एमसीसी अनुमोदन गर्ने नगर्ने नेपालको कुरा हो : चिनियाँ राजदूत

Chiniya_Hou
लाेकपाटी न्यूज

काठमाडौं। चिनियाँ राजदूत होउ यान्छीले अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बाट सहयोग लिने/नलिने विषयमा नेपालले आफै निर्णय लिनसक्‍ने बताएकी छिन्।अमेरिकासँगको यो सम्झौतालाई लिएर सत्तारुढ नेकपाको स्थायी समिति बैठकमा विवाद भइरहेका बेला चिनियाँ राजदूतले सो कुरा बताएकी हुन्।

चिनियाँ दूतावासमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा यान्छीले भनिन्, ‘नेपालले चीन वा अन्य कुनै एक मुलुकसँग मात्र होइन, हरेक मित्रसँग सहकार्य गरेर आफूलाई माथि लैजान सक्छ। त्यही क्रममा अमेरिकाको सहयोग पनि नेपालले लिनसक्छ। तर यो नेपालको आफ्नो हितमा हुनुपर्छ। यसमा नेपाल स्वतन्‍त्र छ। यो विषयलाई अन्यथा लिन मिल्दैन।’

उनले नेपालले अन्य मुलुकबाट पनि आर्थिक विकासका लागि सहयोग लिन सक्ने उल्लेख गर्दै एमसीसीलाई संसदबाट अनुमोदन गर्ने वा नगर्ने नेपालकै अधिकार भएको बताइन्। ‘नेपालले आफ्नो आवश्यकताअनुरुप सहयोग लिन मिल्छ, लिनसक्छ।’ उनले भनिन्, ‘नेपालले आफ्नो आर्थिक उन्नतिका लागि कुनै पनि देशसँग सहयोग लिन सक्छ। चीनसँग मात्र सहयोग लिनुपर्छ भन्ने छैन । कसैको दबाबमा भन्दा आफ्नो हित हेरेर अन्तराष्ट्रिय समुदायको सहयोग स्वीकार गर्नुपर्छ ।’

पत्रकार सम्मेलनमा उनले टु प्लस वान (चीन–भारत प्लस नेपाल) भनेको त्रिदेशीय नै रहेको र सबैको समान हैसियत हुने पनि बताइन्। पत्रकार सम्मेलनमा राजदुत होउले यो अवधारणा कसैलाई ‘डिक्टेट’ नगर्न भएको दाबी गरिन्। उनले यो अवधारणले चीन–भारत र चीन–अमेरिकाले अफगानिस्तानमा पनि अपनाएको बताइन्। उनले यो अवधारणाअनुसार सबै मुलुक समान भएको बताइन्।

नेपालमा केही समयअघि अपराधको आरोपमा समातिएका चिनियाँहरूबारे चीनले नेपाल सरकारलाई सुचना दिएको बताइन्। उनले गलत काम गर्ने चिनियाँ नागरिकलाई आफ्नो मुलुकले कतै पनि संरक्षण नगर्ने र राम्रो काम गर्नेलाई सधै संरक्षण गर्ने बताइन्।