आयोगका मान्छे अयोग्य भए, काम भएन : भीम रावल

bhim rawal
लाेकपाटी न्यूज

काठमाडौं, ५ मङ्सिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं पूर्व उपप्रधानमन्त्री भीम रावलले सत्यनिरुपण तथा व्यक्ति बेपत्ता छानबिन आयोगबाट काम सम्पन्न नभएको देख्दा आफूलाई आश्चर्य र दुःख लागेको गुनासो पोखेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने काम अहिलेसम्म किन भएन ? मलाई आश्चर्य लागेको छ । आयोगले आफ्नो छानबिनको काम पूरा गर्नेछ, द्वन्द्वबाट पीडितहरुले संक्रमणकालिन न्याय पाउनेछन्, र त्यसपछि कसैले पनि द्वन्द्वकालमा हामीले भोग्नुपरेको यो पीडा त्यसले निकास पाएका छैनन् भन्ने गुनासो गर्न नपाउन् भन्ने उद्देश्यबाट संविधान निर्माणको बखतमा हामीले यो आयोगको परिकल्पना गरेका थियौं । तर, आयोगले समयमै गर्नुपर्ने काम सम्पन्न नगरेकोमा म दुःखी छु ।’

उनले भने, ‘आयोगलाई दिइएको काम अहिलेसम्म पूरा गरेन । किन काम गर्न सकेन ? मलाई आश्चर्य र दुःख लागेको छ । यदि आयोगहरुलाई कुनै कानुनी तथा व्यवहारिक समस्या छ भने त्यो सरकारलाई भन्नुपर्यो । होइन भने काम किन अघि बढेन ? यदि समस्या छ भने के समस्या हो, त्यसतर्फ सरकारले पनि ध्यान देओस् ।’

मुलुकमा अहिले आफ्नै पार्टीको झण्डै दुई तिहाई बहुमतको सरकार रहेको र प्रदेशमा पनि ६ वटै प्रदेशमा नेकपाको बहुमतको सरकार रहेको सुनाउँदै उनले भने, ‘अब कुनैपनि प्रकारको द्वन्द्व छैन । र, कसैले कानुन उल्लंघन गरे, संविधान उल्लंघन गरे भने यो त कानुनी शासन हो नि। कानुनबमोजिम सम्बन्धित समूह व्यक्ति जानुपर्छ। त्यो दिशातर्फ सरकार जानुपर्छ भन्ने मेरो आग्रह छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजोमात्रै नीति प्रतिष्ठानका पदाधिकारी र सदस्यहरुलाई निर्देशन दिने सन्दर्भमा सरकारका कामकारबाहीहरु अपेक्षित मात्रामा किन भएन ? नीतिमा कहाँनिर कमजोरी भएको छ भनेर भनेको कुरा उल्लेख गर्दै रावलले भने, ‘मेरो पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री स्वयंले भनिसकेपछि म पनि सार्वजनिक रुपमा के भन्न चाहन्छु भने अब हामीले स्थायी कमिटिको बैठक बसेर गम्भिर रुपमा नीतिमा कहाँ त्रुटि भयो ? हाम्रा मन्त्रालयहरुमा हामीले गर्ने नियुक्तीहरु, हामीले गर्ने त्यहाँ जनशक्तिको विन्यासमा कहाँनिर कमजोरी भयो ? त्यसमा समिक्षा गर्नुपर्छ । नेपाली जनताले किन टिप्पणी गरिरहेका छन् ? ती टिप्पणीहरु हामीले सुन्नुपर्छ । र, आत्मसात गर्नुपर्छ । कमिकमजोरी हटाएर अब हामीले गति प्राप्त गर्नुपर्छ भन्ने जुन प्रधानमन्त्रीको भनाइ आएको छ । म त्यसमा समर्थन र स्वागत गर्न चाहन्छु ।’

भोलि पार्टीको सचिवालय बैठक बस्ने जनाउँदै उक्त बैठकमा प्रदेश कमिटिलाई पूर्णता दिने काम हुने विश्वास दिलाए । उनले भने, ‘केन्द्रीय कमिटीका सदस्यहरुको कार्यविभाजन र पोलिटव्युरो गठनका लागि पनि गृहकार्य सुरु भइसकेको छ । यो काम अब छिटोभन्दा छिटो पूरा हुने प्रक्रियामा छ। यो प्रक्रिया पूरा गर्नको लागि कदापि ढिलो गर्नु हुँदैन ।’