‘शिक्षाको व्यापार रोक्नुपर्छ’ : अध्यक्ष प्रचण्ड

sajhapur-prachanda5
लाेकपाटी न्यूज

चितवन, ५ मङ्सिर । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षा क्षेत्रमा व्यापारीकरण हुने खतरा बढेको बताएका छन् ।

भरतपुर महानगरपालिका २५ शुक्रनगरस्थित राष्ट्रिय मावि शोशीको स्वर्ण जयन्ती समापन समारोहमा बोल्दै प्रचण्डले शिक्षा क्षेत्रमा देखिको व्यवसायीकरण, व्यपारीकरण र नीजिकरणले सामुदायिक विद्यालय बन्द हुने अवस्थामा पुगेको बताए ।

‘सामुदायिक विद्यालयहरु बिस्तारै सुक्दै जाने अवस्था आएको छ’ उनले भने, ‘एक अर्कालाई मर्ज गर्नुपर्ने, विस्तारै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ । नीजिकरणलाई बिस्तारै नियमन गर्दै सामुदायिक विद्यालयतर्फ आकर्षण बढाउन व्यवसायिक र प्राविधिक शिक्षालाई जोड दिदै जानुपर्छ ।’

सामुदायिक विद्यालयहरूले शैक्षिक गुणस्तरमा सुधारका साथै भौतिक पूर्वाधारमा समेत ध्यान पुर्याउनुपर्ने भन्दै प्रचण्डले विद्यालयमा आवश्यक शिक्षक दरबन्दीबारे पहल गर्ने र भौतिक निर्माणका लागि तत्कालका लागि संसद विकास कोषबाट तत्कालका लागि १० लाख रुपैयाँ उपलब्ध गराउने बताए ।

त्यसैगरी साझापुर माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई बुधबार चितवनको साझापुरमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले शैक्षिक गुणस्तरलाई राज्यले केन्द्रबिन्दुमा राख्नुपर्ने बताएका छन् ।

‘जनताको अपेक्षा र हाम्रो चाहना देशको विकास र समृद्धि हो’ पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘यसको लागि शिक्षामा गुणस्तर वृद्धि गर्न आवश्यक छ ।’ शिक्षामा लगानी बढाएर शिक्षाको गुणस्तर वृद्धि गर्ने काममा सरकारको साथ रहने अध्यक्ष प्रचण्डको भनाइ थियो ।

उनले पश्चिम चितवनको शैक्षिक विकासमा साझापुर माविले पु-याएको महत्वपूर्ण भूमिकाको प्रशंसा गरे । उनले सांसद विकास कोषबाट २० लाख रुपैयाँ दिने पनि बताए । सामुदायिक विद्यालयहरुको गुणस्तर वृद्धिका लागि लाग्न उनले सरोकारवालालाई आग्रह समेत गरे ।