‘लगानीका लागि नेपाल ‘भर्जिन ल्याण्ड’ : राजेशकाजी श्रेष्ठ

chembar of commerce
लाेकपाटी न्यूज

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले शुक्रबार राजधानीमा ‘ब्यापार, पर्यटन तथा लगानीको सन्दर्भमा नेपाल–बङ्गलादेश आर्थिक सम्बन्ध’ विषयक कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल सरकारका राजस्व सचिव शिशिर ढुङ्गानाले सो कार्यक्रममा नेपालको बङ्गलादेशसँगको ब्यापार घाटालाई कम गर्नलाई सरकार गम्भिरतापूर्वक लागि परेको कुरा बताए ।

उनले बङ्गलादेशसँगको सम्बन्ध प्रतिस्पर्धामा नभएर साझेदारीमा अघि बढ्ने र बङ्गलादेशले छोटो समयमा गरेको आर्थिक प्रगतिबाट नेपालले सिक्ने ठाउँ रहेको कुरा पनि बताए । बङ्गलादेशबाट नेपालमा लगानी र पर्यटन भित्र्याउन गृहकार्य गर्नुपर्ने कुरा बताए । नेपालको बङ्गलादेशसँगको ब्यापार घाटालाई कम गर्न बङ्गलादेशसँग उर्जा ब्यापार सम्झौता गरिएको र यसको कार्यान्वयनको चरण शुरु भएपछि ब्यापार घाटा सन्तुलनमा आउने कुरा उल्लेख गरे ।

नेपालका लागि बङ्गलादेशका राजदूत माश्फी बिन्टे शाम्सले विश्वको ट्रेन्ड हेर्ने हो भने ब्यापार सम्बन्धि ग्यानको कमी हुँदा ब्यापार घाटा उच्च हुने कुरा उल्लेख गर्दै नेपालले यस सम्बन्धि ध्यान दिनुपर्ने बताए । ब्यापार, लगानी र पर्यटनको विकासको लागि संस्थागत व्यवस्थापन महत्वपूर्ण हुने कुरामा उनले जोड दिए ।

बङ्गलादेशले छोटो समयमा हासिल गरेको विकाशशील राष्ट्र तर्फको यात्राबाट नेपालले पनि केही सिक्नुपर्नेमा उनको जोड थियो । नेपाल र बङ्गलादेशले धेरै वटा क्षेत्रीय र अन्तराष्ट्रिय मञ्च शेयर गर्दै आएको र एक–अर्काको विकासका मुद्दा मिल्दाजुल्दा भएकाले ती मञ्चलाई दुईपक्षीय हितका लागि प्रयोग गर्न सकिने उनले बताए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले लगानी गर्नलाई नेपाल ‘भर्जिन ल्याण्ड’ भएको र सबैभन्दा उपयुक्त वातावरण समेत भएकाले बङ्गलादेशबाट नेपालमा हुने लगानी वृद्धि गर्नलाई सहयोग गर्न उनले अनुरोध गरे ।

नेपाल र बङ्गलादेशबीच हालै सम्पन्न उर्जा सहकार्य सम्बन्धि सम्झौता पत्रको प्रसङ्ग कोट्याउदै यदि यो सम्झौता कार्यान्वयन हुन सके नेपालको ब्यापार घाटा कम गर्न सहयोगी हुने उनले बताए ।

नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउन गइरहेकाले बङ्गलादेशबाट नेपालमा पर्यटक भित्र्याउन सहयोग गर्नसमेत श्रेष्ठले अनुरोध गरे ।

कार्यक्रममा ब्यापार, लगानी र पर्यटनको विषयमा राजेन्द्र सिंह, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष नरेश श्रेष्ठ र होटेल सोल्टीका महाप्रबन्धक उपौल मजुमदारले कार्यपत्र प्रस्तुत गरेका थिए ।