युवाहरुको एकताले नै समृद्ध नेपाल बन्छ : मन्त्री बिना मगर

bina magar
लाेकपाटी न्यूज

दोलखा, ७ मंसिर। खानेपानी मन्त्री बिना मगरले समृद्ध नेपाल निर्माणका लागि राष्ट्रिय संकल्प र एकरुपता अनिवार्य आवश्यकता भएको बताएकी छन् ।

रिनेजम नेपालले दोलखाको चरिकोटमा आयोजना गरेको ‘प्रथम प्रकाश स्मृति कप फुटबल प्रतियोगिता’ कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री मगरले समृद्ध नेपाल निर्माणमा युवाहरूको जस्तै दृढ संकल्प आत्मविश्वास र एकरुपकता सबैमा हुनुपर्ने बताएकी हुन्।

कार्यक्रममा उनले सबै मिलेर मात्रै समृद्ध नेपालको सपना पूरा हुने बताइन्। दोलखाको पर्यटकीय सम्भावनालाई प्रबर्द्धन गर्न आफ्नो पूर्ण प्रतिबद्धता रहेको जनाउँदै मन्त्री मगरले हिमालको काखमा रहेको चरिकोट स्थित फुटबल मैदानको बिकास गर्न आफू लागि पर्ने धारणा राखिन् ।

त्यस्तै, खानेपानीको सम्बन्धमा उनले दोलखामा पर्ने तामाकोसीको पानी बैतेश्वर गाउँपालिकामा आपूर्ति गर्ने ब्यवस्था मिलाउन डिपिआरका लागि बजेट छुट्टाउने बताइन् । मन्त्री मगरले दोलखामा खानेपानीको समस्या समाधान गर्न केही योजना ल्याउने प्रतिबद्धतासमेत व्यक्त गरिन् ।

मंसिर १ गतेबाट सुरु भएको फुटबल प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ। फाइनल प्रतियोगितामा प्लान्निङ ब्वाइज युनियन पेप्सिकोला, काठमाडौंले दोलखा क्लबलाई हराएर जित हासिल गरेको छ । युनियनले २ गोल गरेको थियो भने दोलखाले १ गोल गर्न मात्र सफल रह्यो ।

bina mafar-1