मेयर चिरीबाबू भन्छन् : ‘‘विकास सिक्न विदेश गइरहन्छु’’

chiribabu-maharjan-meyor
लाेकपाटी न्यूज

काठमाडौं, ५ मङ्सिर । चिरीबाबु महर्जन ललितपुर महानगरको मेयर बनेको करिव १६ महिना पुग्यो । उनले यो बीचमा महानगरका महत्वपूर्ण काम छाडेर विदेश भ्रमणमै ध्यान केन्द्रीत गरिरहेका छन् । महानगरका अनुसार सोमबार ६ दिने भ्रमणका लागि भियतनाम उडेका हुन् । उनको यो १० औ पटक विदेश भ्रमण हो ।

मेयर महर्जन मुलुकभरका स्थानीय तहका पदाधिकारीमध्ये सबैभन्दा बढी विदेश भ्रमणमा जाने सुचिमा छन् । यसअघि उनी जापान, कोरिया, श्रीलंका, थाइल्यान्ड, म्यान्मार, चीन पुगिसकेका छन् । नेपाली कांग्रेसका तर्फबाट निर्वाचित मेयर महर्जनले विदेश भ्रमणबाट विकासका धेरै मोडल सिकेको दावी गर्दै विदेश भ्रमण गइराख्नुपर्ने भनेर सार्वजनिक अभिव्यक्ति समेत दिँदै आएका छन् ।

महानगरले दसैंमा २४ वर्षपछि सञ्चालित दरवार क्षेत्रसँग सम्बन्धित लिच्छवीकालीन खड्ग जात्राबारेमा समीक्षा बैठक बस्न सकेको छैन । आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम समाबेश गरिएको बजेट पुस्तिका अझै प्रकाशन गर्न सकेको छैन । यसले वडास्तरीय बजेट के गर्ने भन्नेबारे अन्योल छ ।

यस्तो महत्वपूर्ण घडीमा बजेट पुस्तिका बनाउन छोडेर मेयर महर्जन विदेश भ्रमणमा निस्केका हुन् । ललितपुर महानगरकी उपमेयर गीता सत्यालले महर्जन विदेश गएको बारेमा जानकारी नभएको दाबी गरिन् । ‘दुई दिन बिदा लिनुभएको मात्र थाहा छ,’ उनले भनिन् ।

यसअघि पनि बजेट बनाउन छोडेर ९ नम्बर वडाध्यक्ष एंव प्रवक्ता राजु महर्जन, ५ का विकास श्रेष्ठ, कार्यपालिका सदस्य मीना महर्जन र वातावरण शाखा प्रमुख इन्जिनियर प्रदिप अमात्यलगायत ६ दिने भ्रमण गर्न असार ७ मा जापान गएका थिए । महानगरका अधिकारीका अनुसार महर्जनले विदेश भ्रमणमा जान स्वीकृति पनि लिएका छैनन् ।

विदेश भ्रमण सम्बन्धि निर्देशिका २०७५ अनुसार जिल्ला समन्वय समिति र महानगर प्रमुखको विदेश भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्छ । भने महानगरका उपप्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यको भ्रमण समान्य प्रशासन मन्त्रालयले स्वीकृत गर्नुपर्ने कानुनी प्रावधान छ । तर, मेयर महर्जनले मन्त्री परिषदबाट स्वीकृति लिएका छैनन् ।

महर्जनलाई झन्डै तीन महिनाअघि चीन भ्रमण जान खोज्दा सामान्य प्रशासन मन्त्रालयले समेत रोकेको थियो । त्यतिबेला संघीय मामिलामन्त्री लालबाबु पण्डितले मेयर महर्जनको विदेश भ्रमण मर्यादित नभएको भन्दै प्रस्ताव फिर्ता पठाएका थिए ।

निर्देशिका अनुसार विदेश भ्रमण गर्ने पदाधिकारीले भ्रमण सम्पन्न भएको मितिले १५ दिनभित्र भ्रमणको उपलब्धि, प्राप्त गरेको ज्ञान र सुझावसमेत उल्लेख गरी दुई प्रति लिखित प्रतिवेदन सम्बन्धित स्थानीय तहको कार्यालयमा बुझाउनुपर्नेछ । प्रतिवेदन नबुझाउने पदाधिकारीलाई पुनः विदेश भ्रमणका लागि मनोनयन नगरिने निर्देशिकामा उल्लेख छ । तर, मेयर महर्जन यसअघि भ्रमण गरेका कुनै पनि विवरण अझै बुझाएका छैनन् ।

महानगरका अधिकारीहरूका अनुसार यो विद्ययक, ऐन कानून बनाउने बेला हो । यति बेला जनप्रतिनिधिलाई निकै चुनौटि र कठिनाई छ । महानगरमा गत आर्थिक वर्षमा राजश्व संकलनमा भारी गिरावट आएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्