‘प्रचण्डजीको सचिवालय प्रकाशले नै धानेका थिए’ : शेरबहादुर देउवा

Sher Bahadur Deuwa
लाेकपाटी न्यूज

काठमाडौं, ३ मंसिर । पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाका अध्यक्ष प्रचण्डको सचिवालय प्रकाश दाहालले नै धानेको उल्लेख गरेका छन् ।

प्रकाश दाहालको स्मृतिमा प्रकाशित पुस्तकमा देउवाले लेखेका छन्, ‘मलाई लाग्छ, प्रचण्डजीको सचिवालय नै प्रकाशले धानेका थिए । उनी प्रायः सक्रिय देखिन्थे । बाल्यकालदेखि नै बुबा–आमासँगै राजनीतिमा होमिएका प्रकाशमा राजनीतिक चेतना बलियो थियो । राजनीतिका कठिन दिनदेखि बुबा प्रधानमन्त्री हुँदाका बालुवाटारका जिम्मेवारपूर्ण भुमिका प्रकाशसँगै थिए । भनिन्छ, एउटा व्यक्ति सफल हुन उसको परिवार, साथीसङ्गी र समाजको महत्वपूर्ण भूमिका हुन्छ । मलाई लाग्छ प्रचण्डजीको राजनीतिक जीवनमा पनि प्रकाशको पनि केही हिस्सा छ ।’

देउवाले प्रचण्डको सफलतापछि प्रकाशको महत्वपूर्ण हात रहेकोसमेत उल्लेख गरेका छन् । देउवाले लेखेका छन्, ‘राजनीतिकर्मीलाई उसको परिवार र सचिवालयको साथ निकै महत्वपूर्ण हुन्छ । जुन साथ प्रकाशले उनका पिता प्रचण्डजीलाई दिएका थिए भन्ने मलाई विश्वास छ । निकै सरल स्वभावका प्रकाशमा नेताहरुप्रति श्रद्धा पनि थियो । उनले हामीसँगको भेटमा त्यस्तो धारणा प्रकट गर्दथे । राजनीतिक चेत पनि उत्तिकै थियो ।’

देउवाले प्रकाशको निधनले प्रचण्ड र नेकपालाई अपुरणीय क्षति पुगेको उल्लेख गरेका छन् । ‘सायद प्रकाश भएको भए प्रचण्डजीको सचिवालय अझै बलियो हुने थियो र त्यसले प्रचण्डजीलाई नै निकै सहयोग पुग्थ्यो ।’ देउवाले लेखेका छन्, ‘तर, मानव जीवनको चक्र हामी कसैको वशमा हुँदैन । त्यसलाई हामीले नियन्त्रणमा राख्न सक्दैनौं ।’