‘ए’ डिभिजन लिग : च्यासलको पहिलो जीत, बिमलको २ गोल

Chyasal club
लाेकपाटी न्यूज

काठमाडौं, ६ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबले पहिलो जीत दर्ता गराएको छ । बिहीबार ललितपुरको एन्फा कम्प्लेक्समा भएको खेलमा च्यासलले न्युरोड टिम एनआरटीलाई ५-१ गोल अन्तरले हराएको हो ।

च्यासललाई विजयी गराउन अमिर श्रेष्ठ र बिमल घर्तीमगरले समान दुई/दुई गोल गरे भने सन्तोष साहुखलले एक गोल गरे ।

च्यासलका लागि खेलको १४ मिनेटमा आमिरले गोल गर्दै सुरुवाती अग्रता दिलाए । त्यस्तै खेलको २९ औं मिनेटमा अमिरले नै गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।

च्यासलले दोस्रो हाफमा खेलमा थप सुधार गरेको थियो । खेलको ५६ औं मिनेटमा च्यासलका लागि बिमलले तेस्रो गोल गरे । उनको यो लिगमा पहिलो गोल थियो । त्यस्तै सन्तोष साहुखलले खेलको ६३ औं मिनेटमा गोल गर्दै टिमलाई ४-० को अग्रता दिलाए । खेलको अन्त्यतिर बिमलले दोस्रो गोल गर्दै टिमलाई ५–० को बलियो स्थितीमा पुर्याएका थिए ।

खेलको अन्तिम समयमा विदेशी खेलाडी मोसुद अब्बोलाले एनआरटीका लागि सान्त्वना गोल गरेका थिए ।

जीतसँगै च्यासलले तीन अंक थपेको छ ।