग्दो नै देखिँदो रहेछ । तर, प्लेनबाट हेर्दाजस्तो चाहिँ होइन ।
हाम्रो यो यात्रा सगरमाथा बेसक्याम्पका लागि थिएन । त्योभन्दा पहिला एउटा ‘आइल्यान्ड पिक’ चढ्नुपर्ने रहेछ । हामी फेरि हिँड्यौँ र त्यसको ‘बेसक्याम्प’मा पुग्याँै । ‘आइल्यान्ड पिक’को बेसक्याम्पमा लगभग दुई–तीन सय पाल थिए । केही आरोही यत्ति मात्रै चढ्न आउने पनि हुँदा रहेछन् ।

त्यहाँ दुई दिन बसेपछि हामीले ६२०० मिटरको आइल्यान्ड पिकको सफल आरोहण ग-यौँ । बिहान तीन बजे हिँडेका हामी ७ बजे शिखरमा पुगेका थियौँ । संयोगवश त्यहाँ चुचुरोमा मोबाइलको नेटवर्कले काम गर्दो रहेछ । नयाँ वर्ष थियो, त्यो दिन । मैले त्यहाँबाट बुबालाई फोन गरेँ । आजसम्मको सबैभन्दा अग्लो ठाउँको आरोहण मेरा लागि त्यही नै थियो । बुबाले सबै टोलीलाई नयाँ वर्ष र आरोहण दुवैको शुभकामना दिनुभयो र हामी उत्साहका साथ ओर्लियौँ । एकरात त्यहाँ बसेपछि वैशाख तीन गते सगरमाथा बेसक्याम्पतिर लाग्यौँ ।

सगरमाथा बेसक्याम्पमा

सगरमाथा बेसक्याम्पमा लगभग तीन हजार पाल थिए । त्यो त पालैपालो सानो सहरजस्तै देखिन्थ्यो । ८२ हजार डलरसम्म खर्च गरेर आउने विदेशी पनि त्यहाँ थिए र जीविकाका लागि हिमालमा मृत्युसँग पाँैठाजोरी खेल्ने शेर्पा पनि । युरोपेली, अफ्रिकी, अमेरिकी सबै महादेशवासी त्यहीँ भेटिन्थे ।

हाम्रो टेन्टमा कम्युनिस्ट झण्डा थियो । त्यो झण्डा देखेर हामीसँग कुरा गर्न आउने धेरै भए । प्रचण्डको छोरा भनेर मलाई हेर्न र भेट्न आउने पनि थुप्रै थिए । शेर्पा दाइहरूलाई पहिला मसँग एक खालको त्रास रहेछ । कस्तो होला, के भन्ने होला भन्ने लागेको रहेछ । किचनमा हुने शेर्पा दाइहरूले पछि भन्नुभयो, ‘तपाईं त हामीभन्दा पनि सिम्पल हुनुहुँदो रहेछ ।’

आरोहणबारे थुप्रै स्थानीय अन्धविश्वास रहेछन् । राति कुनै युवतीको सपना देखियो र अझ उनका हातबाट दही पिएको वा तिनले पानी दिएको देखियो भने आरोहण सफल हुन्छ भन्थे, शेर्पा दाइहरू । कालो भैँसी, कालो कपडा र कालो सर्प सपनामा आए नराम्रो मानिँदो रहेछ । मैले न ‘राम्रो’ सपना देखेँ, न ‘नराम्रो’ । अरू साथीले पनि ‘कुनै देखेनौँ’ भन्थे ।

चार–पाँच दिनपछि हामी ‘क्याम्प–वान’का लागि हिँड्यौँ । त्यहाँ एक रात बिताएर फेरि बेसक्याम्पमा झ¥यौँ । त्यो एउटा प्रोसेसअन्तर्गत भएकाले चार–पाँच दिन फेरि ‘क्याम्प–टुु’का लागि गयौँ । त्यहाँ दुई रात बिताएपछि ‘क्याम्प–थ्री’का लागि हिँड्यौँ । त्यहाँ पुग्याँै र फेरि ‘क्याम्प–टुु’मा फर्कियौँ । त्यहाँ एक रात बिताएर फेरि बेसक्याम्पमा झ-यौँ । अल्टिच्युड पचाउने अभ्यास रहेछ यो । बेसक्याम्पमा हरियाली र अक्सिजन दुवैको कमी थियो । त्यसका लागि हामी फेरि नाम्चे आयाँै । त्यहाँ ५-६ दिन बसेर फेरि बेसक्याम्पतिर लाग्यौँ ।

आरोहणका अन्तिम दिनहरू

अब सबै तयारी पूरा भएर आरोहणको अन्तिम समय आएको थियो । दिमागमा आरोहणबाहेक केही थिएन । तर, न शिखरसम्म बाटो खुलिसकेको थियो, न मौसम नै राम्रो थियो । त्यतिखेर आरोहण गर्नेमध्ये केही घाइते भएका थिए भने दुई/तीनजनाको त मृत्यु नै भयो । केही टोली त अब अर्को सिजनमा चढौँला भनेर फर्किसकेका थिए । हामीलाई पनि लाग्यो, ‘कतै प्रकृतिले हाम्रो सङ्कल्पलाई डगाउने त होइन ?’

सुरुमा हामी १९ तारिखमा चढ्ने कुरा थियो । एजेन्सीका साथीले ‘मौसम खराब छ’ भनेपछि २५ तारिखमा स-यो । तर, २० तारिखमै फेरि खबर आयो, २५ मा पनि मौसम खराब हुन्छ, धेरै हावा चल्न सक्छ । फेरि २६ मा स-यो ।

हामीलाई थाहा भयो, २९ तारिखमा भ-याङहरू निकालिँदै छन् । हाम्रो ‘डेट’ फेरि स-यो भने हामी सगरमाथा चढ्न नसक्ने निश्चित थियो । त्यसैले हामी एकदमै चिन्तित भयौँ । २१ तारिखमा अचानक एसियन ट्रेकिङका साथीले ‘आज मौसम राम्रो छ’ भनेपछि ‘क्याम्प–टु’तिर लाग्यौँ । त्यहाँ एकदिन आराम गराइयो । अर्को दिन पनि त्यहीँ बस्यौँ । यहाँसम्म दालभात, तरकारी र मासुको पनि व्यवस्था थियो ।

तेस्रो दिन ‘क्याम्प–थ्री’मा पुग्यौँ । त्यतिखेर साँझ पर्न लागेको थियो । त्यो ७२०० मिटरको उचाइमा रहेछ । चाउचाउको सुप खाएर र अक्सिजन लगाएर सुत्यौँ । अक्सिजन मास्क लगाएको यो मेरो पहिलो अनुभव थियो । एकातिर पेट खाली छ, त्यसमाथि मास्क । आरोहणको खुलदुली त छँदै छ । कत्ति निद्रा लागेन ।

भोलिपल्ट बिहान चार बजे नै ‘क्याम्प–फो’का लागि हिँड्यौँ । बाटो ठाडै छ । क्याम्पन लगाएर रक र ठाडो हिउँ चढ्दै लगभग नौ घण्टापछि दिउँसो दुई बजेतिर ‘क्याम्प–फो’मा पुगियो । बहिनी इशु भट्ट भने अलि ढिलो मात्र आइपुगिन् ।

त्यही दिन अर्थात् २५ तारिखकै राति आठ बजेतिर हामी शिखर आरोहणका लागि हिँड्यौँ । दुई–तीन दिनदेखिको खाली पेट छ, खाना कत्ति नरुच्ने रहेछ । मानसिक तनाव छँदै छ । शेर्पा साथीहरूले भन्नुभयो, ‘दुई÷तीन घण्टा आराम गरौँ ।’ ढिलो भएकाले इशु बहिनीलाई त्यहीँ छाड्नुपर्ने भयो । उनलाई आजै लैजाँदा शेर्पा पनि मर्ने र बहिनी पनि मर्ने डर देखाए, पथप्रदर्शकहरूले । बहिनी भावुक हुँदै त्यहीँ बस्नुभयो ।

त्यो निणार्यक दिन

२५ तारिखको बेलुका आठ बजे चाउचाउ खाएर सगरमाथा चुचुरोका लागि प्रस्थान ग-यौँ । युवराज दुलाल ‘शरद’ चाहिँ हामीभन्दा एक घण्टाअघि नै त्यहाँबाट हिँडिसक्नुभएको थियो । आठजना एकसाथ थियौँ ।

‘क्याम्प–फो’भन्दा अलिकति तल मैले लास घिसार्दै गरेको देखेँ । कोरियालीको रहेछ । साह्रै दिक्दार लाग्यो । पछि त १५/२० मिटरकै दूरीमा पनि पाँच/सातवटा लास देखिए । तीे कोही त्यही सिजनका रहेछन्, कोही वर्षौं पूराना पनि । लास झार्न ५०/६० लाखसम्म लाग्दो रहेछ । पैसाकै कारण पनि लास नल्याउँदा रहेछन् । लासको किनारैकिनार हिँड्दा, आफू पनि यस्तै भइने हो कि भन्ने डर लाग्दो रहेछ । हुन पनि ९० डिग्रीसम्मका उकाला थिए, डोरीमा झुण्डिएर पार गर्नुपर्ने ।

मसँग हुनुभएका आङकाजी शेर्पाको स्वास्थ्य अलि तल नै खराब भइदियो । मेरो अतिरिक्त अक्सिजन उहाँसँगै थियो । म एक्लै हिँड्नेमा परेँ । आङकाजीले बान्ता गर्न थाल्नुभयो । ‘तपाईं अगाडि बढ्दै गर्नुस्, म बिस्तारै आउँछु’ भन्नुभयो । सबै एउटै डोरीमा झुण्डिएर जाने हुनाले बाटो बिराउने त कुरै भएन । चार घण्टापछि बालकोनी भन्ने ठाउँ आउँदो रहेछ । हामी चार/पाँचजना साथी त्यहाँ भेट भयाँै । अरू साथी अगाडि गइसक्नुभएको रहेछ । म शेर्पा दाई बिरामी भएर ढिलो भएँ ।

त्यहाँ पानी पियाँै । हाम्रो सरदारको अक्सिजन मास्क फुट्यो र उहाँ जान नसक्ने अवस्था आयो । हामी भने अघि बढ्यौँ । त्यहाँबाट सायद तीन घण्टा जतिपछि साउथ समिटको तल पुग्यौँ । त्यहाँ पुगिसकेपछि हाम्रो आरोहण दलका एक सदस्य, शिव सापकोटाको पनि अक्सिजन मास्क फुटेर जान नसक्ने हुनुभयो । ८६०० मिटरबाट फर्कनुपर्दा उहाँ दुःखी हुनुहुन्थ्यो । तर, के गर्ने ! उहाँले ‘म र्फकन्छु’ भन्नुभयो । ज्यान बचे अर्कोपटक पनि त चढ्न सकियो ।

हामी अगाडि बढ्याँै । ताराहरू जमिनतिर हेर्नुपर्ने । बादल पनि तल । हिमालहरू तल । हिँड्दै जाँदा स्वर्गमै छु किजस्तो लाग्ने । हामी हिलारी स्टेपमा पुग्यौँ । बल्ल आङकाजी भेट हुनुभयो । त्यो खास एउटा ढुङ्गो रहेछ, लगभग त्रिभुज आकारको । त्यहाँ जाममा फसियो ।

शेर्पा दाइहरूले धेरै बेर बस्यो भने हिउँले हातखुट्टा खान्छ भन्नुभएको थियो । त्यसो होला कि भन्ने डर पनि लाग्यो । जाममा परेपछि हातखुट्टा चलाइराख्नुपर्ने रहेछ । बल्लतल्ल डेढ घन्टापछि हिलारी स्टेप पार ग-याँै ।

अलिअघि शरदजीसँग भेट भयो । आरोहण गरेर फर्कनुभएका उहाँ एकदमै खुसी हुनुहुन्थ्यो । चुचुरो एकदमै नजिक देखिइरहेको थियो । मैले ‘अब कति समयमा पुगिएला’ भनेर सोधेँ । शरदले भन्नुभयो, ‘जाम नभए आधा नत्र एक घण्टा ।’ मैले भनेँ, ‘केही हात पर मात्रै छ त । त्यत्रो लाग्छ ?’ तर, होइन रहेछ । शिखर अलि उता रहेछ । जाम पार गरेर अघि बढ्यौँ । ५० मिनेटपछि शिखरमा पुगियो । मैले कम्युनिस्ट झण्डा, राष्ट्रिय झन्डा र बुबाममीको फोटो लगेको थिएँ । म खुसीले चिच्याएँ । शिखरमा ५०/६० जना अट्ने ठाउँ रहेछ, डोरी लगाएर अड्कने ।

म सगरमाथाको शिखरमा थिएँ । मैले सगरमाथालाई जितेको थिएँ । त्यतिखेर मलाई त्यसभन्दा बढी केही चाहिएको थिएन ।

(२०६९ असार, प्रकाश दाहालसँग सम्वादमा आधारित)