‘गगनजी, मेरो होइन, सरकारको विरोध गर्नुस्’ : देउवा

Sher Bahadur Deuwa
लाेकपाटी न्यूज

बुटवल, ६ मङ्सिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली सरकार अधिनायकवादतर्फ अगाडि बढेको दाबी गर्दै पार्टीले संसद र बाहिर दुबै तर्फबाट सरकारको सशक्त विरोध गर्नुपर्ने बताएका छन् ।

काँग्रेसले मंसिर अन्तिम साता काठमाडौँमा हुने महासमिति बैठकमा प्रस्तुत गर्ने राजनैतिक प्रस्ताव तयार गर्न सुरु गरेको प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रमलाई बिहीबार भैरहवामा सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।

उनले पार्टीका कार्यकर्ताले आफ्नो विरोध गरेको तर ओली सरकारले गरेका गलत कार्यविरुद्ध कुनै आवाज नउठाएको पनि गुनासो गरे । उनले भने ‘तपाईंहरु खाली मेरो विरोध गर्दै हिँड्नु हुन्छ, खै ओली सरकारको विरोध गरेको ? किन बोल्नुहुन्नँ ?’
कांग्रेस नेता गगन थापाप्रति लक्षित गर्दै देउवाले भने, ‘कांग्रेसको विरोध गरेर किन बस्नुहुन्छ ? सरकारका कामको विरोध गर्नुस् । तपाईहरु खाली कांग्रेस नेतृत्वको विरोध गर्ने ?’

नेकपाकै नेता माधव नेपालले समेत पार्टी र सरकारको विरोध गरेको तर काँग्रेसका कार्यकर्ताहरुले भने सरकारको विरोध गर्न नसकेको उनको भनाइ थियो । काँग्रेसका नेता तथा कार्यकर्ताले आफैँभित्र अन्तरर्घात मात्रै गर्ने गरेकोे उनले बताए ।