सन् २०२० मा २० लाख पर्यटक भित्र्याउँछौं : सिईओ जोशी

CEO Joshi
लाेकपाटी न्यूज

काठमाडौं, ४ मंसिर । नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीले नेपाल भ्रमण वर्ष घोषणा गरिएको सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सरकारले  तिव्र रुपमा काम अगाडि बढाएको बताएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सिईओ जोशीले सन् २०१५ मा गएको शक्तिशाली भूकम्पपछि नेपालमा पर्यटकको संख्या बढाउन ‘भिजिट नेपाल –२०२०’ ले महत्वपूर्ण भूमिका खेल्ने विश्वास दिलाए ।

उनले पर्यटकहरू न्यून संख्यामा आउने मौसममा पनि उनीहरूलाई आकर्षित गर्ने योजना अघि सारिएको जनाए । उनले भने, ‘नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउनेगरी काम अघि बढाइसकेका छौं ।’

उनले २० लाख पर्यटक भित्र्याउने उद्देश्यसहित घोषणा भएको ‘नेपाल भ्रमण वर्ष’ लाई सफल बनाउनका लगि मन्त्रालयलगायत मातहतका निकाय सक्रियताका साथ काममा लागिपरेको स्पष्ट पारे । जोशीले भने, ‘पर्यटनको लागि चाहिने पूर्वाधारहरु निर्माणको लागि पनि हामीले सरोकारवाला निकायहरुसँग समन्वय गरेर काम अघि बढाएका छौं ।’

भूकम्प पहिले नेपालमा पर्यटकको संख्या प्रतिवर्ष दश लाख रहेकोमा पछिल्ला दुई वर्षभित्र नेपालले सोचेकोभन्दा बढि नै पर्यटक भित्राउन सफल भएको उनले दाबी गरे । जोशीले भने, ‘देशमा अहिले पूर्वाधार विकासको काम भैरहेकाले पर्यटक नेपालमा ल्याउन सहयोग पुग्नेछ ।’