ट्रायल दिन बिमल बेल्जियम जाने, लिगका बाँकी खेल नखेल्ने

Bimal Gharti Magar
लाेकपाटी न्यूज

काठमाडौं, ५ मंसिर । नेपाली युवा स्ट्राइकर बिमल घर्तीमगर ‘ट्रायल’का लागि बेल्जियम जाने भएपछि ‘ए’ डिभिजन लिगका बाँकी खेल नखेल्ने भएका छन् ।

यसै सिजनबाट च्यासल युथ क्लबबाट ‘ए’ डिभिजन लिगमा डेब्यू गरेका घर्तीले दुई खेलपछि नै क्लब छाड्न लागेका हुन् । क्लबले पनि बिमल बेल्जियम जाने भएपछि उनको सम्झौता फुकुवा गरेको मुख्य प्रशिक्षक राजुकाजी श्रेष्ठले जानकारी दिए । यसअघि पनि बिमलले बेल्जियमको आरएससी एण्डरलेच्टबाट पनि खेलेका थिए भने स्पेनको मार्वेला युनाइटेडमा ट्रायल दिएका थिए । जारी लिगका दुई खेल सकिँदासम्म बिमलले गोल गर्न भने सकेका छैनन् ।

यसै सिजन ‘ए’ डिभिजनमा उक्लिएको च्यासल युथ क्लबका लागि बिमलको अनुस्थितिले केही समस्या पर्ने देखिन्छ । लिगमा दोस्रो चरणको खेल सकिँदा एक हार, एक बराबरी र एक अङ्कसहित च्यासल लिगको नवौँ स्थानमा छ । पहिलो खेलमा मच्छिन्द्रसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा त्रिभुवन आर्मीसँग १–० ले पराजित भएको थियो ।

भारत, बेल्जियम र नेदरल्याण्डसमा समेत व्यवसायिक फुटबल खेलिसकेका बिमल ‘ए’ डिभिजन लिगमा यसै वर्षदेखि खेलेका हुन् । बिमललाई लिन अन्य क्लबहरूले प्रयास गरे पनि अन्तिममा च्यासल गएका थिए । चौध वर्षको उमेरमा बङ्गलादेशविरुद्ध मैत्रीपूर्ण खेलमार्फत राष्ट्रिय टोलीमा स्थान पाएपछि खेल्दै आएका बिमलले राष्ट्रिय टोलीका लागि नौ गोल गरिसकेका छन् । उनले यसअघि २०७१ सालको राष्ट्रिय लिगमा सुदूरपश्चिमबाट खेलेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्