‘संविधानको सफल कार्यान्वयनका लागि काँग्रेस उभिनुपर्छ’ : निधि

Bimalendra Nidhi
लाेकपाटी न्यूज

कैलाली, ४ मंसिर । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाली काँग्रेसले पुनः लोकतान्त्रिक शासन प्रणालीको पक्षमा सशक्तरूपले उभिनुपर्ने आवश्यकता देखिएको बताएका छन् ।

नेपाल प्रेस युनियन कैलालीले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अहिलेको अवस्थामा काँग्रेसले सङ्घीय शासन प्रणाली, समावेशी शासन प्रणाली र संविधानको सफल कार्यान्वयनका लागि उभिनुपर्ने आवश्यकता रहेको बताए ।

उनले संविधानको प्रावधानअनुसार तीन तहको सम्पन्न निर्वाचनमा कम्युनिष्ट पार्टीले सङ्घीय संसद्, प्रदेश र स्थानीय तहमा बाहुल्यता प्राप्त गरेको तर काम गर्न नसकेको उल्लेख गरे । उपसभापति निधिले सङ्घीय, समावेशी र स्थानीय तहको संरचनाको सफल कार्यान्वयन र पूर्णता प्रदान गर्ने काममा सरकारले कुनै चासो नदिएको आरोप लगाए ।

उपसभापति निधिले प्रदेश नं २ बाहेक ६ वटै प्रदेशमा कम्युनिष्ट पार्टीको बाहुल्यता रहेको उल्लेख गर्दै भने, ‘प्रदेश सरकारलाई न त केन्द्रीय सरकारले अधिकार दिएको छ न त प्रदेश सरकार नै अधिकार लिनका लागि सक्रियरूपमा अगाडि बढेका छन् ।’