‘यो कुरा अबचाहिँ सैह्य हुन्नँ’ : प्रधानमन्त्री ओली

kp oli review-meeting1
लाेकपाटी न्यूज

काठमाडौं, ५ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनअपेक्षाअनुसार काम गर्नुपर्ने बताएका छन् । आर्थिक वर्ष २०७५/०७६ को स्वीकृत कार्यक्रम एवं वजेटको कार्यन्वयन सम्बन्धि प्रथम चौमासिक समीक्षा बैठकलाई सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

‘देशको परिस्थिति, जनअपेक्षा र हाम्रो अभिभारा बुझ्नु पर्दछ । ती अपेक्षा पूरा गर्न कोही सेवाको रुपमा कार्यरत छौं । कोही जनताले चुनावमार्फत पठाएर आएका छौं,’ प्रधानमन्त्रीले भने, ‘यस अभिभारा र अपेक्षालाई पूरा गर्न कोही कसैले पनि विलम्ब गर्न हुँदैन ।’

देश विकास र जनताको कामगर्न कसैले पनि ‘तर, पनि, यदी’ जस्ता शव्द प्रयोग गरेर उम्कन नपाउने बटमलाइन पनि प्रधानमन्त्री ओलीले सुनाए । ‘सबैले परिणाम दिने गरी र परिवर्तन देखिने गरी काम गर्नुहोस्” मन्त्री र सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले भने, ‘अब काममा सम्झौता हुन्न, आफ्ना कमजोरीलाई तर्कले टाल्न नखोज्नुस् ।’

सरकार गठनको नौ महिनासम्म पनि पूरानै ढाँचा, पुरानै बानी नहटेकोमा ओलीले आक्रोशित देखिए । उनले भने, ‘सरकार गठनको नौ महिनासम्म पनि पूरानै ढाँचा, पूरानै बानी, पूरानै शैली, ढिलासुस्ती छ, यो कुरा अब चाहिँ सैह्य हुन्नँ,’ प्रधानमन्त्री ओलीले भने ।

‘एउटा टेवलबाट अर्को टेवलमा फाइल सर्न कैयौं दिन लाग्ने, सिंहदरवारको एउटा कार्यालयबाट अर्को कार्यालयमा पत्र पुग्न महिनौं लाग्ने, यो पाराले समृद्धि हासिल हुन्छ ? जनताको अपेक्षा पूरा गर्न सकिन्छ ? यस्तो पाराले कसरी अघि बढ्न सकिन्छ ?’ प्रधानमन्त्रीले भने, ‘मन्त्रिपरिषदबाट ढिलासुस्ती भएको छ भने भन्नुस्, मन्त्री, सचिवको ढिलासुस्ती छ भने भन्नुस् । ऐन कानूनले ढिलासुस्ती छ भने त्यो पनि भन्नुस् । त्यस्ता ढिलासुस्तीका कारणलाई निरुपण गर्नेतर्फ मेरो ध्यान जान्छ । अब कहीँ पनि ढिलासुस्ती स्वीकार्य छैन ।’

केही तत्वहरु लोकतन्त्रको जरा काट्न उद्धत रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘उनीहरु लोकतन्त्रका आधारहरुमाथि असभ्य ढंगले प्रस्तुत भएका छन्, हामीले लोकतन्त्रको अनुभूति तल्लो स्तरका जनतालाई गराउने गरी काम गर्नु पर्दछ,’ प्रधानमन्त्री ओलीले भने ‘जनतामा आशावादिता जगाउने गरी काम गर्नु पर्दछ । जनता निरश भए भने देशका लागि घातक हुन्छ ।’