‘द्वन्द्वपीडितको पीडा घटेको छ’ : प्रचण्ड

prachanda-2
लाेकपाटी न्यूज

चितवन, ५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्वन्द्वपीडितको पीडा घटेको बताएका छन् ।

बुधबार प्रेस चौतारी र प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले द्वन्द्वपीडितको अवस्था विगतको भन्दा राम्रो भएको बताए ।

विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पुग्दा पनि द्वन्द्वपीडितको अवस्था जस्ताको त्यस्तै रह्यो भन्ने प्रश्नमा उनले भने, ‘द्वन्द्व पीडितको पीडा उस्ताको उस्तै चाहिँ छैन । पहिलाको भन्दा त धेरै घटेको छ । तै पनि अहिले अब हामी राजनीतिक तह र कानूनी तहमा पनि गम्भीर रुपले गृहकार्य गरिराखेका छौँ ।’

शान्ति सम्झौताको हस्ताक्षरकर्ता समेत रहेका दाहालले थपे, ‘प्रधानमन्त्री कै चाहनाको कुरा गर्ने हो भने संयुक्त राष्ट्रसंघ, कोस्टारीकामा जस्तो मन्तव्य दिनुभएको छ त्यसले शान्ति प्रक्रियाका बाँकी काम र पीडितलाई परिपूरणका कुरा या सत्य निरुपण र बेपत्ताका विषय आउने जेठ असारसम्म पूरै टुङ्ग्याउने किसिमले काम भइरहेको छ ।’

भरतपुर विमानस्थल जोखिमपूर्ण छ, यसको विस्तारको काम के भइरहेको छ भन्ने पत्रकारको प्रश्नमा उनले विमानस्थलको विस्तारका लागि छलफल भइरहेको बताए । उनले भने, ‘भरतपुर विमानस्थल विस्तारको काम अहिले छलफलमा नै छ ।’