अयोध्याबाट फर्किँदा छोरो जन्मिएको खबर पाएँ : प्रचण्ड

Prachanda_1
लाेकपाटी न्यूज

काठमाडौं, ३ मंसिर । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले आफू अयोध्या प्लेनबाट फर्कँदा छोरो जन्मिएको खबर पाएको बताएका छन् ।

प्रकाश दाहालको पहिलो स्मृति दिवसका दिन सार्वजनिक गरिएको पुस्तकमा प्रचण्डले लेखेका छन्, ‘२०३८ सालको जनमत संग्रहपछि म आफू पूर्ण रुपले भूमिगत र पूर्णकालीन रुपमा पार्टी काममा सक्रिय भइरहेको थिएँ । पार्टीको एक ऐतिहासिक केन्द्रीय बिस्तारित बैठकमा सहभागी हुन म पहिलोपटक भूमिगत रुपले नै भारतको अयोध्यामा गएको थिएँ । अयोध्या प्लेनमका रुपमा चर्चित त्यो बैठकबाट कार्यक्षेत्रमा फर्कने क्रममा मलाई साथीहरुले घरमा छोरा जन्मिएको समाचारसहित बधाई दिएपछि मात्र मैले त्यो खबर थाहा पाएको थिएँ ।’

प्रकाशको स्मृतिमा प्रकाशित संस्मरणमा प्रचण्डले लेखेका छन्, ‘देशको यही राजनीतिक परिवेश र परिवारको यही वातावरणमा २०३८ साल अषाढ १७ गते चितवन भीमसेन नगरपालिकामा प्रकाश दाहालको जन्म भएको हो । प्रकाशभन्दा अगाडि ज्ञानु, रेणु र गङ्गाका रुपमा तीन छोरीहरु ८, ५ र ३ वर्ष उमेरका मात्र थिए ।’

प्रचण्डले संस्मरणमा प्रकाशको बाल्यकाललाई धेरै भावुक रुपमा स्मरण गरेका छन् । प्रकाशको स्मृतिमा प्रकाशित पुस्तक आजै मात्र बिमोचन गरिएको छ ।