ट्राभल प्रिन्सेस डा. अमोर भन्छिन् : पोखरा त स्वर्गकै टुक्रा रहेछ

Maria Amor
लाेकपाटी न्यूज

चिप्लेढुङ्गा, ६ मंसिर । सामाजिक क्षेत्रमा अग्रसर रहेर विभिन्न उपाधिबाट विभूषित ‘फिलिपिनो राजकुमारी’ डा. मारिया अमोरले पोखराको सुन्दरताको खुलेर प्रशंसा गरेकी छन् ।

पहिलो पल्ट पोखरा आएकी उनले हिमालका दृश्य र तालले आफूलाई निकै लोभ्याएको बताइन् । उनी थाइल्याण्डका शान्तिदूत अपिनिता चाइचानसँग नेपाल आएकी हुन् । चाइचान पश्चिम मकवानपुरको मनहरी गाउँपालिका– ८ सिमपानीमा बन्दै गरेको आमाघर (मदर प्रोजेक्ट) का कार्यकारी अधिकृत हुन् ।

सोही अवसरमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय पोखराको विशेष निमन्त्रणमा पोखरा आएकी डा. अमोरले विश्वका विभिन्न देश घुमेको अनुभव सुनाउँदै पोखराको सौन्दर्यको वर्णन गरिन् । ‘एशियाको स्वीट्जरल्याण्ड भनेर चिनिने पोखरा अवर्णित शहर रहेछ । यहाँको वातावरण नै रमणीय लाग्यो । प्राकृतिक दृश्य पनि उस्तै लोभलाग्दो, मान्छे झनै सुन्दर,’ उनले पोखरा आउनुअघि नै पोखराको सुन्दरताको निकै चर्चा सुनेको र यो ठाउँमा आउन तीव्र इच्छा रहेको बताइन् ।

उनले अल्ट्रालाइटबाट माउण्टेनको दृश्य अवलोकन गर्ने रहर छ भन्दै मौसम कति बेला खुल्छ भनेर कुरिरहेको बताइन् । पोखराको केआइ सिंह पुल पुगेर हिमालबाट बगेको पानीलाई शरीरमा छर्कँदै नजिकै रहेको शिव मन्दिरमा पूजारीको हातबाट उनले टीकासमेत लगाइन् । नीसँगै रहेका सामाजिक अभियानकर्मी चाइचानाले पनि पोखराका दृश्य लोभलाग्दो भएको प्रतिक्रिया दिए ।

उनीहरुले पोखराको आसपास र फेवातालमा डुङ्गा चढेर बाराहीको दर्शन गरे । हरेक धर्मले एकार्काबीच सम्बन्ध स्थापना गरेर मानवीय सेवामा लाग्न प्रेरणा दिन्छ भन्दै धर्मका नाममा मानव मानवबीच भइरहेका द्वन्द्व धर्मविरोधी भएको प्रतिक्रिया दिए ।

ट्राभल प्रिन्सेसको नामले समेत प्रसिद्धि पाएकी डा. मारियाले शिक्षा स्वास्थ्यबाट वञ्चित र सीमान्तकृत वर्गका क्षेत्रमा विश्वव्यापी रुपमा भ्रमण गरेर विशेष योगदान पुर्‍याउँदै अाएकी छन् । त्यसैगरी चाइचान पनि नमोबुद्ध क्लबका अध्यक्ष हुन् । सामाजिक क्षेत्रमा विशेष योगदान पुर्‍याउँदै आएका छन् ।