‘हिलोमा फुलेको कोमल थियौ प्रकाश’

prakash and bina magar
अब त हाम्रो प्रेमको चिनो छोरा पनि ठूलो भयो, बुबा भन्न सक्छ । तिम्रो तस्वीर पहिचान गर्न सक्छ । हेर्छु, एकातिर राष्ट्रको लागि योगदान गर्नुपर्ने जिम्मेवारी छ । सँगसँगै छोराहरुलाई असल नागरिक बनाउने कर्तव्य पनि । तिम्रा यादहरुले पाइला बलियो टेक्न मद्दत गरिरहेका छन् ।
लाेकपाटी न्यूज

– बीना मगर, पत्नी/खानेपानी मन्त्री

साँच्चै दुखेको मनको पीडा कम गर्ने औषधि बन्थ्यो भने त्यो औषधिको व्यापार कति फस्टाउँथ्यो होला। सोच्छु, ‘जीवन भनेकै उतारचढाव र जोखिम नै जोखिमको अर्को नाम रहेछ। प्रकाश तिमीले हामीलाई छोडेर गएको पनि आज एक वर्ष बितिसकेछ। यो बीचमा छ वटा ऋतुहरु सकिए। सिङ्गो हिउँद र वर्षात्हरु बिते। १२ महिनाले पालो फेर्‍यो, मैले भने अझै मनलाई कन्भिन्स गर्नै सकेकी छैन तिमी यो संसारमा छैनौ भनेर। हाम्रो यादकर क्षणहरु, तिमीले बोलेका शब्दहरु, तिमी हिँडेका बाटोहरु, तिमीले कोरेका हरेक मार्ग चित्रहरु या भनौं तिमीले रचेको सिङ्गो संसार अनि हिँड्दाहिँड्दै आधी बाटोमै छुटेको अधुरो यात्रा र हिँड्न बाँकी लामो यात्रा सम्झिरहें । फेरि सम्झें तिमीले मलाई छोडेको गहन् जिम्मेवारी।

खोई कसरी खोलौं ती स्मृतिका पानाहरु ? आज तिमी गएको ठ्याक्कै एक वर्ष। मेरा भावनाहरु अलि बढी नै तरङ्गित भएका छन्। यादहरु पनि यति गाढा बनेर आएका छन् कि व्यक्त गर्ने कुनै शब्द नै छैन। प्रिय प्रकाश, तिमी यति छिटै जान्छौ भन्ने के थाहा यो दुनियाँलाई ? यदि थाहा पाउँथ्यो त तिमीले पनि माया, सद्भाव र प्रेरणाको अनुभूति जीवनमै गर्न पाउँथ्यौ होला ? तिमी गएको दिन हामी मात्रै रोएनौं, सिङ्गो देश रोयो । सारा नेपालीहरु रोए । तिमी सबैको मनमा बस्न सकेका रहेछौँ । सारा नेपालीले तिमीलाई माया गर्ने रहेछन् । यो कुरा सायदै तिमीले जीवनमा थाहा पाउने मौकै पाएनौ ।

अब त हाम्रो प्रेमको चिनो छोरा पनि ठूलो भयो, बुबा भन्न सक्छ । तिम्रो तस्वीर पहिचान गर्न सक्छ । हेर्छु, एकातिर राष्ट्रको लागि योगदान गर्नुपर्ने जिम्मेवारी छ । सँगसँगै छोराहरुलाई असल नागरिक बनाउने कर्तव्य पनि । तिम्रा यादहरुले पाइला बलियो टेक्न मद्दत गरिरहेका छन् ।

क्रान्ति नायकको छोरा तिमी, सबैले चिन्थे नै । स्वभाविक थियो मैले चिन्नु पनि । म राम्रैसँग चिन्थे तिमीलाई । हाम्रो औपचारिक भेटघाट र कुराकानी भने भएको थिएन । हाम्रो पहिलो भेट कहाँ भयो, त्यो मलाई ठ्याक्कै याद छैन । तर, मैले तिमीलाई सञ्चार माध्यममा खुब देख्थे, तिमी नेतृत्वको वरिपरि हुथ्यौ । खास अध्यक्ष कमरेडसँगै हुथ्यौ । हिरासतबाट छुटेपछि पार्टीले मेरो जिम्मेवारी विद्यार्थी मोर्चामै दियो । उपत्यकाको विद्यार्थी आन्दोलनसँग जोडिएपछि मेरो र तिम्रो व्यस्तता बराबरै थियो । देशमा चलेको राजनीतिक टकरावको वेग तिमीमा ठोकिन्थ्यो । सानैमा तिमीले आलोचनाका तिखा भालाहरु टाउकोमा थाप्यौ । के थाहा दुनियाँलाई तिमीभित्रको सरलता ! यो सरलतालाई मैले पनि बुझ्ने मौका पाएकी थिइनँ । लाग्थ्यो, ‘दुनियाँले भनेजस्तै साँच्चै बदमासीको प्रथम कोटीमा पर्ने केटा थियौ । तर, यथार्थ हल्लाभन्दा निक्कै फरक थियो ।

प्रकाश तिमी हिलोमा फुलेको कोमल थियौ । हिलोमा फुलेको सुन्दर कमलको फूललाई दुनियाले टिपेर हातमा खेलाउने चाहना राख्छन् । टिप्न नसकेपछि ढुङ्गाले हानेर धुजाधुजा पार्न खोज्छन्, तिमी थियौ त्यस्तै । नेतृत्वलाई सिध्याउन गरिएका लाखौ प्रयासहरु तिमीमा केन्द्रित हुन्थे । आम मान्छेजस्तै तिमी पनि सामान्य मान्छे त थियौ । कसैको छोरा, कसैको भाइ, कसैको साथी, कसैको प्रेमी । तिमीमा पनि मानवीय गुणहरु थिए । मानवीय कमजोरीहरु पनि थिए । इच्छा, आकाङ्क्षा र रहरहरु पनि थिए नै । यी सारा सम्बन्धहरुलाई तिमीले जसरी व्यवस्थापन गर्नुपर्ने हो, त्यसरी व्यवस्थापन गर्ने कौशल पुगेन होला । तर, तिमी मेरा लागि भने प्रिय थियौ । मेरा लागि मात्र होइन, परिवार, समाज, देशका लागिसमेत प्रिय थियौ । किनकि, तिमीमा सबैभन्दा ठूलो सद्गुण थियो सरलता, जनसम्पर्कलाई जीवन्त राख्ने चुस्त व्यवस्थापन, कुनै न कुनै माध्यमबाट आम जनतामा पुग्नसक्ने अद्भुत क्षमता ।

हामी राजनीतिक गर्ने मान्छे चौतर्फी हुनुपर्छ भन्ने मुख्य भावसहित लुम्बिनी सगरमाथा शान्ति अभियान सञ्चालन गर्ने सोंच बन्यो । त्यसको नेतृत्व कमरेड कृष्ण केसीले गर्नुभयो । तिमी सहकमाण्डर रहेछौ । अभियान टोलीको सदस्यहरुमध्ये म पनि एक थिएँ । यहिँदेखि मैले तिमीलाई नजिकबाट चिन्ने मौका पाएँ । चुनौतिपूर्ण यात्राको एक सहयात्री । स्वभाविक रुपमा भावनात्मक निकटता हुने नै भयो । यो तिमीसँग मात्र होइन, अभियान टोलीका दश जना सदस्य सबैमा आत्मीय र भावनात्मक एकता आवश्यक थियो । त्यसैमाथि पनि तिमी नेतृत्वका छोरा, साथै अभियान टोलिको सहकमाण्डर पनि । तिमीलाई सहयोग गर्नु हाम्रो कर्तव्य थियो । त्यसैले होला हामी अलि बढी तिमीमा केन्द्रित भयौं र निकट पनि । त्यसैले त त्यस्तो कठिन यात्रा सहज भयो ।

सफल सगरमाथा यात्रापछि आ–आफ्नो घर फर्कियौं । पर्यटन प्रवर्धन र दिगो विकासका लागि मुर्त योजनाको खाका कोर्दै थियौं । २६ मे २०१२ अर्थात् २०६८ जेठ १३ गते अभियान समापन गर्ने कार्यक्रम थियो । अभियानको समापन गर्न नपाउँदै परिस्थितिले अर्को मोड थियो । उताबाट फर्किएलगत्तै म पार्टी कामको सिलसिलामा कञ्चनपुर थिए । काठमाडौंमा हङ्गामा भएछ । तिम्रो र मेरो नाम जोडिएका समाचारहरु बनेछन् । त्यसले नेतृत्वलाई असर पर्ने हो कि भन्ने डर थियो । त्यसैले आफ्नो ठाउँबाट सकेसम्म खण्डन गर्ने कोशिस गरें । तर, मेरो केही लागेन । त्यसपछि त झन् तिम्रो र मेरो नाम जोडिएका समाचारको बाढी नै आयो । यति प्रचार नभएको भए सायद हामी प्रेमको बन्धनमा बाँधिने सम्भावना थिएन । हामी दुवैको बाटो फरक हुन्थ्यो । ‘जे हुन्छ राम्रैका लागि हुन्छ’ भन्थे, हो रहेछ ।

प्रचार हुनुअगाडि दुनियाँले भनेजस्तो, बुझेजस्तो र प्रचार गरेजस्तो हामीमा केही थिएन । तिमी र म मिल्ने साथी थियौं । यो कुरा तिमी र मलाई मात्र थाहा थियो । त्यति बेलासम्म हामी मात्र कमरेड थियौं । प्रेमी प्रेमिका भएकै थिएनौं । यो कुरा दुनियाँले अझै पत्याउँदैन होला । अब पत्याउनुपर्ने आवश्यकता पनि छैन । परिस्थितिले नै हामीलाई प्रेमी–प्रेमिका बनाइदियो । अप्रत्यक्ष रुपमा दुनियाँले नजिक बनाइदियो । प्रेमको अगाडि संसारले हार्छ । तिमीले र मैले हा-यौं कि जित्यौं, त्यसको उत्तर मसँग छैन । तर, हामी सँगै बाँच्ने निधो ग-यौं । हाम्रो नाम जोडेर प्रचार गर्ने सम्पूर्ण सञ्चार माध्यमलाई धन्यवाद दिँदै हामी दाम्पात्य जीवनमा गाँसियौं ।

बिगार्नका लागि होइन, बनाउनका लागि एक भयौं हामी । प्रेम र युद्धमा भएका सबै गल्ती क्षमायोग्य हुन्छन् भन्ने मान्यतासहित दुवैले गल्ली स्वीकार्ने र निरन्तर अघि बढ्ने निर्णय ग¥यौं । हामी पनि यही दुनियाँका छोराछोरी थियौं, यही समाजमा हुर्केका, बढेका । आम मान्छेमा जस्तै हामीमा पनि मानवीय सीमाहरु थिए । हामीले गल्ती गरेका थियौं एक अर्कालाई प्रेम गरेर । तर, तिमीलाई पाएर म औधि खुसी भएँ । अब तिमीलाई माया गर्ने, सकेसम्म खुसी र सुखी बनाउने सोंच बनाएँ । सँगै बाँच्ने, बाँकी जीवन सँगै बिताउने, आउने चुनौति मिलेरै सामना गर्ने र देश र जनताका पक्षमा निरन्तर लड्ने निधो ग-यौं ।

जीवन राम्रै चल्दै थियो । विवाहपछि हाम्रो जीवनमा सङ्घर्षको रुप फेरियो । अभाव, समस्या, दुःखलाई हामीले नजिकबाट नियाल्यौं । यता अध्यक्षको छोराले करोडौं रुपैयाँ उडायो बनेर प्रचार हुँदै थियो, उता तिमी र म गाँसको जोहो गर्न जागिर खोज्दै थियौं । शैक्षिक योग्यताको प्रमाणपत्र पनि नेपालमै छुटेको थियो । त्यसैकारण हामीले केही समय डिपार्टमेन्ट स्टोरमा काम ग-यौं । तलब कम र काम अत्यधिक भएपछि त्यहाँ छोडेर रिर्सोटमा काम गर्ने सोंच बनायौं । तर, त्यहाँ पनि नेपालीहरुको ‘आउ–जाउ’ बढी नै हुने रहेछ । त्यहाँ पनि काम गर्न अप्ठेरो लाग्यो । चाहेको भए नेतृत्वको नाम बेचेर मस्ती गर्न नसक्ने पनि होइन । तर, हामीले त्यसो गरेनौं । आफै काम गरेर बाँच्ने योजना बनायौं ।

प्रकाश, साच्चै त्यतिबेला तिमीलाई अझै नजिकबाट चिन्ने मौका पाएँ । तिमी नेतृत्वप्रति असाध्यै जिम्मेवार थियौ । तिमी कति आदर्श छोरा रहेछौ, एउटा योग्य पार्टी सदस्य रहेछौ । त्यो मैले राम्रै अनुभूति गरें । तिमी दिन प्रतिदिन मेरो आँखामा प्रेरणाको पुञ्ज बन्दै थियौ, तिम्रो व्यवहारले माया चुलिँदै थियो । अभावको बीचमा पनि हामी एक–अर्काप्रति असाध्यै खुसी थियौं । तिमीसँग जीवन बाँच्न पाउँदा मलाई संसारका सबै अभाव, दुःख र समस्या स्वीकार्य थिए । प्रेमको अर्को नाम रहेछ त्याग । मलाई पन्ध्र–सोह्र वर्षको राजनीतिक जीवन दाउमा राख्नमा पनि कुनै पछुतो थिएन, किनकि मैले तिमीलाई पाएकी थिएँ । परिवारसँग टाढा हुनुपर्दा दुःख त लाग्थ्यो । तर, तिम्रो एक झल्को मुस्कानले सबै दुःख भुल्थें ।

मलाई राजनीतिमा उर्जा पैदा गर्न तिमीले गरेका प्रयास आजभोलि खुब सम्झन्छु । ‘राजनीतिमा सक्रिय भएर देशका लागि योगदान गर्नुपर्छ’ तिम्रो मप्रतिको पहिलो चाहना र खवरदारी यही थियो । मैले राजनीतिमा सफल भएर बेथितिहरुको अत्न्य गरेको हेर्ने तिम्रो सपना थियो । तिम्रै चाहनाअनुसार हामी नेपाल फर्कियौं र राजनीतिक जीवनलाई निरन्तरता दियौं । शून्यताबाट राजनीति सुरु गर्ने सल्लाहबमोजिम म कञ्चनपुर लागें । म गृहजिल्लाकै माटोसँग लुकामारी गरें । यता तिमी गाई र बङ्गुर पाल्न चितवनतिर लाग्यौ । तिमी गाईगोठ र बङ्गुरका खोरहरुमा व्यस्त थियौ, म गृहजिल्लामा जनताका घरदैलोमा । तिमीले फोन गर्दा म दिदीबैनीहरुको समीप हुन्थें । मैले फोन गर्दा तिमीचाहिँ चोक्करको बोरा बोकेर बङ्गुर फार्ममा । काखमा दूधे बालक बोकेर जनताको सेवामा लाग्दा पनि मलाई कुनै दुखको अनुभूति हुँदैनथ्यो । सम्पूर्ण रुपले फेरिएको हाम्रो दिनचर्या धेरै समय यसरी नै चल्यो ।

संविधान सभाको पहिलो चुनावमा मैले व्यहोरेको असफलतामा पनि तिमीले हार नमानी अगाडि बढ्न सल्लाह दियौ । म फिल्डमा निरन्तर खटिरहें । तिमीले यताबाट उत्साह थपिराख्यौ । परिस्थिति विजयको सन्निकट थियो । चुनाव प्रचारको दौडधुपले तिम्रो स्वास्थ्य दिन प्रतिदिन नाजुक हुँदै गएछ । तिमीले आफूलाई सञ्चो नभएको विषय कहिल्यै भनेनौ । अकस्मात् यस्तो परिस्थिति आउला भन्ने मैले कल्पनासम्म गरिनँ । कल्पना गर्थें भने चुनाव प्रचार छोडेर तिम्रो हेरचाहमा आउँथें । अहिले सम्झन्छु, भक्कानो फुटेर आउँछ । अचानक तिमी गएपछि मात्र जानकारी पाएँ, ‘त्यो परिस्थिति सम्झदा मन बेचैन हुन्छ ।

मङ्सिर तीन गते तिमीले दुनियाँ छोड्यौ । बुबा, ममी, साना छोराहरु प्रसिद्ध र प्रणव एवं सम्पूर्ण आफन्त आज भावविह्वल छन् । आज परिस्थिति अर्कै छ, राष्ट्रले मलाई जिम्मेवारी थपेको छ । बाचा गर्छु, ‘बाँकी जीवन देश र जनताकै लागि समर्पण गर्नेछु । देशको राजनीतिक परिवर्तन, आर्थिक समृद्धि, सुशासन र स्थिरताका लागि तिमीले गरेको त्याग र योगदान सधैं स्मरण गर्नेछु । जस्तो परिस्थितिमा पनि परिवार, देश र जनताको हित भुल्ने छैन ।’ पलपल सम्झनाका साथ अलबिदा प्रिय प्रकाश ।

३ मङ्सिर, २०७५

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्