प्रधानमन्त्री र सभापति दुवै अलोकतान्त्रिक : प्रकाशमान सिंह

prakashman sinha
लाेकपाटी न्यूज

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार र पार्टी दुवैले पार्टीको अहमता देखिएको बताएका छन् । उनले सभापति देउवाले विधान बिपरीत पार्टी चलाएको आरोप लगाएका हुन् ।

नेता सिंहले भने, ‘विधि विधान मिच्ने अधिकार कसैलाई पनि छैन । कांग्रेसको विधानमा २ जना उपसभापति राख्ने व्यवस्था नै छैन ।’ सिंहले पार्टी सभापति स्वेच्छाचारी हुँदा सरकारको खवरदारीमा कांग्रेस कमजोर देखिएको बताए ।

नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पूर्व महामन्त्रीसमेत रहेका नेता सिंहले तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले जनताको चित्तबुझ्दो काम नगरेकै कारणले पार्टीले चुनावमा कांग्रेसले हार व्यहोर्नु परेको बताए । उनले भने, ‘बिपी, गणेशमान र कृष्णप्रसाद भट्टराईले सोचेअनुसार वर्तमान पार्टी नेतृत्व जान नसकेका कारण नै पार्टीले हार्नुपर्यो ।’

पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता सिंहले बर्तमान सरकार संघीयता संस्थागत गर्ने पक्षमा नरहेको आरोप लगाए । सरकारका गतिविधिले दुईतिहाइको सरकार हुँदा पनि संघीयतालई संस्थागत गर्ने पक्ष नदेखिएको उनको धारणा छ ।

‘सरकार सबै दृष्टिबाट फेल भइसक्यो, जनताले यो सरकारबाट धेरै आशा गरेका थिए’ उनले भने । संविधानमा उल्लेखित अधिकारहरु कानून बनाएर काम गर्नुपर्नेमा ९ महिना बितिसक्दा पनि कुनै विधेयक संसदमा पेश गर्न नसकेको उनको गुनासो छ ।

समृद्धिको नारा दिने सरकारसँग काम गर्न सक्ने क्षमता नभएको भन्दै उनले कुरा मात्र ठूला गर्ने र विकास बजेट ८ प्रतिशत पनि खर्च गर्न नसक्नेबाट धेरै आशा गर्न नहुने बताए । यातायातको सिण्डिकेट, सुनकाण्डजस्ता घटनाको संरक्षणमा सरकार नै लागेको आरोप छ ।