‘सरकारले न्यायालय र सुरक्षा निकायमा हस्तक्षेप गर्नु हुँदैन’ : देउवा

Sher Bahadur Deuba
लाेकपाटी न्यूज

विराटनगर, ४ मंसिर । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधान सबैको भावना अनुरुप रहेको बताएका छन् ।

राजनीतिक प्रस्ताव मस्यौदा समितिद्वारा मंगलबार विराटनगरमा आयोजित काँग्रेस महासमितिको बैठक–२०७५ का लागि प्रस्तुत हुने राजनीतिक मस्यौदा सुझाव सङ्कलन कार्यक्रममा उनले यही संविधानको माध्यमबाट संवैधानिक लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाउँदै लैजाने सकिने बताए ।

जननायक बिपी कोइराला र गिरिजाप्रसाद कोइरालाको कर्मथलो विराटनगरमा काँग्रेसभित्र गुटउपगुट नरहने उद्घोष गर्दै सभापति देउवाले पार्टीलाई जीवन्त र गतिशील बनाउन अनुशासनको आवश्यकता रहेको औंल्याए ।

उनले निर्मला पन्तको हत्याकाण्डमा संलग्न दोषीलाई पक्राउ गर्न नसक्नुले सरकारको साख गिरेको बताए । सभापति देउवाले सरकारले स्वतन्त्र न्यायालय र सुरक्षा निकायमा हस्तक्षेप गर्न नहुने धारणा राखे । उनले पार्टीभित्रको कमजोरीलाई सुधार्दै अघि बढ्न पार्टीका जिम्मेवार पदाधिकारीलाई आग्रह गरे ।