खानेपानी विभागको महानिर्देशकमा दास

sunil das
लाेकपाटी न्यूज

काठमाडौं । खानेपानी मन्त्रालयले खानेपानी तथा ढल निकास विभागको नयाँ महानिर्देशकमा सुनीलकुमार दासलाई नियुक्त गरेको छ । विभागको उपमहानिर्देशकमा कार्यरत दासले बुधबार पद बहाली ग्रहण गरेका छन् ।

पद बहाली ग्रहण गर्दै महानिर्देशक दासले खानेपानीको क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताए । केही साना तथा ठूला आयोजनाहरुलाई अघि बढाउने कार्यमा विभाग द्रुत गतिमा अघि बढ्ने उनले बताए ।

दास २०७१ फागुनदेखि विभागको उपमहानिर्देशक पदमा कार्यरत रहेका थिए । २०४७ सालदेखि जिल्ला खानेपानी कार्यालय सिरहाबाट जागिर सुरु गरेका दाससँग १४ वर्षसम्म विभिन्न जिल्लामा रहेका खानेपानी कार्यालयमा इन्जिनियरको रुपमा कार्य गरेको अनुभव छ । ८ वर्ष जति उहाँले स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागमा सिनियर डिभिजनल इन्जिनियरको रुपमा कार्य गरे ।

त्यस्तै २०७० सालमा उनले खानेपानी मन्त्रालय अन्तर्गत सह लगानी खानेपानी आयोजना र मेलम्ची आयोजनामा समेत काम गरे । अधिकार सम्पन्न बाग्मती क्षेत्र ढल निर्माण सुधार आयोजना र चौथो ग्रामीण खानेपानी तथा सरसफाई आयोजनामा समेत उनले तीन वर्ष काम गरे ।

त्यसैगरी उनीसँग ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामा आयोजना निर्देशकका रुपमा तीन वर्ष काम गरेको अनुभव समेत रहेको छ ।