‘देउवाका कारण कांग्रेसको दुर्दशा भयो’ : सुजाता कोइराला

suajta koirala
लाेकपाटी न्यूज

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सभापति शेरबहादुर देउवा नसच्चिए कांग्रेस समाप्त हुने बताएकी छिन् । बिहीबार रिपोर्टर्स् क्लबमा बोल्दै कोइरालाले सो कुरा बताएकी हुन् ।

कोइरालाले भनिन्, ‘शेरबहादुर देउवाजीले आफ्नो कार्यशैली बदल्न सक्नुहुन्छ भने बललिँदै राम्रो हुन्छ । नत्र त्यसले पार्टीलाई क्षति पुर्याइरहेको छ । यो कुरा सत्य नै हो । पार्टीमा गुटबन्दी बढ्दै गइराखेको छ । हामीले कसलाई दोष दिने ? पार्टीलाई एकतावद्ध गर्ने जिम्मेवारी देउवाजीले लिनुपर्छ, नत्र कांग्रेस समाप्त हुन्छ ।’

नेतृ कोइरालाले अब ढिला नगरिकन पार्टीको संगठनलाई बलियो बनाउने काममा आफूहरु लाग्ने बताइन् । उनले भनिन्, ‘अब पार्टीको संगठन बिस्तार गर्नुपर्छ । यो कामलाई गाउँ÷गाउँमा लगेर तल्लो तहमा पुर्याउनुपर्छ । हामी तीन जना कोइरालाहरु सशांक, शेखर दा र म एक छौं । अहिले पार्टीभित्र व्यापक गुटबन्दी छ, यसलाई अन्त्य गर्नुपर्छ भन्ने हाम्रो माग छ । हाम्रो चिन्ता अब पार्टीलाई एक बनाउने भन्ने नै हो ।’

आफूहरुको चिन्ता भनेको नै संगठनलाई बलियो बनाउने भएकोले को सभापति बन्छ ? या बन्दैन भन्ने कुरा त्यो पछिको कुरा भएको उनको स्पष्टोक्ति छ । उनले भनिन्,‘समय आएपछि सबैजना बसिकन सल्लाह गरेरमात्रै को सभापति बन्छ ? त्यो कुरा हुन्छ । तुर, अहिले भने हामीहरु तीन जना एकजुट भइकन अगाडि बढेका छौं । र, हामीहरु तीन जनाले अब जिल्ला÷जिल्ला घुम्नुपर्ने पनि आवश्यकता मैले देखें । मोरङमा पनि उत्साह देखियो । जिपी कोइराला फाउण्डेशनको कार्यक्रममा पूर्वाञ्चलका सबै साथीहरु आउनुभयो । ठूलो उर्जा देखियो, अब यसलाई ढिला नगरी बिस्तार गर्छौं ।’

कांग्रेस बलियो हुँदा देशमा विद्यमान सबै समस्या समाधान भएको उनको दावी थियो । उनले भनिन्, ‘कांग्रेस बलियो हुँदा देशको सबै समस्या सम्बोधन गरेको छ । शान्ति प्रक्रियादेखि लिएर हरेक कुराको समाधान पनि कांग्रेसले नै गरेको हो । मुलुकमा जति पनि अस्थिरता हुन्छ, त्यसको समाधान पनि कांग्रेसले नै दिएको छ ।’

आउने महाधिवेशनमा देउवाविरुद्ध सभापतिमा उम्मेद्धवारी दिन पार्टीभित्र मोर्चाबन्दी बन्छ त ? भनेर सोधेको अर्को प्रश्नमा उनले भनिन्, ‘सभापति बन्नको लागि अब सबै जनाको तयारी त भइरहेको छ नि । अरु पनि छन् । देउवा मात्रै हुनुहुन्न यो पार्टीमा, धेरैजना हुनुहुन्छ । धेरै जनाको ईच्छा छ सभापति बन्ने । त्यही बेलामा हामी छलफल गर्छौं । को उपयुक्त हुन्छ र को सबैभन्दा बलियो हुन्छ ? उही सभापति बन्छ । अहिले देउवाजीलाई हराउने वा पछार्ने कुरा नगरौं । त्यो त्यही बेलाको कुरा हो । अहिले पार्टी बनाउने कुरा गरौं ।’

सभापति देउवाकै कारण पार्टी कमजोर बनेको उनको आरोप छ । उनले भनिन्, ‘उहाँले गरेका केही गल्ती र क्रियाकलापहरुले त कांग्रेस धेरै कमजोर भएको छ । चुनाबभन्दा अघि पनि उहाँले लिएका निर्णयहरु सही थिएनन् । त्यसले चुनावमा नकरात्मक प्रभाव पार्यो । र, हामी चुनाव हार्यौं पनि । कांग्रेसले बाटो बिराउँदै गरेकोले यो पार्टीको यो दुर्दशा हामीले भोग्नु परिरहेको छ ।’