‘पढ्न नपाएकोमा प्रकाश मसँग गुनासो गर्थे’ : कृष्णबहादुर महरा

Krishna Bahadur Mahara
लाेकपाटी न्यूज

काठमाडौं, ३ मंसिर । सभामूख कृष्णबहादुर महराले प्रकाश दाहालले पछिसम्म पनि पढ्न नपाएकोमा आफूसँग गुनासो गर्ने गरेको उल्लेख गरेका छन् । सोमबार प्रकाश दाहालको स्मृतिमा प्रकाशित पुस्तकमा आफ्नो संस्मरण लेख्दै महराले उक्त कुरा उल्लेख गरेका हुन् ।

संस्मरणमा महराले लेखेका छन्, ‘नेताका छोराछोरी हुनुको दुःख सायदै आम मानिसले महसुस गर्लान् । वास्तवमा प्रकाशले नेताको सन्तान हुनुको दुःख नराम्रो गरी भोगेका छन् । स्कुल पढ्ने उमेरमा भूमिगत जीवन बिताउनु प¥यो । उनले औपचारिक शिक्षा लिन नपाएको बेला–बेलामा मसँग पनि दुखेसो पोख्थे ।’

संस्मरणमा महराले थपेका छन्, ‘२०४८ सालमा रोल्पाबाट चुनाव जितेर काठमाडौं आइसकेपछि प्रचण्डजी र हाम्रो दुवै परिवार सँगसँगै जस्तो बस्ने अवस्था आयो । विचारमा त हामी एक थियौं नै, दुवैको समान खालको पारिवारिक पृष्ठभूमि भएका कारणले धेरै व्यावहारिक पक्षहरु पनि मिल्ने नै भए । पारिवारिक हिसाबले हामी उस्तै–उस्तै अवस्थाबाट गुज्रिरहेका थियौं । हामी दुवैले पारिवारिक व्यवस्थापन गर्न सकेका थिएनौं, एक हिसाबले अस्तव्यस्त नै थियो । युद्धमा जाने विषयमा छलफल हुँदा जस्तो परिस्थिति आउँछ, त्यसरी नै अघि बढ्ने निष्कर्षमा पुग्थ्यौं हामी ।’

महराले प्रकाश आफूसँग निकै निकट रहेको पनि लेखेका छन् । उनले संस्मरणमा लेखेका छन्, ‘पारिवारिक रुपमा नजिक भएकाले प्रकाशसँग म असाध्यै निकट थिएँ । उनलाई म आफ्नै भतिजा÷छोरा जस्तै ठान्थें र प्रकाशले पनि मलाई काका भनेर सम्बोधन गर्थे । प्रकाशसँग उनको बाल्यकालदेखिकै सहृदयी र सुमधुर सम्बन्ध पछिल्लो समयसम्म, त्यो जनयुद्धको समय होस् वा शान्ति प्रक्रियाको समय र पछिल्लो सरकार सञ्चालनको कालसम्म निरन्तर कायम रह्यो । असाध्यै नजिकबाट एक अर्कालाई बुझ्ने, एक अर्काका भावनाहरु आदान प्रदान गर्ने रुपमा हाम्रो सम्बन्ध कायम थियो ।’