कमरेड प्रचण्डलाई धेरैले लुछिरहेको देख्छु : राम कार्की

ram-karki
आफ्नै क्षमता र पौरखले चम्केको प्रचण्डका वरिपरि प्रकाश नभएका धेरै ग्रह र उपग्रहहरू घुमिरहेका छन् । उनैबाट उज्यालो लिएर चम्किने यी ग्रहहरूले प्रचण्डमा शक्ति रहुञ्जेल त्यसको दोहन गर्नेछन् र भविष्यमा शक्तिपुञ्ज रित्तिएको प्रचण्डको निन्दा र आलोचना गरेर गुजारा चलाउने छन् ।
लाेकपाटी न्यूज
  • सुरेन्द्र कुमार कार्की ‘पार्थ’, नेता, नेपाल कम्युनिष्ट पार्टी

सोचौं बाल्यकाल बालबालिकाले जस्तै सामान्य रूपमा बिताउन नपाउनु कति कष्टदायक हुन्छ होला ? सामाजिक विभाजन र तहबाट बेखबर रहेर सबैभन्दा धेरै साथी बन्ने बनाउने उमेरमा आमा बुबाको कडा आदेश छ, ‘धेरै साथी नबनाउनु, घरमा कसैलाई पनि नल्याउनु, भरसक हामी बस्ने ठाउँ देखाउँदै न देखाउनु।’ उमेरको विशेषता र यस्तो साथी नबनाउने उर्दबीच पनि केही साथी बन्छन्, कति त साँच्चै मिल्ने साथी। एकदिन अचानक अभिभावकले सुनाउँछन्, ‘भोलि हामी यो ठाउँ छाडेर जाँदैछाैं कसैलाई नभन्नु ।’ भोलिदेखि यो साथीसँग भेट हुने छैन । अब जीवनमा कहिल्यै भेट होला नहोला थाहा छैन।

तर, बाबा–आमाको सुरक्षाका खातिर अत्यन्तै मिल्ने साथीलाई एकपटक बिदाइको हात पनि नहल्लाई छुट्टिनुपर्ने यो कस्तो पीडा हो ? यस्तै असामान्य परिस्थिति बेहोर्दै पुराना पिँढीका हामी पूर्व माओवादीहरूका सन्तानहरूको बाल्यकाल बित्यो । प्रकाश दाहाल यिनै हाम्रा सन्तानमध्येका एक हुन् । जसको बाल्य र नव यौवन असामान्य अवस्थाहरू बीच बित्यो ।

२०७४ मंसीरको संसदीय निर्वाचनको प्रचार अभियान उत्कर्षमा थियो । मंसीर ३ गते दुई पार्टीका शीर्षस्थ नेताहरू क. प्रचण्ड र क. के.पी. शर्मा ओलीले मेरो उम्मेद्वारी रहेको झापाको काँकरभिट्टामा प्रचार सभालाई सम्बोधन गर्ने कार्यक्रम थियो । बिहान सखारै क. प्रचण्डको फोन आयो । काँप्दो आवाजमा उहाँले प्रकाशको मृत्यु भएको दुःखद समाचार सुनाउनु भयो । एउटा पेशेवर राजनीतिज्ञका हैसियतले उहाँले मलाई आफू संलग्न हुन नसक्ने काँकरभिट्टा र मोरङका सभाहरूलाई पार्टीको तर्फबाट सम्बोधन गर्न निर्देश गर्नुभयो । एक मन त लाग्यो, ‘तुरून्तै बिर्तामोडमा गएर आफ्नो शोक सन्तप्त नेतालाई भेटौँ ।’ तर, म जान सकिनँ । भएको एकमात्र युवा छोरा बितेर विह्वल बनेको त्यो अभागी पितालाई भेट्ने साहस जुटाउन म असमर्थ रहेँ ।

शक्तिशाली राजनीतिज्ञ प्रचण्डको जीवन व्यवहारका कतिपय पहलुहरूले मलाई क्षुब्ध बनाउने गरेको छ । तर, आक्रोशसँगै मलाई यो पनि लाग्न थाल्दछ कि आफ्नै क्षमता र पौरखले चम्केको प्रचण्डका वरिपरि प्रकाश नभएका धेरै ग्रह र उपग्रहहरू घुमिरहेका छन् । उनैबाट उज्यालो लिएर चम्किने यी ग्रहहरूले प्रचण्डमा शक्ति रहुञ्जेल त्यसको दोहन गर्नेछन् र भविष्यमा शक्तिपुञ्ज रित्तिएको प्रचण्डको निन्दा र आलोचना गरेर गुजारा चलाउने छन् । क. मोहन विक्रमको पार्टीमा पाइन रहँदासम्म मोहनजीको पक्षपोषणकै निम्ति आफ्नो जन्म भएको जस्तो दावा गर्नेहरूले कालान्तरमा मोहन विक्रमविरूद्ध अनर्गल निन्दा गरेको घटनाको साक्षी बनेकाले पनि होला बेलाबखत म क. प्रचण्डलाई धेरैले लुछिरहेजस्तो देख्तछु । त्यसैले होला प्रकाशको मृत्युको तेजावी खबर सुनेपछि मैँले क. प्रचण्डलाई एउटा दुखी पिताका रूपमा मात्र सम्झिरहेँ ।

जस्तो असामान्य हालतमा प्रकाशको बाल र युवा उमेर बित्यो, मृत्यु पनि करीब त्यस्तै असामान्य रह्यो । राजनीति हाम्रा सन्तानका निम्ति रोजेको बाटो थिएन । प्रकाश र उसका अन्य दमालीहरूले जन्मजात रूपमै धेरै स्वतन्त्रताहरू गुमाए । यो पक्षप्रति हामीमध्ये धेरैको ध्यान जाँदैन । क. प्रचण्डसँगको हाम्रो उतारचढावमा रहने सम्बन्ध नै प्रकाशहरूलाई हेर्ने, बुझ्ने विषयमा समेत हावी भइदिन्छ । २०६३ पछि हामीले हाम्रा सन्तानहरूको इच्छा, रोजाई, जीवनचर्या र अभिरूचिहरूलाई स्वतन्त्र रूपमा उद््घाटित हुने अवसर प्रदान गरेनौँ । साँचो कुरा यो विषयमा हामी कहिले गम्भिर नै बनेनौं । हामीमध्ये धेरैले त हाम्रा सन्तानलाई सत्तासुखमा यसरी चोबलिदियौं की उनीहरूले हाम्रो वैचारिक र चारित्रिक स्खलनलाई बुझ्नै नसकुन् । अहिले पनि देख्छु हाम्रा कैँयौँ छोराछोरीहरू आफ्नौ पौरख र अभिरूचिहरूलाई पूर्णत उपेक्षा गरेर सत्ताको चासनीमा लठ्ठिएका छन् । यसको निम्ति हामी दोषी छाँै, हाम्रा सन्तानहरू होइनन् ।

कुम्भेश्वरको अभावग्रस्त बसाइमा हाम्रो वरिपरि लुटीपुटी गरिरहने प्रकाशलाई समेत उपयोग गरेर आफ्नो दुनो सोझ्याउनुपर्छ भन्ने अपराधी मनसायबाट मुक्त रहेकाले प्रकाश र मेरो बीचको सम्बन्ध सदैव एउटा मर्यादा स्तरमा कायम रह्यो । आफूभन्दा कम उमेरकाहरूसँग झुमिरहने मेरो स्वभाव र प्रकाशको चरित्रमा रहेको निष्कपटपना हाम्रो सम्बन्धको सेतु बनिरह्यो ।

आफ्ना दौँतरीहरूमध्ये प्रकाश सोझो र सरल स्वभावका थिए । त्यसैले त हो, सत्ताको शिखरमा रहँदा पनि ग्रामीण परिवेशबाट आएका जनसेनाका तन्नेरीहरूसँग साँच्चिकै साथीको भूमिका निर्वाह गर्दथे उनले । दाम्पत्य जीवनमा एकनिष्ठ रहन नसकेको पक्षको भने गम्भीरतापूर्वक अध्ययन गरिनुपर्दछ । उनका बाबु पिँढीका हामीहरूले भारतीय जोगीहरूले नाभी ध्यान गरेजस्तो सम्पूर्ण कम्युनिष्ट चरित्रलाई खुम्च्याएर यौन र यौन प्रेममा सीमित गरेको अतिवादको त त्यसमा कतै भूमिका छैन ?

आफ्नो बोली र व्यवहारले कसैलाई नबिझाइहाल्ने, गल्ती औँलाइदिँदा खुरूक्क स्वीकार गर्ने, जनसाधारणको बीचमा बस्न र रमाउन सक्ने विशेषताहरूका कारण पछिल्लो अवधिमा प्रकाशले धेरै साथीहरू बनाउन सके । प्रकाशलाई क. प्रचण्ड र क. सीताको छोराको रूपमा बुझ्नसँगै वर्ग सङ्घर्षको तीव्र वेगमा आफ्नो बाल्य र युवा अवस्था हेलिएको असमयमै हामीले गुमाएको एउटा उदीयमान युवा बुझ्दा न्याय हुने छ ।