‘प्रकाश आफू बलिबेदीमा चढे तर अध्यक्षको रक्षा गरे’ : गृहमन्त्री बादल

Ram Bahadur Thapa
लाेकपाटी न्यूज

काठमाडौं, ३ मंसिर । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रकाश दाहालले आफूमाथि आइपरेका प्रहारहरु खपेर भए पनि अध्यक्षको रक्षा गरेको स्मरण गरेका छन् ।

प्रकाश दाहालको स्मृतिमा सोमबार प्रकाशित पुस्तकमा बादलले लेखेका छन्, ‘जनयुद्ध डढेलोजस्तै तीब्र गतिमा देशव्यापी रुपमा फैलियो । क. प्रचण्डको सम्पूर्ण परिवार भूमिगत भयो । प्रकाशले भूमिगत अवस्थामै विभिन्न रुपमा आफ्नो अध्ययनलाई जारी राखे । पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनपश्चात् प्रकाशले औपचारिक रुपमा नै पार्टी अध्यक्षको अभिन्न छायाँ बनेर जीवनको अन्तिम क्षणसम्म क्रियाशील रहे । सदैव पार्टी अध्यक्षको रक्षाकवच बनेर प्रहारहरुको सामना गरे । आफूलाई बलिबेदीमा चढाए । तर, पार्टी अध्यक्षको जीवन रक्षा गरे ।’

बादलले प्रकाशसँग आफ्नो विशेष सम्बन्ध भएको लेखेका छन् । उनले लेखेका छन्, ‘प्रकाश र प्रचण्ड परिवारसँग मेरो विशेष सम्बन्ध बढ्दै गयो । मेरो थोत्रो साइकलमा चढेर घुम्न पाउँदा, बिस्कुट र मिठाइको एक टुक्रा प्राप्त गर्दा बालक प्रकाशको प्रफुलित अनुहार अझै मेरो मानसपटलमा ताजै छ ।’

पार्टी एकताले प्रकाश सबैभन्दा खुसी भएको बादलले उल्लेख गरेका छन् । प्रकाशित पुस्तकमा बादलले लेखेका छन्, ‘एकता वार्ताको व्यवस्थापन गर्दा उनको अनुहारमा उत्साह र खुशीको चमक सहजै देख्न सकिन्थ्यो । उनले भेटमा सधैं जोड दिएर मलाई भन्ने गर्थे, ‘काका, छिट्टै एकता गर्नुपर्यो ।’ कार्की पार्टी प्यालेसमा पार्टी एकताको घोषणा गर्दा मैले प्रकाशको अनुहार नियालिरहेको थिएँ, त्यो हर्षले प्रज्वलित भइरहेको थियो । उनको आँखाहरु खुशीले रसाइरहेका थिए, रमाएर नाँचिरहेका थिए ।’