राष्ट्रिय परिचयपत्र वितरण शुरु

National ID Card02
लाेकपाटी न्यूज

फिदिम, ३ मंसिर । गृहमन्त्री रामबहादुर थापाले पाँचथरको फिदिम नगरपालिका–४ की १०१ वर्षीया भगवतीदेवी भण्डारीलाई नेपालमै पहिलो राष्ट्रिय परिचयपत्र प्रदान गरेर वितरण कार्यको शुभारम्भ गरेका छन् । सो अवसरमा गृहमन्त्री थापाले समेत वयोवृद्धा भण्डारीबाट राष्ट्रिय परिचयपत्र ग्रहण गरेका छन् ।

सो अवसरमा गृहमन्त्री रामबहादुर थापाले मुलुकमा सुशासन र स्थिरता कायम गर्न तथा समृद्ध राष्ट्र निर्माण गर्न राष्ट्रिय परिचयपत्र महत्वपूर्ण रहेको बताए । आधुनिक, वैज्ञानिक र भरपर्दो सूचना प्रणालीबाट मात्रै मुलुकका सम्पूर्ण विषय तथ्यमा भेटिने गृहमन्त्री थापाको भनाइ थियो ।

‘देशका समग्र सूचना एकीकृत नभएसम्म मुलुकलाई आवश्यक कुरा के हो भनेर बुझ्न समेत कठीन पर्दछ’ गृहमन्त्री थापाले भने, ‘तथ्याङ्ककै आधारमा मुलुकको विकास र समृद्धिको योजना तय गर्न सकियो भने मुलुकको विकास तीव्र गतिमा हुन सक्छ ।’

गृहमन्त्री थापाले जनताले विकास, सुशासन, समृद्धि र स्थायित्व चाहेकाले जनचाहना पूरा गर्न पनि राष्ट्रिय परिचयपत्रको ठूलो महत्व हुने उल्लेख गरे । उनले देशका सबै जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणको कार्य अघि बढाउन प्रक्रिया शुरु भइसकेको जानकारी दिए ।

राष्ट्रिय परिचयपत्रमा व्यक्तिको जन्मदेखि मृत्युसम्मका सबै विवरण, भूमि, शिक्षा, सरकारी सेवालगायत सबै सेवाको अभिलेख समावेश गरिएको छ । राष्ट्रिय परिचयपत्र वितरणका लागि वडास्तरसम्म इकाइ स्थापना हुने बताइएको छ ।